NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

पालिका प्रमुखमा जो दोहोरिए

काठमाडौं । ०७४ मा निर्वाचित भई पाँच वर्ष स्थानीय सरकार हाँकेका ६९ पालिकाका प्रमुख यसपटक पुनः दोहोरिएका छन् । यसरी दोहोरिनेमा उपमहानगरपालिकाका मेयरदेखि गाउँपालिकाका अध्यक्षसम्म छन् । शनिबार मध्यरातिसम्म ६ सय ९७ पालिकाको नतिजा आइसकेको छ ।

अघिल्लो कार्यकालमा कम विवादमा परेका र स्थानीय सरकारमा राम्रै भूमिका निर्वाह गरेका आधारमा पुनः उम्मेदवार बन्ने मौका पाएकामध्ये अधिकांश यसपटक पनि निर्वाचित भएका हुन् । तर, दोहोरिएर उम्मेदवार बनेका धेरै पराजित पनि भएका छन् ।

घरदैलोनजिकको सरकारमा पुरानै अनुहार दोहोर्‍याएकोमा मतदाताले विगतको कार्यकालमा भन्दा उनीहरूबाट थप प्रभावकारी र सहज सेवा प्रवाह हुने अपेक्षा राखेका छन् । उपत्यकाका २१ मध्ये सात पालिकामा पनि प्रमुख पुनः निर्वाचित भएका छन् । ६ मध्ये ललितपुरमा चिरिबाबु महर्जन र भरतपुर महानगरमा रेनु दाहालले अग्रता लिइरहेका छन् । उनीहरू दुवै निवर्तमान मेयर हुन् ।

दाङको घोराही उपमहानगरपालिकामा पनि पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । दोस्र्रो कार्यकालका लागि एमालेका नरुलाल चौधरी निर्वाचित भएका हुन् । उपमेयरतर्फ पनि एमालेकै हुुमाकुमारी डिसी विजयी भएकी छिन् ।

उपत्यकाका २१ स्थानीय तहमध्ये १२ प्रमुख दोहोरिन चाहेका थिए । तर, मतदाताले सातजनालाई मात्र पुनः जिम्मेवारी दिएका छन् । काठमाडौंका दक्षिणकाली नगरपालिका, चन्द्रागिरि नगरपालिका, टोखा नगरपालिकामा पुरानै प्रमुख दोहोरिएका छन् ।

ललितपुरको गोदावरी नगरपालिका र बागमती गाउँपालिकामा पुरानै प्रमुख दोहोरिएका छन् । भक्तपुरको भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिकामा पुरानै प्रमुख दोहोरिएका छन् । ललितपुर महानगरपालिका र नागार्जुन नगरपालिकामा उम्मेदवारी दिएका उम्मेदवार पनि अग्र स्थानमा रहेका छन् । भक्तपुरको सूर्यविनायक नगरपालिकामा मेयरतर्फ एमालेका वासुदेव थापा १४ हजार सात सय ५८ मतसहित दोस्रोपटक निर्वाचित भएका हुन् ।

भक्तपुर नगरपालिकाको प्रमुखमा नेमकिपाका सुनील प्रजापति दोहोरिएका छन् । अन्य उम्मेदवारको तुलनामा झन्डै नौ गुणा बढी मत ल्याएर उनी दोस्रोपटक नगरपालिकाको मेयरमा विजयी भएका हुन् । नगरपालिकाको उपमेयरमा पनि २९ हजार ६ सय ९५ मतसहित नेमकिपाकी रजनी जोशी विजयी भएकी छिन् ।

काठमाडौंको टोखा नगरपालिकामा एमालेका उम्मेदवार प्रकाश अधिकारी पुनः निर्वाचित भएका छन् । कांग्रेसकी रजनी थापाले भन्दा एक सय ७४ मत बढी ल्याएर अधिकारीले जितेका हुन् । उपमेयरतर्फ १० हजार एक सय ३२ मतसहित कांग्रेसका उम्मेदवार मुरारी तामाङ विजयी भएका छन् ।

ललितपुरको गोदावरी नगरपालिकामा पनि पुरानै मेयर र उपमेयर दोहोरिएका छन् । गजेन्द्र महर्जन र मुना अधिकारी नगरपालिकाको मेयर र उपमेयरमा निर्वाचित भएका हुन् । निर्वाचित दुवै उम्मेदवार कांग्रेसका हुन् । त्यस्तै, गोदावरीकै वडा नम्बर ६ र ८ मा पनि पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । वडा ८ मा सुकबहादुर लामा र वडा ६ मा विष्णुमान महर्जन दोहोरिएका हुन् ।

ललितपुरको बागमती गाउँपालिकामा गठबन्धनका उम्मेदवार वीरबहादुर लोप्चन पुनः निर्वाचित भएका छन् । चार हजार ६ सय ९२ मतसहित पालिकाको उपाध्यक्षमा माओवादी केन्द्रका भक्तबहादुर दर्लामी मगर निर्वाचित भएका छन् ।

ललितपुर महानगरपालिकाको चारवटा वडामा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् । महानगरको २, ३, ५ र ६ मा पुरानै जनप्रतिनिधि दोहोरिएका छन् ।यसबाहेक उदयपुरको लिम्चुङवुङ गाउँपालिकामा पनि पुरानै अध्यक्ष दोहोरिएका छन् । सत्तारूढ गठबन्धनबाट माओवादी केन्द्रका मेजर राई दुई हजार ५१ मतसहित निर्वाचित भएका छन् । नयाँ पत्रिका दैनिकमा खबर छ ।