मासु काट्ने बासु कुखुरा पालेरै करोडपति

काठमाडाैं । ०५४ मा बासु बडाल भर्खर १८ वर्ष टेकेका थिए । ललितपुरको टीटीआरबाट भेटेरिनरी जेटीएको अध्ययन सकाएर बसेका थिए । करिअर सुरु गर्नुपर्ने मूलबाटोमा उभिएका थिए उनी तर के गर्ने अन्योल थियो । आफ्नै मन विभक्त थियो ।
एक मनले भन्थ्यो, बासु तिमी अध्ययनकै क्षेत्र रोज । अर्को मनको निशानाचाहिँ अर्कैतिर । उसले भन्थ्यो, जागिर खाएर केही हुनेवाला छैन । आफ्नै लगानीमा केही नयाँ उद्यम गर । मनबीचको द्वन्द्वमा निर्णय लिए– कुखुराको मासु पसल (कोल्ड स्टोर) सुरु गर्ने । ‘मेरो दाइ पनि यही क्षेत्रमा हुनुहुन्थ्यो । दाइको पेसालाई नजिकबाट नियालेकाले होला मलाई पनि यसैले तान्यो,’ भेटेरिनरी जेटीएले मासु काट्ने पेसा रोज्नुको कारणबारे उनले खुलाए ।
०५४ मा उनले कोल्ड स्टोरको न्वारन गरे– युनिक कोल्ड स्टोर । यहाँ उनले लगातार १० वर्षसम्म मासु काटेर उपभोक्तालाई मासु खुवाए । आज काट्यो मासु, भोलि काट्यो मासु । लामो समय उही काम, एउटै रफ्तारमा गर्दा मनोटोनस भइसकेको थियो बडाललाई । एउटै काममा दशकसम्म खुम्चिनु पर्दा बडाललाई कत्ति पनि चित्त बुझेको थिएन । एक ठाउँमा सीमित नभएर विस्तार हुन चाहने स्वभावका बडालमा यस्तो सोच पलाउनु स्वाभाविक पनि थियो ।
गरिराखेको काम छाड्न विकल्प तयार हुनुपथ्र्यो । तर बडालसँग न कुनै नयाँ योजना थियो न खाका । जीवनको यो टर्निङ प्वाइन्ट निकै उकुसमुकुसपूर्ण रहेको बडाल सुनाउँछन् । यस्तैमा उनको दिमागमा नयाँ सोच पलायो, अर्काले पालेको कुखुरा काट्नुभन्दा आफैंले त्यसलाई किन नपाल्ने ? सोच त पलायो तर ठ्याम्मै हेलिहाल्ने हुती थिएन उनमा । त्यसैले साथीभाइसँग परामर्श गरे । हितैषीले उकेरा हालिहाले– समुद्रमा हेलिन छाडेर कुँवामा धेरै मरिहत्ते नहाल । पौडिन हाम्फालिसकेपछि जानिन्छ । कुखुरापालनका लागि लगानी चाहिन्थ्यो । १० वर्ष कोल्ड स्टोर सञ्चालन गर्दा उनले बचत त गरेका थिए । तर व्यावसायिक ढंगले कुखुरापालन गर्न आवश्यक पुँजी उनीसँग थिएन ।
पोल्ट्रीमा हाम्फाल्ने सपना उनेका उनले स्रोत जुटाउन उपायबारे सोचे । तर ठ्याक्कै ठोस खाका बनेन । सोचहरूको दुर्घटना जीवनको नियमितता हो । यसको गठन र विघटन चलिरहन्छन् । यस्तोमा आत्तिने र हतास हुने स्वभाव बडालको थिएन । त्यसैले उनले सम्भावित विकल्पबारे सोच्न छाडेनन् । भनाइ नै छ–जहाँ इच्छा त्यहाँ उपाय । इच्छा भएपछि जतिसुकै चुनौतीपूर्ण काम भए पनि मानिसले त्यसलाई पार लगाउन सक्छ । बडाल आफैं पनि यो मान्यतामा दृढ थिए/छन् । उनको व्यावसायिक जीवनमा पनि ठ्याक्कै यही आहान मेल खायो ।
पोल्ट्रीमा थोरै लगानी गरेर प्रवेश गर्न नसकिने होइन । फूल फक्रने प्रणालीअनुसार व्यवसाय थालेर अहिले सफलताको शिखर चुम्ने कैयन् छन् । तर बडाललाई कुँवामा पौडिन मन लागेन, समुद्रमै हेलिन मन लाग्यो । एक्लै लागनी गर्ने ल्याकत नभएकाले सुरुमा बडालले पार्टनर खोजे । ढुंगा खोज्दा देउता मिलेजस्तै उनकै सोचसँग मिल्ने पाटर्नर फेला परे ।
व्यवसाय गर्नेलाई बैंकले ऋण दिने रहेछ । बडालले बैंकबाट चोके काँडेर पैसा निकाले । पार्टनरले पनि उसैगरी स्रोत जुटाए । स्रोत जुटेर मात्र कहाँ भयो र ? जमिनलगायत पूर्वाधार अपरिहार्य थियो । ‘सुरूमा आफैंले कतै जग्गामा फार्म बनाएर थाल्ने कि भन्ने भयो,’ बडालले व्यवसाय श्रीगणेश गर्दाका ती दिन सम्झिए, ‘तर पहिल्यै कसैले तयार पारिसकेको फार्म बिक्रीमा रहेकाले त्यसैलाई खरिद ग-यौं ।’
दुवै मिलेर नयाँ उद्योगको न्वारन गरे– दाउन्ने पोल्ट्री बिल्डिङ फार्म । केही लाखको बुटोबाट सुरु गरेको जुन व्यवसायको वृक्ष अहिले कैयन् हाँगाबिँगा फैलाएर करोडौंको बनेको छ ।
लगातार सफलता
पहिलो त, कुखुरा फार्ममा नयाँ अनुभव । त्यसमाथि बैंकबाट ऋण लिएर व्यवसाय थालेको । सुरुमा कताकता त्रासले उनको मनमा जरा गाँडेको थियो– कतै व्यवसाय सखाप भएर घर न घाटको भई ने त होइन । तर जोदाहा बडाल कहाँ त्यति सजिलै हार खानेवाला थिए र ? मनभित्रको त्रासको क्लेसलाई पन्छाएर अघि बढिरहे । परिणाम, सफलताले उनलाई चुम्मन गर्यो ।
‘अनुभवविहीन व्यवसायमा ऋण लगानी गरेर हाम्फालेकाले कता–कता डर पनि थियो,’ बडालले विगत सम्झिए, ‘तर संस्थाको नाममा फार्म दर्ता रहेकाले केही हल्का पनि भयो ।’ बडालका अनुसार, उनले पोल्ट्री क्षेत्रमा इन्ट्री मार्दा ह्याचरी उद्योग नै कम थिए । प्रतिस्पर्धा कम भएकाले उनले कुस्ता आम्दानी गरे । डेढ करोड लगानीमा दुई जनाले थालेको व्यवसायले छलाङ हान्दै दोब्बर, तेब्बर, चौबर एवं रितले फलिफाप हुँदै गयो । बडालका अनुसार ४ वर्ष लगातार अपेक्षाभन्दा राम्रो आम्दानी दिएको यो व्यवसाय अहिले पहिलेजस्तो त छैन । तर काम अनुसारको माम भने मिलिरहेकै छ ।
सुरुमा बडालले २५ सय कुखुरा पालेका थिए । अहिले त्यो बढेर ४५ हजार पुगेको छ । पालिएका सबै कुखुरा ब्रोइलर कुखुरा उत्पादनका लागि अण्डा उत्पादन गर्ने प्यारेन्ट हुन् । पहिले भैरहवामा मात्रै उनको फार्म थियो । अहिले भैरहवाको घेरा तोडेर रूपन्देहीको शुद्धोधन गाउँपालिका र धादिङको धार्केमा पनि फार्म सञ्चालन गरिरहेका छन् । जहाँ अहिले हजारौं कुखुरा हुर्किरहेका छन् ।
बढाउँदै बिजनेसको दायरा
भनाइ नै छ– व्यवसाय गरे गुणा, जागिर खाए गुजारा । बडालका कैयन् दौतरी अहिले पनि जागिर गरिरहेका छन् । तिनको जीवनस्तरमा स्थिर छ । तर बडालको प्रगति भने दिन दू गुणा रात चौगुणा भइरहेको छ ।
पोल्ट्री व्यवसायमा एक सफल उद्यमीको पहिचान बनाउन सफल बडालले अहिले ट्रेनिङ कम्पनी सञ्चालनदेखि दानाका लागि आवश्यक कच्चा पदार्थ आयातसम्मको काम गरिरहेका छन् । ‘अहिले कुखुरा फार्मका अतिरिक्त एउटा ट्रेनिङ कम्पनी र कुखुराको दानाका लागि आवश्यक कच्चा पदार्थ आयातको काम पनि गरिरहेका छौं,’ व्यावसायिक यात्रामा भरेको अर्को उडानबारे उनले बताए ।
यसबाहेक अरू भावी योजना के छन् त ? यो प्रश्नमा धेरैबेर नअडिई उनले फ्याट्टै सुनाइहाले– अब यसैलाई अझै व्यवस्थित र राम्रो गर्ने योजना छ ।’
दर्जनौंलाई रोजगारी
माथि नै प्रसंग आइसक्यो कि बडाल आफैं कुनै बेला कोल्ड स्टोर खोलेर कुखुराको मासु काट्थे । घण्टौं खटिन्थे । तर अहिले उनको व्यवसाय यति धेरै फैलिएको छ कि ५२ जनालाई त उनले रोजगारी नै दिएका छन् । बडाल आफ्नो व्यस्तता ह्वात्तै बढेको सुनाउँछन् । व्यवसाय हेर्न नै उनलाई भ्याइ नभ्याइ छ । उनी बुटवल र भैरहवाको फार्म निगरानी गरिरहेका हुन्छन् भने पार्टनरले धादिङको धार्के ।
विगत फर्किंदाको रोमाञ्चकता
०६४ बाट ०७४ सम्मको व्यावसायिक यात्रामा उनले कैयन् पटक पछाडि फर्कनु परेको थियो । तर व्यावसायिक कुखुरापालन व्यवसाय थालेपछि भने उनले कहिल्यै पनि पछाडि फर्कंनु परेको छैन ।
एकपछि अर्को सफलताले उनलाई माया गरिरहेको छ । यो सफलतालाई उनी आफ्नो संघर्ष र धैर्यताको योग ठान्छन् । ‘हामीमध्ये धेरै शीघ्र उपलब्धिको अपेक्षा गर्छौं । कुनै कुराले छिटो प्रतिफल दिएन भने निराश हुन्छौं,’ उनले संघर्षका मैदानमा रहेकालाई टिप्स नै हुनेगरी सुनाए, ‘संघर्ष गर्यो भने केही न केही पाइन्छ । हतास् र निराश कहिल्यै हुनुहुँदैन ।’ सँगै उनले लगाव, मिहिनतलाई पनि निरन्तरता दिन सुझाए ।
समस्या पनि छन् उत्तिकै
सुरुका ४ वर्ष अनपेक्षित व्यावसायिक लाभ लिएका बडाल पछिल्ला वर्ष पोल्ट्री क्षेत्रमा देखिएको मन्दीबाट भने उति सन्तुष्ट छैनन् । बडालका अनुसार, पछिल्लो समय एकपछि अर्को चुनौती थपिएर पोल्ट्री क्षेत्रनै असुरक्षित बन्दै गएको छ ।
देशको जीडीपीमा पोल्ट्री क्षेत्रको योगदान सशक्त भए पनि राज्यको दृष्टि भने यसतर्फ उचित ढंगले नपरेको उनी बताउँछन् । बडालका अनुसार, कुखुरापालन व्यवसाय प्रवद्र्धन गर्ने पूर्वाधार र संरचना नै छैन, नेपालमा । उनका अनुसार, कुखुरामा आएको समस्या परीक्षण गर्ने ल्याबकै चर्को अभाव छ । कुनै परीक्षण गर्नुपरेमा कि त चितवन कि काठमाडौं धाउनुपर्ने बाध्यता अहिले पनि पोल्ट्री क्षेत्रमा विद्यमान छ । बडाल देशलाई समृद्धितिर लैजाने हो भने पोल्ट्रीका समस्यालाई समाधान गरेर साधन स्रोत सम्पन्न बनाउनु पर्ने सुझाव दिन्छन् ।
भारतसँगको खुला सीमाले पनि कुखुरापालक किसान उत्तिकै हैरानीमा परेको बडाल सुनाउँछन् । उनका अनुसार अहिले भारतबाट चल्ला र कुखुरा तस्करी गरेर नेपाल भित्रिरहेको छ । यसले समग्र कुखुरापालन क्षेत्रमा नै नकारात्मक भूमिका खेलिरहेको उनको अनुभव छ । ‘हामीले महँगो दाना खुवाएर पालेको कुखुरा निश्चय नै भारतमा जसरी सस्तो मूल्यमा बिक्री गर्न सकिँदैन,’ बडालले आफ्नो क्षेत्रको समस्याको पोको फुकाउँदै भने, ‘तर अहिले भारतबाट चल्ला र कुखुराको तस्करी भइरहेको छ । यही अवस्था रहने हो भने टिक्ने अवस्था हुँदैन ।’
यसबारे व्यवसायीले पटक-पटक संघीय सरकार र स्थानीय प्रशासनलाई घच्घचाइरहेका छन् । तर यो समस्याको दीर्घकालीन समाधानतर्फ कसैले चासो नदिएको बडाल गुनासो गर्छन् । दक्ष जनशक्तिको पनि उत्तिकै अभाव रहेको बडाल बताउँछन् । कृषिलाई प्राथमिकतामा राखेको भन्ने तर व्यवहार भने ठ्याक्कै उल्टो गर्ने उनको ठम्याइ छ । कुखुरापालनका लागि आवश्यक पर्ने दानाका कच्चा पदार्थमा सरकारले भन्सार दर बढाएर यस्तै रवैया देखाएको उनले आरोप लगाए ।
बडालका अनुसार विगतमा मकै र भट्मासको पिनाको भन्सार २ प्रतिशत रहेकोमा अहिले त्यसलाई बढाएर ९ पु-याइएको छ । यसले कुखुराको मासु र अण्डाको मूल्य महँगो हुन गएको उनी बताउँछन् । मकै र भट्मासमा नेपाल आत्मनिर्भर नहुँदा यसलाई भारतबाट आयात गर्ने गरिएको छ ।
‘पहिले मकै र भट्मासको भन्सार २ प्रतिशत रहेकोमा अहिले ९ प्रतिशत छ पु-याइएको छ । देशको कुल उत्पादनमा योगदान दिएको कृषिमा कर थोपर्दै लैजाने यसको उपेक्षा हो ?’ उनले गुनासो गरे । जाँदाजाँदै हामीले बडाललाई फेरि समस्याबाट सम्भावनातिर फर्कायौं । बडाललाई हामीले तेर्साएको त्यो प्रश्न थियो, के लाखौं नेपाली युवा यसरी विदेशमा पसिना बगाउन जरुरी छ ?
यो प्रश्नमा बडाल गम्भीर देखिए । बडालका अनुसार, नेपाली युवाले यसरी सस्तोमा पसिना बेच्नु पदैन । नेपालमा नै कृषिको अथाह सम्भावना रहेकाले यही राम्रो उपार्जन गर्न सक्छन् । पोल्ट्री क्षेत्रमा ठाउँ खाली रहेकाले युवाले यसमा पनि लगानी गर्नसक्छन् । उनका अनुसार पोल्ट्री क्षेत्रमै अझै धेरै लगानी आवश्यक छ । तर यसका लागि सरकारी तबरबाटै प्रोत्साहित हुने कार्यक्रम ल्याउनुपर्ने सुझाव उनले दिए । बजारीकरणको समस्या पनि पेचिलो भएकाले यसतर्फ पनि ध्यान दिन आवश्यक रहेको उनले औंल्याए ।
‘कृषि तथा पशुपन्छी क्षेत्रमा व्यावसायिक ढंगले काम गर्ने हो भने अथाह सम्भावना छ,’ बडालले कुराकानीको बिट मारे, ‘अरबका खाडीमा पसिना बगाउन छाडेर अब देशभित्रै सबैले उद्यम गरौं ।’
प्रतिक्रिया