भित्ता जोगाउन भगवानका तस्बिर

बारा । जिल्लाका सरकारी कार्यालयका पर्खाल र भर्याङभरि भगवानका तस्बिर टाँसिएको देख्न पाइन्छ । धर्म प्रचार वा आस्थाका कारण ती तस्बिर टाँसिएका होइनन् । सेवाग्राहीले पान, गुट्खा आदि खाएर जथाभावी थुक्न थालेपछि त्यसलाई रोक्न अन्तिम उपायस्वरूप भगवानका तस्बिर भित्तामा टाँस्नुपरेको हो ।
मालपोत कार्यालय, नापी कार्यालय, नगरपालिका, विभिन्न सरकारी बैङ्कलगायतका कार्यालयका भर्याङ, पर्खाल र भित्ताका कुनामा तस्बिर टाँसिएका छन् ।
जथाभावी थुक्नेलाई पाँच सय रुपियाँ जरिवाना लिइने भनी लेखिएका पोस्टर झुन्ड्याइएका छन् तर त्यसको उपेक्षा हुँदै आएको छ । कतिपयले भगवानका तस्बिर टाँसिएको स्थानमा समेत थुक्ने गरेको पाइन्छ ।
नापी कार्यालय कलैयाका प्रमुख चन्दन दासले भने, ‘सेवाग्राहीलाई जथाभावी नथुक्न अनुरोध गर्यौं तर अनुरोध नमानेपछि भर्याङका भित्तालाई सफा राख्न भगवानका तस्बिर टाँस्नुपरेको हो ।’
उनले भगवान्का तस्बिरमा थुक्न थालेकाले यसलाई नियन्त्रण गर्न अरू उपाय अपनाउनुपर्ने देखिएको बताए । यस्तो प्रवृत्ति बारामा मात्र नभई अन्य जिल्लामा पनि उत्तिकै रहेको पाइन्छ । पर्खालबाहिर शौच गरिदिने भएकाले पर्खालमा भगवानका तस्बिर राखिएको सरकारी कार्यालयका कर्मचारीहरू बताउँछन् । मालपोत कार्यालय बाराका प्रमुख गोपालप्रसाद बरालले दिनहुँ सेवा लिने सयौं सेवाग्राहीले भित्ताभरि थुकेर रातो पारिदिएपछि त्यसलाई नियन्त्रण गर्न भगवानका तस्बिर राख्नुपरेको बताउँछन् ।
राष्ट्रिय वाणिज्य बैङ्क कलैयाका शाखा प्रबन्धक प्रवेश सिन्घुलियाले जथाभावी नथुक्न भगवानका तस्बिर राखिए पनि यो उपायले काम नगरेको गुनासो गरे, गोरखापत्र दैनिकमा खबर छ ।
ताजा अपडेट
-
स्पेन भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री ओली
-
शुक्लाफाँटामा दुर्लभ सुनौलो तोप चराको गणना सुरु
-
चलचित्र विकास बोर्डका ३३ सेवा अनलाइनबाट लिन सकिने
-
साउनदेखि नियुक्त हुने कर्मचारीलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणाली लागू हुने
-
‘नेपालले मात्रै चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउन सक्ने अवस्था छैन’: अर्थमन्त्री पौडेल
प्रतिक्रिया