साढे ७ वर्षदेखि नाकामा चीनको अवरोध

काठमाडौँ — भूकम्पको बहानामा चीनले प्रमुख दुई नाका तातोपानी र रसुवागढीमा अवरोध गरेको सात वर्ष ४ महिना भएको छ । करोडौं लगानीमा आयात गरिएका सामान बाटैमा अलपत्र पर्दा व्यवसायी तनावमा छन्, साना र मझौला व्यापारी पेसाबाटै पलायन भएका छन् भने सीमित ठूला व्यापारीले समुद्री मार्गबाट भारत हुँदै सामान ल्याउँदा उपभोक्ता मूल्य अकासिएको छ ।
भूकम्पपछि तातोपानी नाका त चार वर्ष पूर्ण रूपमा ठप्प थियो । आयात कहिलेकाहीं खोलिए पनि निर्यातमा कडाइ छ । अहिले पनि मानव आवतजावत प्रतिबन्धित छ भने आयात नगण्य छ । नियन्त्रित रूपमा केही समयअघि खोलिएका दुवै नाका कोभिडको बहानामा फेरि बन्द गरिएको एक साता बितेको छ ।
नाकामा चीन कति अनुदार छ भने भूकम्पका कारण खासा सडकमा अलपत्र नेपाली व्यवसायीले आफ्ना सामान पाँच महिनासम्म उठाउन नपाउँदा वर्षाको पानीले क्षति पुर्यायो । मितेरी पुलबाट करिब ५ सय मिटर पर चिनियाँ भूभाग पुगेर आफ्ना सामान ल्याउनसमेत दिएन । त्यस्तै नेपालले २०७२ असोजमा संविधान जारी गरेपछि भारतले दक्षिणी नाकाबाट हुने व्यापारमा अघोषित नाकाबन्दी लगाउँदा पनि चीनले नाकाबाट सामान आयातनिर्यात सहज बनाएन । अप्ठेरोमा परेको नेपालले तातोपानी नाका सञ्चालन गर्न अनुरोध गर्दा पनि चीनले सुनेन ।
बाढीपहिरो र कोभिड बहानामा प्रायः बन्द हुने नाका खोलेको बेला पनि कति कन्टेनर पठाउने भनेर चिनियाँ अधिकारीले तजबिज प्रयोग गर्दै आएका छन् । दिनमा ५–७ कन्टेनर पठाएपछि अचानक सिमानामा गेट लाग्छ । यसरी व्यावसायिक रूपमा खरिद गरेका सामानलाई सुरक्षित रूपमा गन्तव्यमा जान दिन सहयोग गर्नुपर्नेमा चीनको अव्यावसायिक व्यवहारले नेपाली व्यापारी मर्कामा छन् । व्यवसायीले करोडौं लगानीमा खरिद गरेको सामान बाटैमा अलपत्र रहेका बेला नाका पटकपटक बन्द गरिन्छ, अहिले पनि बन्द छ ।
सीमानाका आपसी समझदारीमा खुल्ने र बन्द हुनुपर्ने हो । तर, अन्तर्राष्ट्रिय नाका चीनले किन खोल्छ र किन बन्द गर्छ भन्ने सामान्य जानकारी व्यापारी मात्र होइन, नेपाली अधिकारीलाई पनि हुँदैन । तातोपानी भन्सार प्रमुख नारद गौतमले नाका बन्द हुने र खुल्ने औपचारिक सूचना आफूहरूलाई नहुने बताउँछन् । भन्छन्, ‘व्यवसायीले बन्द भयो भनेका छन् । स्याउ, लसुन, प्याज, नास्पातीजस्ता वस्तु कुहिन लागेको गुनासो गरेका छन्, कहिले खुल्छ वा खुल्दैन हामी भन्न सक्दैनौं ।’
रसुवागढी भन्सार प्रमुख राम मैनाली पनि नाका खुल्ने, बन्द हुनेबारे आफू अनभिज्ञ रहेको बताउँछन् । ‘बन्द हुने र खुल्ने अनिश्चितताले व्यापारीलाई नाकाप्रतिको अविश्वास भने बढाएको छ,’ उनी भन्छन् ।
यस पटक पनि दसैंका सामान चीनको सडकमा आइपुगेपछि नाका बन्द गरिएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष होमबहादुर (राजकुमार) बस्नेतका अनुसार नाका ठप्प भएपछि बाटोमा अलपत्र सामानलाई फेरि उतै पठाएर सामुद्रिक बाटोमार्फत ल्याउने तयारी व्यवसायीले गरेका छन् । ‘कम्तीमा खरिद गरेका र बाटोमा अलपत्र सामान मात्र भित्र्याउन दिने हो भने पनि व्यवसायीलाई केही सहज हुने थियो,’ बस्नेत भन्छन् । त्यसैले सरकारले सार्थक कूटनीतिक पहल नगरे व्यापारी डुब्ने र उपभोक्ता मर्कामा पर्ने उनको भनाइ छ ।
भौगोलिक अवस्थाका कारण चीनसँग जोडिएको नाकामा नेपाल पूरै निर्भर हुन भने व्यावहारिक कठिनाइ हुने परराष्ट्रविद् दिनेश भट्टराईको भनाइ छ । ‘तर, मुलुकले विकल्प सोचेको नाकाबाट अप्ठेरोमा पनि सहयोग प्राप्त गर्न किन सकिएन ?’ उनी प्रश्न गर्छन्, ‘सुरक्षाको विषयमा चीन निकै संवेदनशील छ, त्यस्तो हो भने पनि नेपालसँग खुलेर कुरा गर्नुपर्छ ।’
चीनका लागि नेपालका पूर्वराजदूत टंक कार्की भने नाकामा हुने अवरोध कोभिडबाहेकका अन्य कारणले होला भनेर अनुमान गर्न नसकिने बताउँछन् । ‘चीनको चासो नेपालको भूमि प्रयोग गरेर आफ्नाविरुद्ध कसैले चलखेल नगरोस् भन्ने मात्र हो,’ भन्छन्, ‘भर्खरै नेपालका परराष्ट्रमन्त्रीको भ्रमण क्रममा भएको सम्झौताले पनि अझ बढी सकारात्मक सन्देश दिएको बुझ्न सकिन्छ ।’ कतिपय सुरक्षा संवेदनशीलता हुन सक्ने तर्क गर्दै उनले त्यस्ता विषयलाई त्यही रूपमा बुझ्नुपर्ने उनको भनाइ छ ।
भूकम्पपछि चीनले स्थलमार्गमा अवरोध गरेपछि केही व्यवसायी समुद्रीमार्गबाट भारतको बाटो प्रयोग गर्दै आयात व्यापारमा संलग्न छन् । समुद्री बाटो भएर व्यापार गर्न ठूलो लगानी चाहिने भएकाले साना र मझौला व्यापारी भने पेसाबाटै पलायन भए । नेपाल हिमालय सीमापार वाणिज्य संघका अध्यक्ष अशोक श्रेष्ठ वर्षौंदेखि नाकामा अवरोध हुँदा व्यवसायीहरू पेसाबाटै पलायन भइरहेको बताउँछन् । ‘केही व्यवसायी त सडकमै पुगे, केही भने व्यापारिक कारोबारमा दक्षिणतिर सारेका छन् ।’ कूटनीतिक प्रयासबिना समस्या समाधान हुन नसक्ने उनको भनाइ छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल–चीन व्यापार सहजीकरण गर्न चीनलाई अनुरोध गर्दै आएको बताए । ‘तातोपानी र रसुवा नाकालाई नियमित खुलाउन र अन्य नाका सञ्चालनका लागि अनुरोध गरिएको छ । परराष्ट्रमन्त्री नारायण खड्काको चीन भ्रमणका बेला पनि उक्त प्रस्ताव लिखित रूपमा राखिएको छ,’ मन्त्री बडूले भने ।
परराष्ट्रमन्त्री खड्काको भ्रमण टोलीमा सहभागी वाणिज्य सचिव गणेश पाण्डेले पनि उत्तरी नाकाको समस्याका विषयमा चीनसँग प्रस्ट तर्क राखेको बताए । तर, परराष्ट्रमन्त्रीको टोली चीनबाट फर्किएको अर्को दिन नै तातोपानी र रसुवा नाका फेरि बन्द गरिएको छ । तयारी पोसाक, जुत्ताचप्पल, ब्याग, कस्मेटिक सामान, मखमलका कपडा, खेलौना, मेसिनरी औजार, फर्निचर, कृषि औजार, बीउबिजन, बिजुलीका सामान, निर्माण सामग्री, स्टेसनरीलगायत सामान चीनबाटै आउने गरेका छन् । तिहारका लागि आवश्यक बिजुलीका सामान यही नाकाबाट भित्रिन्छन् । बजारमा पाउने अधिकांश स्याउ चीनबाटै आउने गरेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।
प्रतिक्रिया