NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २७ गते

छापामा आज : कसले के लेखे ?

काठमाडौं । संघीय राजधानी काठमाडौंबाट अखबारहरूको मुख्य प्राथमिकतामा विविध विषय परेका छन् । कुनैले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको विषय मुख्य समाचारका रूपमा छनोट गरेका छन् भने कुनैले छिन्ताङ हत्याकाण्डबारे सामग्री पस्केका छन् ।

संविधानमाथि दलहरूले उठाएको प्रश्न र सेनाले थालेको हतियार खरिद प्रक्रियामाथि पनि अखबारहरूले चर्चा परिचर्चा गरेका छन् ।

कान्तिपुर दैनिकले छिन्ताङ हत्याकाण्डबारे मुख्य समाचार बनाएको छ । ४३ वर्षअघि आजकै दिन विद्रोही कम्युनिस्टको आरोपमा राज्यले धनकुटाको छिन्ताङमा १६ किसान तथा श्रमजीवीको हत्या गरेको थियो । जसलाई छिन्ताङ हत्याकाण्डका नाममा चिनिन्छ ।

कान्तिपुरका अनुसार, यो घटनामा मारिएकाप्रति राज्यले कुनै सम्मान गर्न सकेको छैन । उनीहरूप्रतिको सम्मान सालिकमा मात्र सीमित छ । उक्त घटनामा मारिनेका परिवार कम्युनिस्ट सरकारले पनि केही नगरेकोमा निराश छन् ।

सीमामा सरकारी मिलेमतोमै तस्करी हुने गरेको समाचार पनि कान्तिपुरमा छ । समाचारअनुसार, सरकारद्वारा गठित अध्ययन समितिले नै सीमामा सरकारी निकायको मिलेमतोमा तस्करी हुने गरेको निष्कर्ष दिएको छ ।

चार मुलुकका निर्वाचन आयुक्त नेपाल आउन लागेको अर्को खबर पनि कान्तिपुरको पहिलो पृष्ठमा नै समेटिएको छ । आमनिर्वाचन अनुगमन गर्न भारत, बंगलादेश, भुटान र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त नेपाल आउन लागेका हुन् ।

आफ्नो निर्वाचन घोषणापत्रमार्फत दलहरूले संविधानमाथि लगाएको खोटमाथि अन्नपूर्णले मुख्य समाचार बनाएको छ ।

उसले लेखेको छ– राज्य सञ्चालन गरिने मूल कानून र सिद्धान्तहरूको संग्रह हो, संविधान । जसले सरकारको स्वरूप निर्धारण गर्छ । सरकार िशक्तिको सीमांकन गरी राज्यको काम कारबाहीलाई वैधता प्रदान गर्छ । तर पछिल्लो समय दलहरू आफ्ना चुनावी प्रतिबद्धतापत्रमा विभिन्न विषय घुसाएर संविधान नै संशोधनको मुद्दा उठाउँदैछन् ।’

अन्नपूर्णले नेताहरूको यस्तो प्रतिबद्धतामाथि विज्ञको धारणा पनि समेटेको छ । उनीहरूले यसलाई जनता झुक्याउने चाला भनेका छन् ।

अमेरिकाले कोरियाली प्रायद्वीपमा बमवर्षक विमान उडाउन लागेकोदेखि उम्मेदवारको घरदैलोसम्मका समाचार अन्नपूर्णको पहिलो पानामा छन् ।

नयाँ पत्रिकाले ‘कसले जोहो गर्छ उम्मेदवारको चुनाव खर्च’ शीर्षकमा मुख्य समाचार बनाएको छ भने नागरिकमा नेपाली सेनाले २ अर्ब रूपैयाँको हतियार खरिद गर्न लागेको लेखेको छ ।

हेर्नुहोस् आजका पत्रपत्रिकाका पहिलो पृष्ठ