राहदानी लिन खेताला !

काठमाडौं । विद्युतीय राहदानी लिनका लागि आम नागरिकले खेताला लगाएर अरूलाई लाम राख्ने गरेको पाइएको छ । राहदानी विभागमा राति २ बजेदेखि नै लाम लागेमा मात्र आफ्नो पालो छिटो आउने भन्दै मानिसहरूले पैसा तिरेर अन्य व्यक्तिलाई खेतालास्वरूप लाममा राख्ने गरेको पाइएको हो । अनलाइन फाराम भरेपछि पाएको मितिमा आएर विद्युतीय राहदानीका लागि लाइभ इन्रोलमेन्टमा बस्नुपर्ने हुन्छ ।
यसबीचमा अनलाइन फाराम भरेकाहरूले आवश्यक शुल्क बुझाउने र अनलाइनमा बुझाएको कागजपत्रको सक्कली कागजपत्र रुजु गराउनुपर्ने हुन्छ । यी दुई काम छिटो गर्नकै लागि रातिदेखि नै लाममा बस्न खेतला राख्ने गरेका हुन् ।
शुक्रबार विभाग परिसरमा आइपुगेका एक युवकले त्यहीँ भेटिएका एक खुद्रा व्यापारीसँग सोधे, “अब कहिले आऊँ ?,” खुद्रा व्यापारी युवतीले उनको राजस्व तिर्ने भौचर भर्दै भने, ‘तपाईं अब सोमबार दिउँसो आउनुस्, म एकजना मानिसलाई पैसा तिर्ने लाममा राखिदिन्छु, त्यसको एक हजार दुई सय रुपियाँ लाग्छ । राजस्वको पैसा त्यही दिन लिएर आउनुस्, अर्को मान्छे उभिएको ठाउँमा गएर ठाउँ लिएर पैसा तिर्नुस् ।’
त्यसअघि पनि ती युवाले कागजात रुजु गराउनका लागि पनि पैसा तिरेर मान्छे लाममा राखेका थिए । पालो आउने बेलामा भने आफैं लाममा बसेका थिए । उनले भने, “के गर्ने टाढाबाट आउनुपर्छ, भोकभोकै लाइनमा बस्नुभन्दा अलिकति पैसा माया मारेकै जाती ।” अनलाइन फाराम भर्दा पनि लाइभ इन्रोलमेन्टको मिति दुई महिनापछि मात्र आएको गुनासो उनले पोखे ।
अर्का एक युवक आफ्नो मिति धेरै टाढा पुगेको गुनासो तिनै युवतीसँग गर्नुहुँदै थियो । तिनलाई सुझाउँदै उनले भनिन्, “कुनै म्यानपावरमा गएर कागज बनाएर ल्याउनुस्, त्यसपछि भित्र गएर मिति मिलाउनु पर्छ ।”
रातिदेखि सडकमा लाममा बसेकालाई विभागले बिहान ७ बजेपछि गेट खोलेर भित्र लाममा पसाल्ने गरेको छ । खेतालाको व्यवस्था नजिकका कम्प्युटर पसल, खुद्रा व्यापारी आदिले गरिदिने गरेका छन् । यसबाट केही रकम आफैँ राखेर बाँकी लाममा बस्नेलाई दिने गरेको खुलासा भएको छ ।
यसरी अत्यधिक मानिस त्रिपुरेश्वरस्थित विभाग परिसरमा बिहीबार जम्मा हुँदा प्रहरीले लाठीचार्ज नै गर्नुपर्यो । विद्युतीय राहदानीबाहेक पुरानो राहदानी नवीकरण तथा यात्रा अनुमतिपत्र प्रमाणीकरण आउने पनि उत्तिकै हुन्छन् । खोटाङका रामकुमार रोका राहदानी नवीकरणका लागि आएका थिए । “मेरो एमआरपी पासपोर्टको पाँच महिना मात्र म्याद बाँकी छ, त्यही पनि विद्युतीय राहदानी बनाउन नमिल्ने रै’छ,” उनी भन्दै थिए । त्यसैले उनी पाँच महिनाका लागि एमआरपी बनाउन तम्सिएका छन् । विदेश जाने सुरमा रहेका उनी खेताला र भनसुन लगाएरै भए पनि छिटो राहदानी बनाउन कस्सिएका हुन् । तर एक सातादेखि काठमाडौँमा रहेर काम गर्दा बल्ल उनले फोटो खिच्न अर्को महिनाको मिति पाएका छन् ।आजको गोरखापत्र दैनिकमा खबर छ ।
ताजा अपडेट
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
-
वायुसेवा निगमको सदृढीकरण अपरिहार्यः पर्यटनमन्त्री पाण्डे
-
निजामती विधेयकमा उठेका विषयमा छानबिन गर्न सभामुखलाई आग्रह
-
इजरायलसँगको १२ दिने युद्धमा इरानमा ९३५ जनाको मृत्यु
-
सभापति खतिवडाले राजीनामा दिनुपर्छ: माओवादी केन्द्र
प्रतिक्रिया