राजस्व वृद्धिका लागि करका दायरा बिस्तार र कर चुहावटको क्षेत्रमा नियन्त्रण जरुरी : अर्थमन्त्री पौडेल

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजस्व वृद्धिका लागि करका दायरा विस्तार र चुहावट रोक्न आवश्यक भएको बताएका छन् । नवौं राष्ट्रिय कर दिवस २०७७ को अवसरमा आयोजित आन्तरिक राजस्व कार्यालय जोरपाटीको उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले स्वेच्छिक कर सहभागिता वृद्धि गर्दै परिपालनाका माध्यमबाट समग्र राजस्व परिचालनमा अभिवृद्धि गर्न जरुरी रहेको बताएका हुन् । कर परीक्षण, अनुसन्धान, बजार अनुगमन, प्रशासनिक पुनरावलोकन, बक्यौता असुली, बेरुजु फछर्यौट जस्ता परिपालनाका विधिलाई कडाइका साथ लागू गर्न अर्थमन्त्री पौडेलले निर्देशन दिए । अर्थमन्त्री पौडेलले कर सहभागितामा न्यूनतम लागत, सेवाग्राहीमैत्री व्यवहार, प्रकृयागत सरलीकरण, प्रविधिको भरपुर उपयोग हुने वातावरण सिर्जना गर्न पनि निर्देशन दिए । यस्तै करदाताको कर प्रशासनप्रतिको दृष्टिकोणमा सकारात्मक परिवर्तन ल्याउन र करको दायरा र पहुँच विस्तारमा परिणाम देखिने गरी सुधार गर्न आन्तरिक राजस्व विभाग र मातहतका सबै राजस्व कार्यालयलाई उनले निर्देशन दिए । उनले करदाता र कर प्रशासनबीचको स्वच्छ व्यवसायीक सम्बन्ध र आपसी विश्वास मजबुद भएमा मात्र राजस्व परिचालनमा सकारात्मक योगदान पुग्ने र यसका लागि कर दिवस सहयोगी रहने धारणा व्यक्त गरे । अर्थमन्त्री पौडेलले कर तिर्न सक्ने नागरिकलाई कर तिर्नका लागि अभिप्रेरित गर्न कर्मचारीहरूलाई शासकका रुपमा होइन, नागरिकको सेवकका रुपमा काम गर्न निर्देशन दिए । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीका कारण गरिएको लकडाउन र त्यसपछिका निषेधाज्ञा लगायतका आवगमनका अवरोधबाट अर्थतन्त्रमा आएको संकुचनको बावजुद आर्थिक वर्ष २०७६÷७७ को राजस्वको संशोधित अनुमान पूरा भएको भन्दै अर्थमन्त्री पौडेलले चालू आर्थिक वर्षको पहिलो चौमासिकसम्म लक्ष्यको नजिक राजस्व संकलन हुने गरी कर सहभागिता जनाउन निर्देशन दिए ।
प्रतिक्रिया