NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

श्रद्वेय सभापति (देउवा) तपाईंकै डडेल्धुरामा सदस्यतामा यस्तो धाँधली छ अन्त झन् के होला ? कर्ण मल्ल [अन्तर्वार्ता]

कर्णबहादुर मल्ल डडेल्धुराका कांग्रेस सभापति हुन् । जो सभापति शेरबहादुर देउवाका पनि सभापति हुन् । तर, उनै सभापति मल्ल आफ्नै केन्द्रीय सभापतिका काम गराईसँग पटकपटक फरक मत राख्दै आएका छन् । डडेल्धुराकै देउवालाई सहयोग पनि गर्ने र आफूलाई चित्त नबुझेका विषयमा खरो रुपमा उत्रिने हक्की नेताको रुपमा मल्ललाई चिनिन्छ । १४ औं महाधिवेशनको पूर्व सन्ध्यामा उनै मल्लले नेपालवाचका लागि रमेश सापकाेटासँगकाे कुराकानीमा सदस्यतासहितका विषयमा केन्द्रीय सभापतिले नै आफूलाई अन्याय गरेको आरोप लगाएका छन् । मेरो श्रद्धेय सभापति, प्रधानमन्त्रीलाई भन्न चाहन्छु– तपाईंकै जिल्ला डडेल्धुरा जहाँ म सभापति छु सुन्नमा आएको जस्तै गरी काम भएका छन् भने सदस्यतामा यो भन्दा ठूलो धाँधली, यो भन्दा ठूलो अपवित्र काम, यो भन्दा ठूलो तलको निकायको अपमान, तल्लो तहको निर्णयको खारेजी के हुन सक्छ ? जिल्ला, गाउँस्तरका नेता जो निरन्तर कांग्रेसमा छन्, देउवा र चुनाव चिन्ह रुख भनेर लागेका छन् । देउवालाई ६ पटक जित्न मत दिएका, सभापति जिताउन मत दिएका मतदाताको यो भन्दा ठूलो अपमान के हुन्छ ? यी सबै भएका हुन् भने के धाँधली भएको होइन ? यस्तो समस्याकाबीच अधिवेशन हुन सक्छ ?

जिल्ला सभापतिको भेलामा तपाईं पनि सहभागी हुनुभयो । क्रियाशील सदस्यताको जटिलताकोबीच भेला भएकाे थियो । तर, तपाईंहरुले सदस्यताको विषय टुंगिएपछि मात्रै महाधिवेशन गर्नुपर्छ भन्नु भएको थियो । भूगोलमा काम गरेका तपाईंहरुले भेला गर्नुको सन्देश के थियो ?

सभापतिको भेला होइन । काठमाडौंमा उलपब्ध भएका सभापति एक ठाउँमा बसेर आ आफ्ना जिल्लामा भएका सदस्यताबारेको अवस्थामा छलफल गर्न र जानकारी गराउन बसेका हौं । साथै, देशभर कोरोनाको अवस्था, बाढी पहिरोको अवस्था कस्तो छ भनेर बसेका हौं । विषयमा केन्द्रीय सभापतिसहितका केन्द्रीय नेतालाई के सल्लाह दिने भनेर बसेका हौं । हामीले ५ बुँदो ध्यानाकर्षण पत्र वा माग पत्र दिइसकेका छौं । भेलाको व्यवस्थापन काठमाडौंका सभापतिले गर्नुभयो । अरु व्यवस्थापन काभ्रेसहितका सभापतिले गर्नुभयो । उपस्थित हुन नसक्नुभएको सभापति जुमसहित अनलाइनमार्फत् जोडिनुभयो । तर, हाम्रो क्रियाशील सदस्यताको वादविवाद नुटुंग्याइकन कांग्रेस महाधिवेशनमा जानु हुँदैन भन्ने निष्कर्ष हो ।

मुख्य सदस्यताको विषय हुँदै गर्दा अरु के के विषय छलफलका प्राथमिकतामा थिए ?

हामीले निर्णयमा नलेखेको तर अधिकांश जिल्ला सभापतिहरुलाई लागेको अर्को पनि एउटा प्रमुख विषयमा छलफल थियो । हामी एकातिर सदस्यताको विषयले महाधिवशेनमा जान सक्ने अवस्था छैन । कोरोना र बाढीपहिरोले पनि तत्काल महाधिवेशनको प्रक्रिया अघि बढाउन गाह्रो छ । यी सबै चिजलाई मध्यनजर गर्नुपर्ने अवस्था छ । हामी फागुनदेखि स्थानीय तहको निर्वाचनमा जानुपर्ने छ । यी विषयलाई मध्यनजर राखेर कांग्रेसले १४ औं महाधिवेशनको लागि सहमतिमा नयाँ दृष्टिकोण अगाडि सानुपथ्र्यो । निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने भन्नेमा बहुसंख्यक जिल्ला सभापति हुनुहुन्छ ।

अहिले महाधिवेशन गर्नुहुँदैन भन्ने मत किन त ?

यसका कारण के हो भने वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, क्षेत्र, जिल्ला र प्रदेश तह र केन्द्रीय अधिवेशन गरी ७ तहको अधिवेशनमा हामी आन्तरिक प्रतिस्पर्धामा हुन्छौं । एक अर्काका बाधक भएर निर्वाचनमा जादैछौं । यसको लगत्तै कम्युनिष्टहरुसँगको प्रतिस्पर्धामा निर्वाचनमा जाने हो भने नेपाली कांग्रेसका लागि त्यो सबैभन्दा ठूलो दुर्भाग्य हुन सक्छ । त्यसकारण यी विषयलाई प्राथमिकतमा राखेर पार्टी सभापति र केन्द्रले यो विषयमा पुनर्विचार गर्न जरुरी छ । आन्तरिक छलफलमा बहुसंख्यक सभापतिहरुको आग्रह हो यो ।

मंसिरसम्म पहिलो र दोस्रोका लागि आन्तरिक रुपमा प्रतिस्पर्धा गर्ने र लगत्तै चुनावमा गएर जितिन्छ भन्ने राजनीतिको सामान्य गणित बुझेको विद्यार्थीले पनि गर्न सक्दैन ।

भनेको स्थानीय तहको निर्वाचनपछि मात्रै वडा तहको अधिवेशन गरौं भन्ने हो की सबै तहको अधिवेशन आउँदो तीनवटा निर्वाचनपछि गरौं भन्ने हो तपाईंहरुको ?

वडाको मात्रै होइन पार्टीका सबै तहको अधिवेशन तीन तहको निर्वाचनपछि गरौं भन्ने हो । तर, हाम्रो संगठनको जीवनमा समयको चापले संवैधानिक संकट आएको छ । यो साँचो हो । यो संकटको उपचार खोज्न नसक्ने अवस्था नभएको होइन ।

तर सबै तहको अधिवेशन आगामि निर्वाचनपछि गर्नुपर्छ भन्ने विषय त तपाईंहरुले पाँच बुँदे ध्यानाकर्षण पत्रमा उल्लेख गर्नुभएन नी ?

सबै जिल्ला सभापतिहरुले यो आशय खुलाएरै राख्न गाह्रो मान्नुभयो । यो भित्र धेरै नै उठेको विषय हो । म आफूले पनि खुलेर यो विषयमा कुरा राखें । अरु जिल्ला सभापतिहरुले मिडियामार्फत् यो कुरा बाहिर लगिरहनुभएको छ ।

अर्को सरकारको लफडा छ । कांग्रेस, देश र नेपाली जनताको स्वास्थ्य अवस्था अहिले विकुल खराब छ । तीनवटा मध्ये नेपाली जनता र देशको स्वास्थ्यलाई मध्यनर राख्ने जिम्मेवारीमा प्रधानमन्त्री हुनुहुन्छ । अझ प्रधानमन्त्री भएका बेला कांग्रेसको अवस्थाबारेमा त उहाँ धेरै जानकार हुनुपर्ने हो । कांग्रेसमा कति विचारसमूह, गुट र पक्ष/विपक्ष छन् सभापतिजी राम्रोसँग जानकार हुनुहुन्छ । यी सबै ‘कम्पोनेन्ट’बाट कुन साथीहरु सहज लाग्छन् त्यो सुविधा मन्त्री चयनमा उहाँलाई दिनुपर्छ । यसमा सिंगो नेपाली कांग्रेसले साथ दिनुपर्छ । साथै, जनताको स्वास्थ्यको लागि यो वर्ष सबै नेपालीलाई खोप दिन सिंगो कांग्रेस एकठाउँमा उभिनुपर्छ । केपी ओली नेतृत्वको सरकारले गर्दा देशको स्वास्थ्य अस्तव्यस्त छ । देश झण्डैझण्डै कंगाल हुने अवस्थामा छ । देशको स्वास्थ्यलाई मध्यनजर राख्दै रेस्क्यू गर्न सिंगो कांग्रेस एक ठाउँमा छ भन्ने सन्देश प्रधानमन्त्रीले दिनुपर्छ । यसको फाइदा कांग्रेसलाई नै छ । कुनै नेता विशेषलाई छैन ।

यति गर्दैगर्दा फागुनदेखि सुरु हुने स्थानीय तहको निर्वाचन र आगामि वर्ष प्रदेश र संघको निर्वाचनमा हामी होमिनुपर्ने छ । चुनाव जित्ने कांग्रेस बनाउनका लागि देश र पार्टीको अहिलेको खराब स्वास्थ्य अवस्थाले सकिंदैन । यसलाई स्वस्थ बनाउनुपर्ने छ । कांग्रेस एक ठाउँमा छ भन्ने सन्देश दिन सकिएन भने पार्टीका लागि यो भन्दा ठूलो दुर्भाग्य अर्को हुन सक्दैन । यस्तो बेलामा कांग्रेसले परिस्थिति सम्हाल्न सकेन भने मुलुकको अवस्था पनि राम्रो हुँदैन ।

तपाईंहरु यतिधेरै जिल्ला सभापति नै तीन तहको निर्वाचनपछि मात्रै अधिवेशन गर्नुपर्छ भन्नेमा पुग्नुभएको रहेछ । गत तीनवटै तहको निर्वाचनमा कांग्रेसको पक्षमा कमजोर नतिजा आएपछिको फेरि पनि अधिवेशनलगत्तै निर्वाचनमा जाँदा कांग्रेसको हालत फेरि दयनीय हुन्छ भन्ने हो ?

मेरो भित्री मनले भन्छ, अहिलेको सभापति, भोलि सभापति हुन्छु भनेर आकांक्षा राख्ने नेताहरु उहाँहरु कांग्रेसका आम कार्यकर्तालाई आफ्नो सेवक बनाउन चाहनुहुन्छ की ? कांग्रेसका हरेक कार्यकर्तालाई जनताको सेवक बनाउन चाहनुहुन्छ ? यो दोबोटोमा उहाँहरु हुनुहुन्छ । यदि कांग्रेसका आम सदस्यलाई जनताको सेवक बनाउने हो भने देशका लागि पनि सुखद् हुन्छ । होइन भने सभापति हुनका लागि मात्रै महाधिवेशन गर्ने, केन्द्रीय नेतृत्वमा जान मात्रै महाधिवेशन गर्ने हो भने कांग्रेस जनताको सेवक बनेर उभिन सक्दैन । यस्तै प्रवृत्ति रहिरहे तीनवटा तहको निर्वाचनमा कांग्रेसले २०७४ को भन्दा फरक नतिजा ल्याउन सक्दैन ।

साधारणभन्दा साधारण राजनीतिको गणित बुझेको मान्छेले देख्ने कुरा हो–मंसिरमा अधिवेशन गर्ने र दुई महिनापछि स्थानीय तहको निर्वाचनमा जाने, लड्ने तागत कांग्रेसले निर्माण गर्न सक्छ ? यस विषम परिस्थितिमा सर्वसम्मत निर्णयमा पुग्नुपर्छ । सबै तहमा कांग्रेसलाई एक नम्बरको पार्टी बनाएर कांग्रेसमा लागेका कार्यकर्तालाई जनताको सेवक बनाउनुपर्छ । त्यसैले यसका लागि निर्वाचनपछि मात्रै आन्तरिक निर्वाचन उपयुक्त हुन्छ भन्ने मेरो मान्यता हो ।

विशेष महाधिवेशनको विषय पनि सभापतिको बैठकमा आएको थियो । आगामि निर्वाचनको नतिजाको डरले हो यो ?

विशेष महाधिवेशनमा जान नेताहरु सर्वसम्मत रुपमा तयार भए एउटा विकल्प हो । अर्को प्रक्रिया हामीसँग वैधानिक समय तीन हप्ता छ । यसबीच कोभिडपछिको असाधारण समयलाई शून्य र संकटग्रस्त समय देखाउँदै अदालतमा जाने अर्को विकल्प पनि थियो । तेस्रो उपाय २०७२ को संविधान अनुसार पाँच वर्ष र ६ महिनामा पनि राष्ट्रिय चुनाव गरिसक्ने भन्ने छ । सहमतिमा हामीले सभापति चयन गरेका छौं भन्ने अर्को तेस्रो विकल्प हो । यसरी पनि संवैधानिक मान्यता पाउन सकिने अवस्था थियो, छ । यीभन्दा अरु विकल्पमा टेकेर पनि संवैधानिक विकल्प खोज्न सकिन्छ ।

तर, तीनवटा निर्वाचनपछि मात्रै अधिवेशनमा जानुपर्छ भन्ने विषयमा पार्टी केन्द्रमा माहोल त बन्न सकेन नी । बरु पार्टीले अधिवेशनको प्रक्रिया समय हुँदै गर्ने गरी कार्यतालिका ल्यायो नी ?

केन्द्रमा पनि कुरा उठेको छ । पदाधिकारी र पूर्व पदाधिकारीको तहमा नेताहरुले प्रष्ट रुपमा यो कुरा उठाउनुभएको थियो । कृष्ण सिटौला, अर्जुननरसिंह केसी, डा. मिनेन्द्र रिजालसहितका नेताहरुले निर्वाचनको पूर्व सन्ध्यामा आन्तरिक निर्वाचनमा नहोमिउँ भनेर कुरा उठाउनुभएको छ ।

आन्तरिक प्रतिस्र्धामा जितेकोसँगै हारेकोले पनि उत्तिकै तागत लगाएर कम्युनिष्टसँग जित्न भूमिका खेल्छ ? कुन मनोविज्ञानले मान्छे यसरी सहयोगी बनेर चुनावमा जान सक्छ ?

०७४ को निर्वाचनमा जानु अघि हामीले विजयकुमार गच्छदारको पार्टीसँग पनि एकता गरेका थियौं । त्यो समयलाई दुई पार्टीबीचको एकीकरण गरेपछिको नयाँ पार्टीको समय मान्न सकिन्छ । किनकी २०७२ मा अधिवेशन गरेपछि २०७४ मा पार्टी एकीकरण भएको अवधि दुई वर्षको छ । पदाधिकारी र पार्टी संरचना बदलिएको छ । ७४ सालसम्म एक उपसभापति भएकोमा ७४ पछि दुई उपसभापतिको संरचनामा हामी छौं । गच्छदारको फोरममात्रै होइन राप्रपाबाट सुनिल थापालाई ल्याएपछि सहमहमन्त्री पनि थपिएको छ । २०७२ को विधान र आजको अभ्यास अनुसार हाम्रो संगठनको स्वरुप फरक छ । केन्द्रीय सदस्य, पदाधिकारीको संख्या फरक छ । यसलाई हेर्दा पनि कानुनी सुविधा लिन सकिने अवस्था थियो ।

तर, भदौ र मंसिरको रस्साकस्सीबीच भदौ १८ मा सुरु गरेर मंसिर ९ देखि १३ सम्म १४ औं महाधिवेशन गर्ने घोषणा केन्द्रीय समितिले गर्यो नी ?
भदौमा हुन नसकेको अधिवेशन घोषणा गरे पनि मंसिरमा पनि हुन्छ जस्तो मलाई लाग्दैन ।

के कारण हुँदैन त ? तपाईंहरू अधिवेशनका लागि तयार हुनुहुन्न ?

कारण यही हो । मंसिरसम्म लड्ने अनि पुस र माघको दुई महिनापछि फागुनमा कम्युनिष्टसँग स्थानीय तहको निर्वाचनमा जुध्न सक्नुहुन्छ ? मंसिरसम्म पहिलो र दोस्रोका लागि आन्तरिक रुपमा प्रतिस्पर्धा गर्ने र लगत्तै चुनावमा गएर जितिन्छ भन्ने राजनीतिको सामान्य गणित बुझेको विद्यार्थीले पनि गर्न सक्दैन । आन्तरिक प्रतिस्र्धामा जितेकोसँगै हारेकोले पनि उत्तिकै तागत लगाएर कम्युनिष्टसँग जित्न भूमिका खेल्छ ? कुन मनोविज्ञानले मान्छे यसरी सहयोगी बनेर चुनावमा जान सक्छ ?

तपाईं त सभापतिको पनि सभापति धेरै जिल्ला सभापति यस्तो मान्यतामा राख्छन् भनेर उहाँलाई सन्देश पुर्याउनुभएन ?

उहाँसँग मेरो भेट भएको छैन । तर, नेताहरुमार्फत् केन्द्रीय सभापतिसमक्ष पनि यो कुरा पुगिसकेको छ । हामीले हरेक तह, वृत्त र विचारसमूहका सभापति केन्द्रीय नेतालाई यो कुरा राखेका छौं ।

महाधिवेशन सार्ने नसार्ने चर्चाबीच मंसिरमा गर्ने कुरा आएको छ । तर, फेरि पनि जटिलता क्रियाशील सदस्यतामा नै देखिएको छ । २ भदौसम्म विवाद मिलाउने भनेर तीन नेतालाई जिम्मेवारी पनि दिइएको छ । तपाईं त भूगोलमा बसेर काम गर्नुभएको नेता हुनुहुन्छ । मिलिसकेको सदस्यतामा पनि विवाद आयो भन्छन् नी ? अधिवेशनको नतिजालाई अदलबदल पार्नेगरी सदस्यतालाई मिलाउने काम गरियो भन्ने छ । के अवस्था त्यस्तै हो र ?

हामीले देखेको र भोगेको समस्याबारे छलफल गरेका हौं । सदस्यतामा एकदमै अदलबदलको अवस्था देखिन्छ । कांग्रेसको विधान, नियमावली, क्रियाशील सदस्यता सम्बन्धमा केन्द्रबाट गरिएका परिपत्र, महामन्त्री, मुख्यसचिव, छानविन समितिको परिपत्र अनुसार नवीकरण, नयाँ वितरण, समायोजनसम्बन्धी प्रक्रिया तलबाट नियमित रुपमा एउटा गएको छ । तर, केन्द्रमा पुगेपछि झ्यालबाट थप्ने, काट्ने, मनोमानी ढंगले सदस्यतामा अदबदल भएका छन् । मेरै जिल्ला जुन केन्द्रीय सभापति शेरबहादुर देउवाको जिल्ला हो । त्यहीं अदलबदलको अवस्था छ ।

अर्को रोचक कहानी पनि छ । स्थानीय तहको निर्वाचनको बेला स्वतन्त्र निर्वाचन लडेका (जो बागी) केही साथीहरुको नवीकरण गरिएको छ । तर जो कांग्रेसका आधिकारिक उम्मेदवार हुन् । उनीहरुको नवीकरण रोकिएको छ ।

५५ जिल्लाका सभापतिसँग मैंले साक्षात्कार गरे । जसमा ३१ जिल्लामा सदस्यतामा समस्या रहेको सभापति साथीहरुले बताउनुभएको छ । डडेल्धुरामा सम्पूर्ण विधि, विधान प्रक्रिया पूरा गरेर सदस्यताको विवरण केन्द्रमा पठाएका थियौं । तर, मेरै जिल्लामा सदस्यतामा हेरफेर भएछ । छानविन समितिले मलाई बोलायो पनि । समितिको संयोजकलाई सदस्यता वितरणको प्रक्रिया र विधिमा म कहाँ चुकें ? केही बिराएको छु ? तपाईले के गरिरहनुभएको छ ? भनेर सोध्दा संयोजक रमेश लेखकले जवाफ दिन सक्नुभएन ।

तर, मैंले पाएको सूचना अनुसार मेरै जिल्ला जो केन्द्रीय सभापतिको जिल्ला हो । त्यहाँ ५३५ क्रियाशील सदस्यता तलबाट पठाएकोमा हटाइएको छ । २९८ क्रियाशील सदस्यता केन्द्रबाट थप गरियो । ५३५ हटाएर २९८ थप गरियो । अर्को रोचक कहानी पनि छ । स्थानीय तहको निर्वाचनको बेला स्वतन्त्र निर्वाचन लडेका (जो बागी) केही साथीहरुको नवीकरण गरिएको छ । तर जो कांग्रेसका आधिकारिक उम्मेदवार हुन् । उनीहरुको नवीकरण रोकिएको छ । मेरो श्रद्धेय सभापति, प्रधानमन्त्रीलाई भन्न चाहन्छु– तपाईंकै जिल्ला डडेल्धुरा जहाँ म सभापति छु सुन्नमा आएको जस्तै गरी काम भएका छन् भने सदस्यतामा यो भन्दा ठूलो धाँधली, यो भन्दा ठूलो अपवित्र काम, यो भन्दा ठूलो तलको निकायको अपमान, तल्लो तहको निर्णयको खारेजी के हुन सक्छ ? जिल्ला, गाउँस्तरका नेता जो निरन्तर कांग्रेसमा छन्, देउवा र चुनाव चिन्ह रुख भनेर लागेका छन् । देउवालाई ६ पटक जित्न मत दिएका, सभापति जिताउन मत दिएका मतदाताको यो भन्दा ठूलो अपमान के हुन्छ ? यी सबै भएका हुन् भने के धाँधली भएको होइन ? यस्तो समस्याकाबीच अधिवेशन हुन सक्छ ? अन्य ठाउँमा झन् के भएकाे हाेला ?

केन्द्रीय सभापतिको जिल्लामा नै तपाईंले भनेको जस्तो हो भने धाँधली गर्ने अवस्था किन आयो ? उहाँलाई आफ्नो जिल्लाको भरोसा नभएको की तपाईंहरुको सहयोग नभएको हो ?

त्यो मलाई थाहा छैन । यी कुरा मैंले समिति संयोजक रमेश लेखकलाई भनेको थिएँ । पछिल्लोपटक दुई पटक फोन गर्दा उठाउनुभएन । तपाईंजस्तो कानुनको विज्ञ, राम्रो इमेज भएको नेता संयोजक भएको समितिले यस्तो हर्कत गर्ने ? जो शेरबहादुर देउवापछि सुदुरपश्चिममा मैंले मान्ने र श्रद्धा गर्ने नेता पनि हुन् । तर, मुखले भएको छैन भन्नुहुन्छ । त्यसैकारण पाँच बुँदे सभापतिको मागपत्रमा क्रियाशील सदस्यता नामावली हरेक जिल्ला कार्यसमितिले पाउनुपर्यो, रुजु गर्न पाउनुपर्यो । त्यसपछि मात्रै वडा तहको अधिवेशनको प्रक्रिया अगाडि बढाउनुपर्यो भन्ने माग हामीले राखेका हौं ।

केन्द्रीय सभापतिको जिल्लामा नै तपाईंले भने जस्तो धाँधली हो भने अरु जिल्लामा पनि यस्तै धाँधली भएको तपाईंहरुको आशंका हो ?

मेरो सम्पर्कमा आउनुभएका ५६ मध्ये ३१ जिल्लामा यस्तो खालको समस्या भएको बताउनुभएको छ । तलबाट पठाएका हटाइदिने, माथिबाट समायोजनका नाममा थपिदिने काम भएको छ । रेगुलर सदस्यतालाई हटाइदिने काम भएको छ ।

त्यो छानविन समितिमा सबै गुटका नेतालाई सहभागी गराइएको थियो नी । उहाँहरुले हेर्नुभएको, विरोध जनाउनुभएको रहेनछ ?

छानविन समितिका सदस्य कल्याण गुरुङले नोट अफ डिसेन्ट लेख्नुभएको छ । राजीनामा नै दिनुभयो । अरु सदस्यहरुले पनि असन्तुष्टि जनाएका छन् । अरु नेताहरुले असन्तुष्टि जनाएपछि नै सभापति, रामचन्द दाइ र कृष्ण सिटौला दाइले सदस्यताको विषय समाधान गर्ने विषय बाहिर आयो ।

उहाँ मेरो खिलाफमा किन लाग्नुभएको छ ? की उहाँलाई थाहा होला की भगवानलाई थाहा होला ? मेरो खिलाफमा उहाँ किन हुनुहुन्छ भनेर मिडियाले बाहिर ल्याए खुशी हुन्थें ।

यसको समाधानको उपाय के त ?

सदस्यता सम्बन्धमा छानविन समितिले मापदण्ड पास गरेको छ । जुन सर्वसम्मत रुपमा पास भएको थियो । सर्वसम्मत रुपमा आएको क्रियाशील सदस्यतामा कसैले पनि विवाद नगर्ने, कुनै ठाउँमा विवाद भए मिलाउन प्रयास गर्ने, मिलेन भने विवाद भएको जतिलाई थाती राखेर १३ औं महाधिवेशनका क्रियाशील सदस्यतालाई आधार मानेर अधिवेशन गर्ने भनेर मापदण्ड बनाइएको थियो । यो साधारण र सबैले बुझ्ने खालको छ । सबैका लागि अकाट्य छ । यसलाई आधार भन्दा अधिवेशन सहज रुपमा हुन्छ ।

चर्चामा केही जिल्लामा विवादको कुरा आए भनेपछि थुप्रै जिल्लामा समस्या छन् ?

बारा, पर्सा, सिरहा, सप्तरीसहित प्रदेश २ का अधिकांश जिल्लामा समस्या छन् । डडेल्धुरा, सिन्धुपाल्चोक, रसुवा, कैलाली, बाजुरा, डोल्पा, सुर्खेत, बाँके, बर्दिया, कपिलवस्तुसहितका जिल्ला छन् । पालिका र वडा तहमा नमिलेका विषय त झन् धेरै ठाउँमा छन् ।

यसरी सदस्यतामा समस्या आएको सदस्यताको जम्मा संख्याको रेकर्ड तपाईंहरुसँग छ ?

कपिलवस्तुको सभापतिले भन्दै हुनुहुन्थ्यो । सदस्यता जिल्लामा ५ हजार हाराहारी थिए । तर, समायोजनका नाममा केन्द्रबाट ४३ सय थपिएको रहेछ । क्रियाशील सदस्य बराबर नै केन्द्रबाट थपिएछ । डोल्पा र रसुवाको हालत पनि यस्तै भएको जिल्ला सभापति र नेताहरु बताउनुहुन्छ ।

भनेपछि आफू जित्नका लागि सदस्यता थप गर्न सभापति शेरबहादुर देउवा लाग्नुभयो भन्ने तपाईंहरुको आरोप हो ?

त्यो त मलाई थाहा छैन । तर यी चिजहरु बिलकुल राम्रो होइन । छानविन समितिका संयोजकलाई उजुरी आएका छन् भने उजुरी जिल्लामा पठाइदिनुस्, उजुरी गर्नेहरुको बैठक राखेर छलफल गर्छु भनेको छु । तर मैंले यो सुविधा पाएको छैन । अरु जिल्लाले यो सुविधा पाएका छन् । केन्द्रीय सभापतिको निर्देशनमा यी कामहरु भइरहेका हुन् भने उजुरीकर्ता राख्नुस्, सभापतिलाई राख्नुस्, मलाई पनि राख्नुस् भन्दा पनि रमेश लेखक तयार हुनुभएन । के लोकतन्त्रमा यस्तो चिज हुन्छ ? हरेक उजुरी हेर्नुस्, उजुरीकर्तालाई बोलाउनुस्, हरेक उजुरीमा म चुकेको छैन, कुनै प्रमाण छैन भने त्यो खारेज गर्नुपर्यो । उजुरी ठीक छन् भने म गल्ती भोग्न तयार छु । तर, म यो अवसरबाट पनि बञ्चित छु ।

केन्द्रीय सभापतिलाई तपाईंलाई विश्वास दिलाउन नसक्नुभएको हो की, सहयोग नगर्नुभएको हो की के भएको हो ? यतिधेरै संशय आफ्नै जिल्ला सभापतिमाथि किन होला ?

इतिहासका आफ्नै उतारचढाव छन् । १२ औं महाधिवशेनमा म उहाँको रुचिबाट सभापति भएको होइन । मलाई रोक्न अनेक काम भए । डडेल्धुरा कार्यकर्ताको भरोसाबाट सभापति हुने सौभाग्य पाएँ । १२ औं अधिवेशनमा उहाँलाई खुलेर सहयोग गरें । उहाँले जित्न सक्नुभएन । तर, १३ औं महाधिवशेनमा सभापति बनाउन जिल्लामा मात्रै होइन, मेची महाकाली जहाँबाट सकिन्छ जिताउन भूमिका खेलें । तर, म सभापति उठ्न खोज्दा उहाँ मेरो विरुद्ध उभिनुभयो । १३ औं महाधिवेशनमा त उहाँ मेरो खिलाफमा यति उत्रिनुभयो की म वर्णन नै गर्न सक्दिन । मलाई हराउन केही कसर बाँकी राख्नुभएन । तर, डेडेल्धुराका दाजुभाई दिदीबहिनीको आशिर्वादले दोस्रोपटक सभापति हुने अवसर पाएँ । म उहाँको खिलाफमा कहिले पनि छैन । तर, उहाँ मेरो खिलाफमा किन हुनुहुन्छ मैंले बुझेको छैन ।

उहाँको व्यवहार, गतिविधि, थिचोमिचोबाट आजित भएका विषयमा मैंले बोल्नु स्वभाविक हो । किनकी म १६ वर्षदेखि देउवाको साथ सहयोग पाएकोमा गौरवान्दित छु । उहाँले सार्वजनिक रुपमा सिकाउनुभएको छ । लोकताान्त्रिक पार्टीको चरित्र जनताबाट नेता डराउनुपर्छ भन्ने थियो । कार्यकर्ताबाट नेता डराउनुपर्छ भन्ने सिकेको मैंले उहाँबाटै हो । मत हाल्ने, आदर गर्ने, सहयोग गर्ने कुरामा म कहीं चुकेको छ जस्तो लागेको छैन । तर म उहाँको रुचीमा किन परेको छैन ? मलाई थाहा छैन ? उहाँ मेरो खिलाफमा किन लाग्नुभएको छ ? की उहाँलाई थाहा होला की भगवानलाई थाहा होला ? मेरो खिलाफमा उहाँ किन हुनुहुन्छ भनेर मिडियाले बाहिर ल्याए खुशी हुन्थें ।