‘ट्रान्स–वुमन’को राजनीतिक यात्रा
पहिचानको लडाइँ आफ्नै पार्टीबाट

मितिः १६ मंसिर २०७८
स्थानः भृकुटीमण्डप, काठमाडौं
माहोलः राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन ।
बन्द सत्र चलिरहेको छ । राप्रपा महाधिवेशन प्रतिनिधि पार्टीको नयाँ नेतृत्वको चुन्न तम्तयार छन् । नेताहरू आ–आफ्नो उम्मेदवारीको प्रचार–प्रसारमा व्यस्त ।
त्यही बन्द सत्रमा भेटिइन् मोनिका शाही । गुलाबी कुर्ता–सलवारमा उपस्थित उनी तेस्रोलिंगी महिला हुन् । राप्रपाको क्रियाशील सदस्यमध्ये एकमात्रै तेस्रोलिंगी महिला ।
बन्द सत्रमा बोल्ने पालो आएपछि शाहीले पार्टीको विधानमा ‘अन्य’ कोटा नराखिएकोबारे कुरा उठाइन् । बोल्नका लागि तीन मिनेट समय पाउनु केहीअघिमात्रै उनले विधानमा ‘अन्य भन्ने कोटा नराखिएको मेसो पाएकी रहिछन् ।
एक केन्द्रीय सदस्यले शाहीलाई उक्त कुरा याद दिलाएपछि उनलाई भाउन्न भएको थियो । पार्टीका लागि योगदान दिए पनि विधानमै आफू र आफूजस्ताका लागि स्थान नदिएको कुरा सुनेपछि उनलाई उकुसमुकुस हुनु स्वाभाविक थियो ।
उनले यस सन्दर्भमा अध्यक्ष कमल थापासँग पनि कुरा गरिन् । भनिन्, ‘हाम्रो पहिचानलाई किन समाप्त पार्न खोज्नुभएको ? पार्टीको विधानमा अन्य भन्ने शब्द किन राखिएन ?’
थापाले संशोधनका क्रममा भूलचुक भएको हुनसक्ने बताउँदै फेरबदल गर्ने बताएका छन् । पुनः पार्टी नेतृत्वका लागि प्रतिष्पर्धामा उत्रिएका उनले केही महिनामै उक्त भूल सच्याउने आश्वासन दिएका छन् ।
‘मेरो लडाइ यहीँबाट सुरु हुन्छ, पार्टीको विधानमा अन्य भन्ने शब्द राखेरै छोड्छु,’ उनले भनिन्, ‘यो शब्द राखेपछि नै म र मजस्तै समुदायको आगामी राजनीतिक यात्रा सरल हुन्छ ।’
No description available.
राप्रपाका धेरैजसो नेता÷कार्यकर्ता राजनतिमा यौनिक अल्पसंख्यकको सहभागिताबारे कुरा उठ्नेबित्तिकै मोनिका शाहीको नाम लिन्छन् ।
मोनिकालाई पनि लाग्छ– पार्टीभित्र मौखिक सम्मानको कुनै कमी छैन । ‘विधानमा नभएपछि मौखिक सम्मानमात्रै भएर पनि के गर्नु ?,’ उनी भन्छिन्, ‘त्यसकारण पहिचानको लडाइँ आफ्नै पार्टीभित्र पनि चलिरहेको छ ।’
पार्टीभित्र आफ्नो पद सुरक्षित गर्न उनले यो मुद्दा उठाएकी भने होइनन् । उनलाई एकता महाधिवेशनमा खुलाबाटै केन्द्रीय सदस्यमा प्रतिष्पर्धा गर्ने धोको थियो । तर, अध्यक्ष थापालगायतका नेताले केन्द्रीय कमिटी सदस्यको लागि उनीलाई सिधै मनोनयन गर्ने आश्वासन दिएकाले उनी प्रतिष्पर्धाको दौडमा भने छैनन् ।
आश्वासनलाई विश्वास गर्ने हो भने पार्टीले गर्ने ५० जना केन्द्रीय सदस्यको मनोनयनमा उनी पनि पर्छिन् ।
पहिचान फेरियो, पार्टी फेरिएन
कैलालीकी मोनिका शाही तीन दशकअघि राप्रपा राजनीतिमा प्रवेश गर्दा पुरूष थिइन् । उनको नाम थियो– मनोज शाही ।
घरपरिवार नै राप्रपामा संलग्न उनको राजनीतिक यात्रा १८ वर्षबाट सुरु भएको थियो । उनले राजतन्त्रको वकालत गरेर राप्रपाको झण्डा बोक्दा माओवादी सशस्त्र जनआन्दोलन उत्कर्षमा थियो ।
राजाको पक्षमा बोल्नेवित्तिकै भौतिक आक्रमणको सम्भावनाको चुनौती मोलेर उनीले निर्धक्क राजाको पक्षमा भाषण दिँदै हिँडेकी थिइन् । नभन्दै माओवादीको फेला पनि परिहालिन् ।
उनी सुनाउँछिन्, ‘एकपटक गाउँनजिकै भएको कार्यक्रममा भाषण गरेर आएको थिएँ । दुई हप्तापछि माओवादी घरमै आइपुगे । समातेर गाउँले भेला भएको ठाउँमा लिएर गए । गाउँलेमाझ गिराउन र पछि जनताले नपत्याउन् भनेर निर्घात कुटपिट गरे ।’
खुट्टामा सुम्ला बस्नेगरि हाने । राजाको पछि लाग्न छोडेर माओवादीमा आउन आग्रह गरे । उनले मुख फर्काएपछि कपाल मुण्डन गरिदिए।
त्यो कारबाही भोगेपछि उनी झन् इखिए । झन् पार्टीमा सक्रिय भएर लागे । त्यतिबेलासम्म उनले आफू अन्य पुरूषभन्दा फरक भएको चाल पाइसकेकी थिइन् । शरीर पुरूषको भएपनि भावना र बानी व्यवहार सबै महिलाको । मेकअप गर्न मन लाग्ने, महिलाको लुगा लगाउन मनपर्ने ।
छोराको लुगा लगाउँदा जिउ नै भारी भएजस्तो लाग्थ्यो । कहिलेकाहीँ दिदीबहिनीको लुगा लुकि–लुकि लगाउँदा भने मन चङ्गा हुने ।
टीकापुरमा एकजना अटो संघका प्रतिनिधि हुनुहुन्छ । उहाँको श्रीमती पनि हुनुहुन्छ । सानै उमेरमा विवाह भएछ । पछिमात्रै आफू समलिंगी पुरुष भएको थाहा पाउनुभएछ ।
‘मुख्य समस्या त शौचालय जाँदा हुन्थ्यो । सार्वजनिक स्थानतिर हुँदा पुरूषको शौचालयमा जानुपर्छ भनेर उनी घन्टौं पिसाब च्यापेरै बस्थेँ’, उनी भन्छिन्, ‘दाइहरूसँग छिमेकीले सोध्दारहेछन्– तिम्रो भाइ हो कि बैनी हो ? दाइहरूसँग नाजवाफ भएको मैले चाल पाइसकेकी थिएँ ।’
आफूले गर्दा परिवारललाई दुःख भइरहेकोजस्तो लागेपछि उनलाई आत्महत्याको सोच पनि निकैपटक आयो ।
घरभित्र र राजनीति दुवैतिर लडाइँ चलिरहेको बेला शाही भने आफूभित्रकै लडाइँमा अल्झिरहेकी थिइन् । अरूभन्दा फरक भएको भन्नेबारे बोध त भइसकेको थियो तर, समाजको अघि खुलेर आउन गाह्रो थियो ।
द्विविधाबीच उनले निर्णय गरिन्, मनोजबाट मोनिका बन्ने । अब कार्यकर्ताले हिजोसम्म सर्ट पाइन्टमा देख्ने मनोजलाई कुर्ता सलवारमा देख्ने भए ।
No description available.
पहिचान नै बदल्ने निर्णय गर्दा उनी पार्टी राजनीतिमा कैलाली जिल्ला कमिटी सदस्य भइसकेकी थिइन् ।
पहिचान बदलिएपछि एकदिन पार्टी अध्यक्ष कमल थापाले कसैसँग भनेछन्, ‘उनी त तेस्रोलिंगी पो रहेछन् । यत्तिका समय यसरी गुम्सिएर बस्नुपरेको देख्दा दुःख लाग्यो ।’
पार्टी अध्यक्षले यत्ति भनेको सुनेपछि खुसीले उनको मुटु धक्क फुल्यो । तर, राजनीतिक रूपमा अध्यक्षको मौखिक बोलीले मात्रै पुगेको छैन उनीर्लाइ । व्यवहारिक पाटोमा अझै धेरै काम बाँकी नै भएको उनको भनाइ छ ।
उनी राजनीतिक रूपमा सक्रिय छिन् । वडा र पालिका हुँदै प्रदेश प्रतिनिधि भएकी हुन् । उसो त पुरुष पहिचान हुँदा नै मोनिकाले राजनीतिमा आफ्नो स्थान बनाइसकेकी थिइन् । त्यसैले पहिचान फेरिनुअघि र पछिको राजनीतिक जीवनमा केही फरक नपरेको उनको अनुभव छ ।
No description available.
‘राजनीतिमा आउनुअघि नै तेस्रोलिंगी महिला थिएँ भने यहाँसम्म आउन ठूलै चुनौती हुन्थ्यो,’ उनले भनिन्, ‘पार्टीमा आफ्नो स्थान बनाइसकेको र मेरो योगदानबारे सबैले नजिकबाट बुझिसकेकाले पहिचान फेरिएपछि पनि केही फरक परेन ।’ उनी कैलाली जिल्लामा राप्रपाको संस्थापक सदस्य पनि हुन् ।
उनको हाउभाउ पहिलादेखि नै महिलाको जस्तो नै थियो । मात्रै भेष र नाम फेरिएको थियो । त्यसकारण पनि पार्टीका अन्य नेता तथा कार्यकर्तालाई उनलाई स्वीकार गर्न गाह्रो नभएको उनको बुझाइ छ ।
अर्को, आफ्नो कुरा स्पष्ट राख्ने र हक अधिकारबारे जानकारी भएका कारण पनि राजनीतिमा पहिचान फेरिएपछि गाह्रोे नभएको उनी बताउँछिन् । ‘राजनीति र कानून बुझेको हुँदा मलाई राजनीतिक जीवनमा पहिचान फेरिएपछिका दिन गाह्रो भएन । झनै उन्मुक्त भएकी छु,’ उनले भनिन् ।
माओवादी, एमाले र कांग्रेसमा पनि उनलाई पार्टी प्रवेशको प्रस्ताव नआएको होइन । पहिचान बदले पनि उनले पार्टी परिवर्तन गर्ने भने गरिनन् । राप्रपा नै किन ? प्रश्न आइरहन्छ । उनी भन्छिन्, ‘राष्ट्रिय स्वाधीनताबारे कुनै पनि पार्टीसँग स्पष्ट भिजन छैन । म राष्ट्रिय स्वाधीनताको पक्षमा छु, त्यसैले राप्रपामा छु ।’
मन्त्री हुने आत्मविश्वास
शाहीलाई राप्रपा सरकार जानेमा जति विश्वास छ, उत्तिकै विश्वास त्यसबेला आफू मन्त्री हुने पनि विश्वास छ । त्यो पदमा पुगेर आफ्नो समुदायका मुद्दाहरू बलियोसँग उठाउने इच्छा पनि छ ।
उनको अहिले पनि मुख्य लडाइँ पहिचानकै हो । अहिले उनीजस्तै तेस्रो लिंगी महिला÷पुरुषले नागरिकतामा परिवर्तित नाम राख्न पाएका छैैनन् । उनको आफ्नै नागरिकतामा नाम मनोज शाही नै छ । मन्त्री भएको खण्डमा उनले हल गर्ने मुद्दा नै लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचानको हो । त्यसबाहेक पनि अनगिन्ती समस्या त छँदै छन् । तर, पहिचानको समस्या हल नभइ अन्य समस्या समाधान नहुने उनको बुझाइ छ ।
पहिचानको लडाइँ
शाहीलाई आफ्नो समुदायका व्यक्तिले एकान्तमा भेट्दा आफ्ना पहिचानका दुःख सुनाउँछन् । कतिपयले खुलेर आफ्नो पहिचान स्वीकार गर्न सकेका छैनन् । कैलालीकै एक व्यक्तिसँगको अनुभव सुनाउँदै उनले भनिन्, ‘टीकापुरमा एकजना अटो संघका प्रतिनिधि हुनुहुन्छ । उहाँको श्रीमती पनि हुनुहुन्छ । सानै उमेरमा विवाह भएछ । पछिमात्रै आफू समलिंगी पुरुष भएको थाहा पाउनुभएछ । श्रीमतीसँग श्रीमानको भूमिका निर्वाह गर्नुपर्ने र बाहिर भने वास्तविक भूमिका निभाउनुपर्दा साह्रै तनाव भएको गुनासो गर्नुभयो ।’
यसरी पहिचान थाहा पाएर पनि समाजको डरले भित्रभित्रै गुम्सिएर बस्नेहरू असंख्य भएको बताउँछिन् उनी । आफू मूलधारको राजनीतिमा पुगेपछि यस्ता मुद्दालाई बुलन्द रूपमा उठाउने उनको धोको छ ।
शाहीको मनमा थुप्रै प्रश्न छन् । नेपालमा दशौं लाखको संख्यामा यौनिक अल्पसंख्यक नागरिक छन् । त्यसमध्ये अधिकांश बेरोजगार छन् ।
‘मेरो लडाइ यहीँबाट सुरु हुन्छ, पार्टीको विधानमा अन्य भन्ने शब्द राखेरै छोड्छु,’ उनले भनिन्, ‘यो शब्द राखेपछि नै म र मजस्तै समुदायको आगामी राजनीतिक यात्रा सरल हुन्छ ।’
‘हामीले नेपालमै जागिर किन नपाउने ? हामीले आफ्नो जीवन साथी वैधानिक ढंगमा किन छान्न नपाउने ? हामीले अवसर किन नपाउने ? आर्मी, प्रहरी या लोकसेवा आयोगजस्ता संस्थामा हाम्रो समुदायले ठाउँ किन नपाउने ?,’ उनी प्रश्न प्रकट गर्छिन् ।
पार्टीमा अहिलेको कदम उनीको पहिलो प्रयास हो । उनीले बुझिसकेकी छिन्, राजनीतिमा नआइ यस्ता समस्या सहजै सम्बोधन हुने छैनन् । उनले बुझेकी छिन्– यी र यस्तै विषयलाई सम्बोधन गर्नै भएपनि उनीलाई मूलधारको राजनीतिमा जसरी पनि आउनु छ ।
प्रकाशित मिति: शनिबार, मंसिर १८, २०७८, १५:५९:००
प्रतिक्रिया