NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

छोराको कौतुहलताले जन्मिएको एग्री नेपाल कौसी खेती

काठमाडौं । लकडाउनमा छोराले दिनहुँ फूल रोपिएको गमलामा पानी हालेको देखेपछि सुनिता नेम्हाफुकीलाई काैतुहलता जाग्यो । उनले यसअघि छोराको यस्तो व्यवहार देखेकी थिइनन् । जब ५ वर्षीय छोरा उड्यम खनालले त्यसको कारण सुनाए, सुनिता अक्क न बक्क भइन् । उनले भनेका थिए, ‘मैले यहाँ ओरियो बिस्कुट रोपेको छु । त्यही फलोस् भनेर पानी हालेको ।’

सुनिता ११ वर्षदेखि एग्री नेपाल नामक संस्थामा आबद्ध छिन् । लकडाउनअघि कृषकलाई उनीहरुको पेशासँग सम्बन्ध राख्ने बिमा, बजारलगायत विभिन्न क्षेत्रसँग सम्पर्क गराउने काम थियो उनको । तर जसै कोरोना संक्रमण फैलिन थाल्यो, सरकारले लकडाउन घोषणा (गत वर्षको चैत ११) गर्‌यो । त्यसअघि खेत–खलियानमा पुगेर कृषकहरुको कुरा सुन्दै आवश्यक परामर्श दिइरहने सुनिता अब बन्द कोठाभित्र सीमित भइन् । अधिकांश समय काममै व्यस्त रहने उनले छोरासँग पर्याप्त समय साट्न पाएकी थिइनन् । यो मौका कोरोना महामारीले जुराइदियो ।

आफू एक दशकभन्दा धेरै कृषि क्षेत्रमा संलग्न भएपनि छोरालाई यति सामान्य कुराको ज्ञान दिन नसकेकोमा भने उनलाई हिनताबोध भयो ।
त्यो दिन सम्झिँदै सुनिता भन्छिन्, ‘हामी वर्षौंदेखि कृषिमा संलग्न छौं । छोराले यति सानो कुरा बुझेकै होला भन्ने लाग्यो । तर ओरियो बिस्कुट बिरुवामा फल्छ भनेपछि त त्यो मेरो लागि समस्या नै बन्यो ।’

पछिल्लोपटक सहरमा जन्मिएका बालबालिका कृषि पेशा र कृषि उत्पादनसँग प्रत्यक्ष साक्षात्कार हुन पाउँदैनन् । कृषि वैज्ञानिक मदन राईले कृषि र बालबालिकाबारे सटिक टिप्पणी गर्दै भनेका छन्, ‘बालबालिकालाई धानबारे पढाउँदा किताबमा भएको चित्र देखाएर हुँदैन, खेतमा लगेर धान नै देखाउनुपर्छ ।’ यही नीतिलाई उनले पनि अंगिकार गरिन् ।

कृषि र बालबालिकालाई प्रत्यक्ष-अप्रत्यक्ष रुपमा जोड्ने जुक्ति निकालिन् । लकडाउनमा उनले बिरुवा र माटो चिनाउने हेतुले बालबालिकाको लागि विभिन्न कृषिजन्य सामग्री उपलब्ध गराउने सोचिन् । ‘त्यो घटनापछि म निकै घोत्लिएँ । अनि गुगल ड्राइभमा १० वटा बिरुवा रोप्न चाहिने सबै सामान जोडेर १५ सय रुपैयाँको प्याकेज बनाएँ ।’ त्यसैबाट उनी आफ्ना साथी र छोरा पढ्ने विद्यालयका शिक्षकसम्म पुगिन् ।

जसले यहाँसम्म पुग्ने सोच दियो, उसैलाई छुटाउने त कुरै भएन । उनले छोरालाई बिरुवा रोप्ने तरिका, उसको जीवनचक्र र फल्ने फलका बारेमा सुनाइन् । छोरालाई नै आलु, अदुवा, सागका बिरुवाहरु रोप्न सिकाइन् ।

व्यवसायले सुरु भएको पहिलो साता नै राम्रो प्रतिक्रिया पायो । आफ्ना साथीभाइबीच कारोबार भएकाले पनि छोटो समयमै व्यवसायमा राम्रो परिणाम देखिएको बताउँछिन्, सुनिता । भन्छिन्, ‘सुरुवातमा हामी आफ्नै गाडीमा सामान लिएर घर-घर जान्थ्यौं । कतिपटक त बाटोमा प्रहरीले घन्टौं रोकिदिन्थ्यो ।’

विस्तारै सुनिताको सोच फैलिँदै गयो । उनले तयार गरेको कृषि सामग्री प्याकेजको माग पनि बढ्न थाल्यो । ‘हामीले वेबसाइट बनाएर अर्डर लिन थाल्यौं । एग्री नेपाल कौसी खेती नामको वेबसाइट तयार गर्‌यौं,’ उनले भनिन् । उनका अनुसार यो कौसी खेतीकै एक अवधारणा थियो । तर यो अन्यजस्तै सामान्य कौसी खेती नभएर बालबालिकालाई माटो र बोटबिरुवासँग प्रत्यक्ष जोड्ने कौसी खेती थियो । सुनिता भन्छिन्, ‘यो सबै गर्नुको कारण बालबालिका र बोटबिरुवाबीच सम्बन्ध स्थापीत होस् भनेर थियो ।’

लकडाउनभर उनको कौसी खेतीको अवधारणा ४ हजार कौसीसम्म पुग्यो । यो यात्रा सम्झँदा अहिले छक्क पर्छिन् उनी । सुरुवातमा सहकर्मीलाई काम लगाउन भएको कठिनाइदेखि प्रहरीले लकडाउनमा बाहिर निस्किएको भनेर घन्टौं सडकमै राखेका घटनाहरु उनको आँखाअघि झलझली आउँछन् । ‘अरुलाई देख्दा मैले गरेको काम त्यत्ति महत्वपूर्ण थिएन । तर बालबालिकाको मनोविज्ञानसँग जोडेर हेर्दा म आफूलाई यो जति महत्वपूर्ण अरु केही होइन जस्तो लाग्छ,’ उनी थप्छिन्, ‘घरमा समय कटाउन नसकेर आजित भएका व्यक्तिलाई वातावरणमुखी काममा केन्द्रित गराउने उद्देश्य पनि थियो यो ।’

उपत्यकाका १० हजार घरमा कम्पोष्ट बिन
सुनिताले लकडाउनमा बालबालिकाको लागि कौसी खेतीको अवधारणाको मात्रै विकास गरिनन् । उनले फोहोरको गाडी नआउँदा घर–घरमा थुप्रिएको फोहोरको समस्या कम गर्न युट्युबमा भिडियोमार्फत सचेत गराउनेदेखि ‘कम्पोष्ट बिन’ घर-घरमा पुर्‌याइन् । ‘लकडाउनमा हामीले उपत्यकाका १० हजार घरमा कम्पोष्ट बिन पुर्‌याएछौं,’ उनले भनिन् ।

घरमै थुनिँदा आजित भएकाहरुलाई उनको कदमले धेरै राहत दियो । घर-घरमा पुग्दा पाउने प्रतिक्रियाले उनलाई काममा कटिबद्ध हुन प्रेरणा दिइरह्यो । ‘घरमा बस्दा-बस्दै पागल भएजस्तै लाग्थ्यो । कौसी खेतीले धेरै सहयोग गर्‌यो । कौसीमा हरियाली देख्दा मनै फुरुंग भएको छ,’ घर-घरबाट पाउने यस्ता प्रतिक्रियाले उनको मन पनि फुरुंग हुन्थ्यो ।

यसरी टोल-टोलमा पुग्दा समस्या नआएको भने होइन । कोरोना संक्रमण फैलने डरले घरधनी र उपभोक्ताहरुले गर्ने व्यवहारले उनीहरुलाई बिझाउँथ्यो । ‘मान्छेहरु कौसीबाटै पैसा फ्याँकिदिन्थे । मेरा स्टाफहरु यसरी पैसा टिप्नुपर्छ, झ्याउ लागिसक्यो भन्दै गुनासो लिएर आउँथे,’ उनले सुनाइन् ।

लगभग सबै क्षेत्र धरासायी बनिरहेको त्यो संकटको अवस्थामा उनको कोसी खेती व्यवसायले भने उल्लेख्य मुनाफा कमायो । लकडाउनपछिको यो एक वर्षमा एग्री नेपाल कौसी खेतीबाट १ करोड रुपैयाँभन्दा माथि कारोबार भएको उनको दाबी छ ।

उनका अनुसार यो अवधारणा लकडाउनमा जस्तै अहिले पनि उत्तिकै प्रभावकारी देखिएको छ । दैनिक १० देखि १५ वटासम्म प्याकेजको माग आइरहेको छ । सुरुवातमा बीउ, मल, ग्रो ब्याग र कोकोपिटबाट सुरु भएको कौसी खेतीमा अहिले सयभन्दा बढी सामग्री समावेश छन् ।

प्रकाशित मिति: बुधबार, चैत ११, २०७७, १२:३७:३५