भारी हिमपातपछि हिउँ पगालेर पानी खान बाध्य

काठमाडौं – दार्चुलाको हिमाली क्षेत्रमा दुई दिन भारी हिमपात भएको छ। बाक्लो हिमपातपछि जनजीवन कष्टकर बनेको छ। व्यासको छाङ्गरुमा रहेका सुरक्षाकर्मीले हिमपातका कारण कष्टकर जीवन बिताउनुपरेको छ। हिमपातले गर्दा कष्टकर जीवन बिताउनुपरेको सुरक्षाकर्मीहरू बताउँछन् ।
‘सशस्त्र प्रहरी गुल्म बाहिर निस्कन सकिने अवस्था छैन,’ एक सुरक्षाकर्मीले भने, ‘हिउँ पग्लाएर पानी खाएर बसेका छौँ, पानी भर्न जान पनि दुई फिट बढी हिउँ जमेको छ, पानीको पाइप पूरै बरफ बनेको छ, पानी खाने विकल्प नभएपछि हिउँ पग्लाएर पानी बनाउँदै पिउँछौँ।’
चिसो अत्यधिक बढेका कारण बिहानदेखि रातिसम्म आगो तापेर दैनिकी बिताउनुपरेको उनीहरूको भनाइ छ । अहिले उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र गाउँमा एक जना चौकीदारमात्रै छन् । पहिल्यैकै हिउँ पग्लिएको थिएन, थप हिउँ परेपछि जाडो ह्वात्तै बढेको छ । गाउँसम्मै बाक्लो हिमपात भएपछि चारैतिर सेताम्य भएको छ । अहिले सशस्त्र बसेको गागाबाट छाङ्गरुसम्म जानै मुस्किलको अवस्था आएको बताइएको छ । यस क्षेत्रमा गत वर्षदेखि सशस्त्र प्रहरी बाह्रैमास बस्न थालेको हो । गत वर्ष पनि यो क्षेत्रमा सशस्त्र प्रहरीले हिउँ पग्लाएरै पानीको प्रयोग गर्नुपरेको थियो ।
जिल्लाको अपिहिमाल, नौगाड, मार्मा, दुहूँ, व्यास र मालिकार्जुन गाउँपालिकाको उच्च भू–भागमा भारी हिमपात भएको छ। राष्ट्रकै सातौँ धाम मालिकार्जुनमा लामो समयपछि भारी हिमपात भएको छ। मालिकार्जुनको मन्दिर क्षेत्रमा परेको हिउँको फोटो अधिकांशले सामाजिक सञ्जालमा शेयर गरेका छन् । स्थानीय गणेशसिंह धामीका अनुसार मालिकार्जुन क्षेत्रको सडक तथा मन्दिर क्षेत्र वरपर हिउँ जमेको छ।
यस्तै नौगाड क्षेत्रमा पनि भारी हिमपात भएको छ। नौगाडको सिप्टी, इयरकोट, दल्लेखलगायतका क्षेत्रमा भारी हिमपात भएको सन्तोषसिंह ठगुन्नाले बताए। हिमपातका कारण अहिले यो क्षेत्रको सडकमा गाडी चलाउनसमेत समस्या भएको छ। सडक हिलाम्ये र चिप्लो भएको छ।
अपिहिमाल गाउँपालिकाको खण्डेश्वरी बजार क्षेत्रसम्म भारी हिमपात भएको छ। हिउँका कारण विद्यालय ढाकिएका छन्। खण्डेश्वरीभन्दा माथिल्लो बस्तीमा एक फिट बढी हिउँ जमेको स्थानीयवासी पोखरसिंह रोकायाले जानकारी दिए। यस क्षेत्रमा स्थानीयवासीलाई घर बाहिर निस्कनसमेत समस्या भएको छ। स्थानीयवासीले हिउँ पग्लाएर पानी खानुपर्ने अवस्था आएको उनले बताए।
प्रकाशित मिति: शुक्रबार, माघ १४, २०७८, १०:३२:००
ताजा अपडेट
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
-
सामसङको ग्यालेक्सी बड्स सार्वजनिक, के छन् विशेषता ?
-
कैलालीमा ‘मेस वायर’ तारजाली निर्माण
प्रतिक्रिया