NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

पत्रकार एलबी विश्वकर्मा मृत्यु प्रकरण : सिभिल अस्पतालमा श्रमजीवी पत्रकार संघको धर्ना

गणेश विक(काठमाडौं) । उपचारमा लापरबाही भएर पत्रकार एलबी विश्वकर्माको मृत्यु भएको घटनाको न्यायिक छानबिन गरी दोषीलाई कारबाहीको माग गर्दै सिभिल अस्पतालमा प्रदर्शन भएको छ ।

श्रमजीवी पत्रकार सङ्घ नेपालले परिवारलाई क्षतिपूर्ति दिनुपर्ने, परिवारलाई रोजगारी दिनुपर्ने र मृतकका छोराछोरीको पठनपाठनको व्यवस्था गर्नुपर्ने माग गर्दै आज आइतबार नयाँवानेश्वरस्थित सिभिल अस्पतालमा एक घण्टा धर्ना दिएको हो।

टिभी टुडे टेलिभिजनमा कार्यरत पत्रकार विश्वकर्माको स्वास्थ्यमा अचानक समस्या देखिएपछि यही माघ ५ गते बुधबार राति ललितपुरस्थित पाटन अस्पताल पु-याइएपछि उपचारकै क्रममा ६ गते बिहीबार बिहान ३ बजे निधन भएको थियो ।

सङ्घले सिभिल अस्पतालले आफू खुसी छानबिन समिति गठन गरेको भन्दै तत्काल खारेज गरी नेपाल मेडिकल काउन्सिलको नेतृत्वमा न्यायिक छानबिन समिति गठन गर्नुपर्ने र पत्रकारलाई सिभिल अस्पतालसहित देशभरका अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्नुपर्ने मागसमेत गरेको अध्यक्ष जन्मदेव जैसीले बताए ।

सङ्घले पत्रकार विश्वकर्माको उपचारमा लापरबाही गरेको भन्दै आन्दोलन गर्दै आएको छ । उपचारका लागि सिभिल अस्पताल पु-याइएका पत्रकार विश्वकर्मालाई कोरोना टेस्ट विना उपचार नहुने भनेर लापरबाही गर्दा उनको मृत्यु भएको सङ्घको भनाइ छ ।

२६ वर्षीय स्व विश्वकर्माका श्रीमती र तीन वर्षीय एक छोरा छन् । अछामको रामारोशन निवासी विश्वकर्मा पछिल्लो समय काठमाडौँमा रही पत्रकारितामा सक्रिय हुन् । उनी टीभी टुडेभन्दा अगाडि इमेज टेलिभिजन, जनता टेलिभिजनमा कार्यरत थिए ।