NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ७ गते

स्वर्गको बगैंचामा व्यवसायीका आँखा

आफूले भोगचलन गर्दै आएको खाली जग्गा व्यापारीका हातमा पो पुग्ने हो कि भन्ने चिन्ताले फर्पिङस्थित त्रिभुवन आदर्श माध्यमिक विद्यालय परिवार तनावमा छ । नेपाल ट्रस्टअन्तर्गतको जग्गामा सञ्चालित सो विद्यालयलाई भोगचलनको जग्गाको भाडा तिर्न वा छाडेर जान ताकेता गरिएको छ । बाँकी रहेको जग्गाचाहिँ आयआर्जन हुने क्षेत्रमा प्रयोग गर्ने भनी ट्रस्टले जनाउ दिएको छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धनारायण मानन्धरले जग्गामा व्यापारीको आँखा परेकै कारण यस्तो ताकेता हुने गरेको दाबी गर्नुभयो । उहाँका अनुसार त्यसका लागि भाडा तिर वा स्थान खाली गरिदेऊ भनेर नेपाल ट्रस्टबाट दुई पटक त पत्र पनि आइसक्यो । ट्रस्टका पदाधिकारी पनि भन्न आइसक्नुभएको छ । बेलाबखतमा फोन पनि आइरहन्छ । उहाँले उल्लेख गर्नुभएको पत्र २०६६ माघ १९ र २०६९ असोज ९ गते लेखिएका हुन् । त्यसयता ट्रस्टबाट मौखिक ताकेता आउने गरेको छ ।

त्रिभुवनद्वारा दान, वीरेन्द्रद्वारा फिर्ता

तत्कालीन राजा त्रिभुवनले नेपाल एकीकरणका योद्धा बहादुर शाहलाई थुनामा राखिएको ‘समर प्यालेस’ त्रिभुवन आदर्श माध्यमिक विद्यालयलाई दान दिनुभएको थियो । गर्मी छल्न राजपरिवार त्यहाँ जाने गरेको सो निजी दरबारलाई ‘स्वर्गको बगैँचा’ नामकरण गरिएको थियो ।

२००८ साल असार २९ गतेको गोरखापत्रमा ‘श्री ५ त्रिभुवनको आदर्श दान’ शीर्षकमा समाचार छापिएको थियो । सोही सालको माघ ४ गते राजा त्रिभुवनले सो विद्यालय उद्घाटन गर्नुभएको थियो । उहाँले कक्षा भवन निर्माणका लागि थप १० हजार रुपियाँ दिनुभएको विद्यालयमा रहेको शिलालेखमा अझै पनि छ ।

करिब ६८ रोपनी जग्गा रहेको विद्यालयका तत्कालीन प्रधानाध्यापक प्रेमबहादुर श्रेष्ठले विद्यार्थीका लागि खेल्ने चौर नभएको गुनासो गरेपछि तत्कालीन राजा महेन्द्रले २०२३ सालमा सो विद्यालयको ठीक सामुन्ने २३ रोपनी १२ आना जग्गा अधिग्रहण गर्न लगाएर विद्यालयलाई प्रदान गर्नुभएको थियो । तर, राजा त्रिभुवनले दानमा दिएको जग्गालाई २०५२ सालमा विद्यालयलाई नै अत्तोपत्तो नदिएर दरबारले राजा वीरेन्द्रको नाममा नामसारी गरेको थियो । राजा त्रिभुवनका निकट पात्र सत्यनारायणबहादुर श्रेष्ठले विद्यालय स्थापना गर्न चाहना राखेपछि राजा त्रिभुवनले सो दरबार दान दिनुभएको थियो । गणतन्त्र स्थापनापछि तत्कालीन राजपरिवारका नाममा रहेका सम्पत्ति नेपाल ट्रस्टअन्तर्गत हुने कानुनी व्यवस्थापछि सो विद्यालयको जग्गा पनि सोही ट्रस्टअन्तर्गत गएको थियो भने विद्यालयअगाडिको चौर अझै विद्यालयकै नाममा छ ।

विद्यालयका पूर्वशिक्षक तथा साबिक फर्पिङ गाउँ विकास समितिका अध्यक्ष शशि शर्माले विद्यालयको जग्गामा धेरैले आँखा गाडेको गुनासो गर्दै भन्नुभयो, “बाजेले दानमा दिएको जग्गामाथि आँखा गाडेकाले राजा वीरेन्द्रलाई पनि राम्रो भएन । अहिले अरूले पनि गाडेका छन् । झुक्याएर वीरेन्द्रको नाममा लगिएको जग्गालाई विद्यालयको नाममा फिर्ता ल्याउनुपर्छ । त्यहाँ विद्यालय भएकाले नेपाल ट्रस्टले खाली जग्गा व्यापारीलाई ठेक्कामा दिएर कमाउन खोज्नु हुँदैन ।”

पद छाड्छु, जग्गा छाड्दिनँ

विद्यालय व्यवस्थापनका अनुसार विद्यालयको खाली जग्गामा दक्षिणकाली नगरपालिकाले पनि आँखा लगाएको छ । स्थानीय घरजग्गा व्यवसायीले विद्यालयको दक्षिणतर्फको जग्गा हुँदै बाटो खोल्न निकै दबाब दिँदै आएका छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानन्धरले खाली जग्गामा नगरपालिकाले भवन निर्माण गर्ने र सो कार्यका लागि विरोध नगर्न नगरपालिकाका पदाधिकारीले पटक–पटक भन्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “पदाधिकारीले निकै दबाब दिएका छन् । मैले बरु म अध्यक्ष पद छाड्न तयार छु तर मेरो कार्यकालमा कुनै पनि हालतमा स्कुलको सम्पत्ति अरू कसैलाई दिन्नँ भनेर जवाफ दिएँ । नेपाल ट्रस्टले पनि भाडामा लगाए स्कुलको अस्तित्व सकिन्छ ।” विद्यालयका शिक्षक आवासगृहलाई अहिले पनि नगरपालिकाले प्रयोगमा ल्याएको छ तर भाडा तिरेको छैन । कुनै समय निकै अब्बल मानिएको त्रिभुवन आदर्श मावि यति बेला आर्थिक समस्याले गाँजिएको छ । विगतमा सरकारले शिक्षक व्यवस्थापन गर्ने गरेकोमा हाल सबै शिक्षक निजी स्रोतबाट व्यवस्थापन गर्नु परेको छ । गोरखापत्रमा खबर छ ।

ताजा अपडेट

नेपालवाच विशेष