NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १८ गते

गरिब तथा जेहेन्दार विद्यार्थीका लागि अक्षयकोष स्थापना

बर्दिया । बर्दियाको बढैयातालका स्वर्गिय पुर्णाखर सुबेदीको नाममा अक्षय कोष स्थापना गरिएको छ । उनकी पत्नी सेतुमाया सुवेदी र छोराहरू कृष्णप्रसाद सुवेदी र अशोक सुवदी, बुहारी सिर्जना घिमिरे र भावना पौड्यालले अक्षयकोष स्थापना गरेका हुन् ।

बिहीबार सुवेदी परिवारद्वारा आयोजित लक्ष्यदीप प्रज्वलन ब्रतबन्ध एवम् आफ्ना सम्पूर्ण स्वर्गिय पितृजनहरूको सम्झनामा गरिएको कार्यक्रममा अक्षयकोष स्थापनाको संकल्प गरेका छन् ।

आफ्ना स्वर्गिय बुवाको नामबाट बढैयाताल गाउँपालिका वडा नम्बर ७ पडरियास्थित नेपाल राष्ट्रिय मावि स्कुलमा अध्ययन गर्ने गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि एकलाख ११ हजार एकसय ११ रुपैयाँको पूर्णखर सुवेदी स्मृति अक्षयकोष स्थापना गरिएको हो ।

सुवेदीका जेठा छोरा कृष्णप्रसाद सुवेदी उक्त विद्यालयका प्रधानाध्यापक पनि हुन् । आफू र आफ्ना भाइबहिनी बाल्यकालमा पढेको स्कुल र बुवाले नै स्कुलको रेखदेख गरेका कारण पनि अक्षयकोष स्थापना गरिएको उनले बताए ।

बुवाको इच्छा विद्यालयका लागि योगदान गर्ने भएकाले मृत्युपछि आफूहरूले उक्त अक्षयकोष स्थापना गरेको उनको भनाइ छ ।

यस्तै विद्यालयका सहायक प्रधानाध्यापक विष्णु गौतमले विद्यालयको लागि अक्षयकोष स्थापना गरेकोमा कृष्णप्रसाद सुवेदी र उनका भाइ अशोक सुवेदी लगायतलाई विद्यालयका तर्फबाट धन्यवाद दिएका छन् ।