NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

विदेशबाट फर्केर गाउँमै व्यावसायिक कृषिमा म्याग्दीका युवा

गलेश्वर । दश वर्षको जापान बसाइलाई बिट मारेर आफ्नै देशमा फर्किएका म्याग्दीको मङ्गला गाउँपालिकाका कृष्ण पौडेल, १६ वर्ष मलेसिया बसेर गाउँ फर्किएका बेनी नगरपालिका २ का ध्रुव थापा, लामो समय कोरियामा रोजगारी गरेएका डडुवाका कृष्ण बानियाँ स्वदेश फर्केर व्यावसायिक कृषिमा लागेका छन् । लामो समयसम्म विदेशमा काम गरी कमाएको पैसा गाउँमा नै कृषि क्षेत्रमा लगानी गरेर मनग्य आम्दानी गर्न म्याग्देली युवाहरु सफल भएका छन् ।

विदेशबाट फर्केका युवाहरु आधुनिक प्रविधि र साधन स्रोतको प्रयोग गरी व्यावसायिक रुपमा नै कृषिमा लागेपछि गाउँमा रहेका युवाहरु पनि कृषि पेशाप्रति आकर्षित भएका छन् ।

जिल्लाका बेनी नगरपालिका सहित ६ वटै स्थानीय तहहरुमा पछिल्लो समय व्यावसायिक कृषि फस्टाउँदै गएको स्थानीय तहका कृषि प्राविधिकहरुले बताएका छन् । विगत दुईवर्ष यता म्याग्दीमा २८ जना युवाहरु विदेशबाट फर्केर व्यावसायिक कृषिमा लागेका छन् । ती मध्येका एक हुन् मङ्गला गाउँपालिकाका कृष्ण पौडेल ।

जापानमा १० वर्ष बिताएका मंगला गाउँपालिका– २, तल्लो डडुवाका युवा पौडेलले व्यावसायिक रुपमा कृषि तथा पशुपालन गरेका छन् । परम्परागत शैलीको खेती र पशुपालनलाई विस्थापित गर्दै लकडाउनको समयमा कृषि र पशुपालनलाई व्यावसायिक आम्दानीको स्रोतको रूपमा अघि बढाएका छन् ।

टिकेवी बहुउद्देश्यीय पशुपालन तथा कृषि फार्मबाट मकै, कोदो खेती रहेको बारीलाई विस्थापित गरेर चारसय सुन्तला लगाएको छ भने करिब दुई सय बोटबाट यस वर्ष दाना उत्पादन भएको कृषक पौडेलले बताए । गत वर्ष उत्पादन भएका सुन्तला काठमाण्डौं पुर्याएका कृषक पौडेलले यस वर्ष उत्पादन भएका सुन्तला पोखरा पुर्याउन व्यापारी घरमै आएपछि कृषक पौडेल खुसी छन् । गत वर्ष सुन्तला खेतीबाट करिव एकलाख आम्दानी गरेका पौडेलको यस वर्ष आम्दानी बढ्ने अनुमान छ । सुन्तला उत्पादन वर्षैपिच्छे नयाँ बोटहरुमा फल्र्दै गएपछि आम्दानी पनि बढेको छ ।

मकै कोदोलगायतको खेतीलाई विस्थापित गरेर सुन्तलासँगै गोलभेंडा, बन्दा काउलीलगायतको तरकारी खेतीबाट मात्रै मासिक रुपमा रु. १५ हजारभन्दा बढी आम्दानी गरेका छन् । पौडेलले फलफूल तथा तरकारी खेतीलाई आवश्यक फलका लागि व्यावसायिक रूपमा उन्नत जातका बाख्रापालन गरेका छन् ।

करिब २० लाख लगानीमा विगत २ वर्षदेखि ४० वटा उन्नत जातका बोयर र स्थानीय बाख्रापालन गरेको उनले बताए । क्रस बोयर पाठापाठी उत्पादन गरेर बिक्री गर्ने योजनासहित आधुनिक किसिमको खोर निर्माण गरेको कृषक पौडेलको भनाइ रहेको छ ।

उनको व्यावसायिक कृषि तथा पशु फार्मलाई व्यवस्थित गर्न मङ्गला गाउँपालिकाले रु २ लाख सहयोग गरेको छ भने भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट घाँस काट्ने उपकरण अनुदान पाएका छन् ।

पौडेलले एक जनालाई रोजगारी दिएको छ भने बुवा तेजराज र आमा टीकाकुमारी पौडेलले पनि सहयोग गरेका छन् । स्थानीय सरकारले घर नजिक कृषि सडक पुर्याएपछि कृषकले उत्पादन गरेको तरकारी तथा फलफूल र खशी बोका बिक्रीका लागि बजार पठाउन सहज भएको छ ।

त्यसैगरी, बेनी नगरपालिका–२, ज्यामरुककोटका ध्रुव थापाले पनि १६ वर्ष मलेसियामा बसेर गाउँ फर्केपछि गरेको व्यावसायिक तरकारी खेतीले उनको जीवनमा हरियाली फर्काएको छ । तरकारी बेचेर मात्रै मासिक ५० हजारभन्दा बढी आम्दानी गर्दै आएका थापाले करिब ७ रोपनी बारीमा मौसमी र बेमौसमी प्रजातिका विभिन्न तरकारीहरु लगाएका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष