NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

आमाले गाडेको खाँबो

‘आधा रात भएको थियो, सारा गाउँ चकमन्न । सबै निदाएका थिए, थकाइ त मलाई थियो, तर, मन बेचैन थियो । अगेनोमा सल्किदै गरेको राँको जस्तै पोलेको जस्तो छटपटी थियो छातिमा । हुरहुरी बलेको राँको बाहिर आँगनमा निकालें । तिमीहरू र कुम्लोकुटुरो बाहिर निकालें । अनि भारी मनले सुन्दर डाँडाको ठूलो घरको ढोका बन्द गरें । भारीमा पोका पन्तेरासँगै तँलाई बोकें । तेरा तीनै जना दाजुहरुले एक–एक वटा कुम्लो बोके । मेरै पुराना परियामा बनाएको कुम्लोमा बाटोको लागि चाहिने खाजा फाँको थियो । पुराना फरिया, थाङ्ना भोगटाकै ओढ्ने–ओछ्याउने बनाएको थिएँ, त्यो पनि मैले बोक्ने डोकोमा खाँदेका थिएँ । अँध्यारोमा खसेको आँसु कसले देख्थ्यो र ! चोलो भिजाउँदै म बेटुंगोको यात्रामा निक्केको थिएँ । त्यो रात मलाई बाटो देखाउने त्यही दुई मुठा राँको थियो ।’

म ठूली भएपछि एकदिन आमाले यसरी कथा सुनाउन भयो । कथा भन्न थाल्दा म उहाँलाई हेर्न नसकेर भुईतिर आँखा गाडिरहेको थिएँ । मध्ये रातमा घरबाट शौचका लागि बाहिर निस्कन पनि डर लाग्ने उमेरमा घर कसरी छोडेको होला ? उहाँ कथा सुनाउँदै जानु भयो ।

हामी अन्जान यात्रीहरु ! त्यो यात्राको कमान्डर मेरी आमा । घरदेखि तलको ओरालो बाटो रुँदै हिड्नु भएछ । महिलालाई कमजोर ठान्ने समाजको मान्यतालाई आमाले दह्रो झापड दिनुभएछ । जसले चार छोराछोरीलाई साथ लिएर कहाँ जाने ? कहाँ बस्ने ? खानेको ठेगान नभए पनि हिम्मत गरेर कुनै ठाउँमा छोराछोरीलाई पालेर हुर्काउने वाचा गरेर निस्कनु भएछ । चंखुको जयन्तिपुर डाँडा सानो उपत्यका जस्तो गाउँ । शेर्पा, नेवार र तामाङहरुको बाक्लो बस्ती । बस्तीको बीच–बीचमा नेवारको ठूलो घर । त्यही रहेछ हाम्रो पुरानो घर ।

आज म जे छु, आमाको संघर्ष, माया, रेखदेखकै कारण छु । समाजमा शिर उठाएर हिड्ने इख, इज्जत र सामथ्र्य मैले आमाबाटै पाएको हुँ । मेरा लागि मेरी आमा एक वीराङ्गना हो । उहाँलाई सधैं नमन गर्छु

\दुर्गावहादुर श्रेष्ठको खानदान । जमिनदारको छोराहरु मध्ये मेरी आमा ठुलीकान्छी बुहारी बनेर आउनु भएछ । आमालाई बाबाले निकै महिना कुरेर मागी विवाह गर्नुभएको रहेछ । आमाको कोखबाट तीन छोरा जन्मिए, खानदानमै खुसी छाएछ । बाबा गाउँघरको जान्ने र गन्ने झाँक्री हुनुहुँदोरहेछ । झारफुक गरेर गाउँका मान्छेले धेरै माया गर्ने र विस्तारै गाउँतिर समय बिताउन थाल्नु भएछ । आफ्नो घर, श्रीमती र छोराहरुको बारेमा विस्तारै चासो दिन छाड्नुभएछ । बाबाको बाहिर अर्की महिलासँग हिमजिम बढेको थाहा पाएर आमाले बाबालाई निकै सम्झाउनु भएछ । तर बाबाले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनु भएन । केही वर्ष दुख पीडा सहेर संघर्ष गर्नुभएछ । तर सही नसक्नु भएपछि त्यो ठाउँ आफ्नो श्रीमान्, सम्पत्ति, छरछिमेक, नातागोताहरू सबैलाई माया मारेर परदेश जाने निधो गर्नुभएछ । उहाँको त्यही निर्णयले मध्यरात घर छोड्ने आँट दिएको रहेछ ।

एक अबोध महिला । छोराछोरी साथमा लिएर जाने ठाउँ र बस्ने ठाउँको कुनै ठेगान छैन । कसरी जीवन चलाउने ? कहाँ लैजाने ? आमाको मनमा छटपटी थियो, तर हामी बच्चाहरुलाई के थाहा आमाको पीडा ! तर पनि आमाले साहस गरेर यात्रालाई अघि बढाउनुभएछ । घरदेखि ओरालो बाटो सकिएपछि खोलै खोलाको बाटो हिंडिरहँदा कति पटक त छोराछोरीलाई च्यापेर खोलामा हाम फालेर मरौं कि भन्ने पनि सोच्नुभएछ । तर आँट र साहसले काम गरेर होला आज हामीले संसार देख्न पाएका छौं ।

गुमुखोला पारी ठूलीआमाकोमा पुग्दा रात छिचोलिन लागेको रहेछ, केही घण्टा त्यही बिसौंनी मार्नु भएछ । तर चार जाना छोराछोरी लिएर अर्कासँग आफन्तकहाँ आश्रय लिन संभव थिएन । गुमखोलाबाट उकालो लाग्नु भएछ । झ्याकु सेराकाप्ती हुँदै हनुमन्ते डाँडा बीचको जङ्गलमा पुगेर आमाले एकछिन रोकिएर प्रकृतिलाई ढोग्नु भएछ । आमा भन्नुहुन्थ्यो, ‘पाखा पखेरी, चराचुरुङ्गीलाई साक्षी राखेर मैले तिमीहरु चार सन्तानलाई हुर्काउने कसम खाएँ । प्रकृतिलाई पुकारा गरें, हे प्रकृति माता ! म जहाँ पुगेर रोकिउँला, खाँबो गाडुँला, तिम्रै काखमा हुनेछु । तिमीले यी फूलहरुलाई जसरी पनि हुर्काउँछौ, यी चराहरुलाई आश्रय दिन्छौ, म र मेरा नानीहरुलाई पनि त्यसरी नै जीवन दिनु, सुरक्षा दिनु । तिम्रै काखमा अब मेरा नानीहरु हुर्किउन् । हाम्रो जीवन तिम्रो काखमा छोडेका छौं । रक्षा गर ।’

प्रकृतिलाई पुकारा गरें, हे प्रकृति माता ! म जहाँ पुगेर रोकिउँला, खाँबो गाडुँला, तिम्रै काखमा हुनेछु । तिमीले यी फूलहरुलाई जसरी पनि हुर्काउँछौ, यी चराहरुलाई आश्रय दिन्छौ, म र मेरा नानीहरुलाई पनि त्यसरी नै जीवन दिनु, सुरक्षा दिनु । तिम्रै काखमा अब मेरा नानीहरु हुर्किउन् । हाम्रो जीवन तिम्रो काखमा छोडेका छौं । रक्षा गर’

आमाले डोकोमा बोकेको पिठो सामल बाटोभरी खुवाउँदै–हिडाउँदै हामीलाई जिरी हाटडाँडा पुर्‍याएर थाप्लोको भारी बिसाउनु भएछ । त्यतिबेला जिरी हाटडाँडा, लिङ्कन बजार दोलखाको दोस्रो शहर मानिने रहेछ । जिरी सबै पूर्वी जिल्ला जाने मुल नाका नै रहेछ ।

आमाको बोक्नुभएको डोकोमा रमाउँदै, हाँस्दै, नाच्दै, रुँदै जिरी पुगेकी म । बोली नफुटेकी अवोध बालिकालाई के थाहा आमाको मनको ताप ? आमाले त्यही एउटा झुपडी बनाएर हाम्रो सारा गुजारा चलाउन थाल्नु भएछ । झुपडी उभिएपछि आमाले यो पृथ्वी नै चक्कार मारेको अनुभव गर्नु भयो रे । नयाँ घरमा चारै जना छोराछोरी वरिपरी राखेर बस्दा आफुलाई भाग्यमानी ठान्नुभएछ ।

म ठूली हुदै जाँदा अलिअलि याद हुँदै जाँदा अरुहरुको मुखबाट सुन्थें– ‘यी त देवी हुन्, यिनको आँटलाई मान्नुपर्छ ।’ हुन पनि हो । यदि आमाको ठाउँमा बाबा भएको भए महिना त के हप्ता दिन पनि टिक्न सक्ने थिएन होला । महिला कमजोर र अवला हुन्छ भन्ने सोचलाई मानिसको मन दिमागवाट हटाउन सफल भइन मेरी आमा ! लभ यु, मिस यु आमा !

जिरी हाटडाँडा, लिङ्कन निकै आकर्षक छ । जिरीलाई नेपालको स्वीट्जरल्यान्ड भनेर पनि चिनिन्छ । पानी पर्दा हिउँ झर्दा र बादलुले ढाकिँदा जिरी अझ मनमोहक हुन्छ । विभिन्न जातजातिहरुको बसोबासले अझै सिंगारिएको हुन्छ । हाटडाँडा भन्दा माथि वुलडाँडा । हाम्रो गाउँतिरको छिमेकीहरु पनि त्यता आएर बसेका रहेछन् । वुलडाँडा र हाटडाँडाको विचमा केही भिरालो ठाउँमा हाम्रो झुपडी थियो । आमाको मायाले उभिएको त्यो झुपडी दरवारभन्दा कयौं गुणा आकर्षक र आनन्दको थियो । हाम्रो वरिपरि अरु झुपडीहरु पनि थिए ।

बस्ने घर मिल्या तर के खुवाएर केटाकेटी पाल्ने ? आमालाई फेरि, चिन्ताले खान थाल्यो । म त के जान्नु र, आमाको दूध खाना पाए पुग्थ्यो मलाई । आमा कामको खोजीमा भौतिरिनु भएछ । त्यो बेला जेठो र माइलो दाजुहरु पनि केही काम गर्न सक्ने उमेरका हुनुहुँदो रहेछ । मौकाले जिरी चरिकोट सडक खन्ने काम शुरु भएको रहेछ । आमा र दाईहरुले बाटो खन्न थाल्नु भयो । त्यहीबाट चामल, दाल, तेल र मैदाको पिठो घरमा टनाटन भयो । अनि खानाको दुख भएन ।

त्यो न्यानो आमाको छाती झै आनन्द र गर्विलो लाग्ने ठाउँ साँच्चै रमणीय थियो । वरिपरि सल्लाका रुख । होचा–होचा बिरुवा, हामी जस्तै हुर्किन बाँकी रहेका । त्यही जंगलबाट ल्याएर आमाले गाडेको घरको खाँबो मलाई निकै मन पथ्र्यो । ती बिरुवा हामीभन्दा खुब अनुशासित लाग्थ्यो, सँधै आफ्नै ठाउँमा ज्ञानी भएर उभिइरहने । नयाँ पालुवा आउँदै गरेको लालीगुराँस, आरुका बिरुवा लगायत थुप्रै थरी फूलहरु ढपक्कै फूलिरहेका हुन्थे । वरिपरि तलमाथि जिरेल, तामाङ, शेर्पा, कामी, दमाई, क्षेत्री, बाहुन सबै थरीका जातिहरूको बसोबास थियो । जिरी सडक बनेपछि हल्का गाडीहरू गुड्न थाल्यो । मानिसहरू गाडी देखेर दङ्ग परें ।

आमाले जुटाउनु भएको सामलतामल हामी चाहिँ रमाउदै खान्थ्यौं । आमालाई बाँकी नरहे पनि हामीलाई के फरक पर्छ र खालि हामी त खानाको लागि मात्रै जन्मे झैं लाग्थ्यो । आमा दाजुहरु रोडमा काम गरेर खाना जुटाउनु हुन्थ्यो । मलाई धेरै कुराहरु त याद छैन । म त कस्तो थिएँ ? कत्रो थिए ? भन्ने पनि थाहा छैन ।

केही वर्षपछि ठूलो दाइ गाउँ फर्कनु भएछ । माहिला दाइ शहर पस्नु भएछ । केही वर्षपछि फेरि कान्छो दाइ पनि गाउँ नै जानु भएपछि त्यो झुपडीमा आमा र म मात्रै बस्न थाल्यौं । आमा सधैं बाहिरको काममा जानुहुन्थ्यो । म एक्लै बस्नुपर्ने, कति वेला साँझ पर्ला र आमा घर आउनु होला भनेर बाटो हेरिबस्थें ।

आमाको मेहनतले घर भरी दाल, चामल र आलु प्रसस्तै हुन्थ्यो । हुर्किदै गएपछि म आमाको कमाईमा म राज गर्थें । साथीहरू जम्मा गर्‍यो, घरमा भएको खानेकुरा बनायो र उनीहरुलाई खुवाउन खुव मन पर्ने मलाई । गाउँ घरमा दाजुहरुको के छ खवर थाहै हुन्नथ्यो । हाम्रो खुशी खोस्ने सानीआमा र बाबाबारे पनि केही थाहा थिएन । सानीआमाले पनि एउटा छोरा पाएको कुरा पछि थाहा पायौं । अलिपछिदेखि गाउँघरतिरका मान्छेहरु आएर हाम्रो झुपडीमा बास बस्न थाले । गाउँका मानिस आउँदा आमाले खुब खुसी हुँदै मायाले खाना खुवाउनुहुन्थ्यो । आउनेहरू आमाको चर्चा र प्रशंसा गर्थे । आमाको प्रशंसा गरेको सुन्दा मलाई आनन्द आउँथ्यो ।

मैले अलिक थाहा पाउने आमा र म मात्रै थियौं झुपडीमा । आमा कहिले दाउरा खोज्ने । कहिले रोडको काम । कहिले मकै, कोदो, आलु र धान रोप्ने काममा व्यस्त हुनुहुन्थ्यो । घरमा आमा आउने वेला म साथीहरू बटुलेर खाजा बनाएर खुवाउने काम गर्थें । मेरो व्यवहारदेखि आमा खुशी हुनुहुन्थ्यो । आमा साह्रै हिम्मतवाली, परिश्रमी भएर होला कोहीदेखि डराउनु हुन्नथ्यो ।

त्यहीबेला हाम्री आमाले महिलामाथि हुने विभेद, अन्यायमाथि ठूलो विद्रोह गर्नुभएको रहेछ

अहिले सम्झन्छु, आमा कमजोर हुनुहुन्थ्यो भने हामीले कति दुःख र अपमान सहनु पथ्र्याे होला । आमाले सबैलाई दया–मायाको भावनाले हेर्नुहुन्थ्यो । चित्त नवुझेपछि फेरि आमाको रिस शान्त हुन निकै समय लाग्थ्यो । जीवनको सर्वश्व खुसी, सहारा मानेर आएको श्रीमानले धोका दिंदा मनभरी कति पिडा थियो होला, तर आमा बाहिर देखाउनु हुन्नथ्यो ।

हरेक घरमा श्रीमती, छोरी र बुहारीहरूले त्यो असमानता र हिंसा व्यहोर्नु परेको छ । महिला माथि हुने हिंसा सहन नसकेर कति महिलाले ज्यान गुमाउन बाध्य भएका छन् । त्यहीबेला हाम्री आमाले महिलामाथि हुने विभेद, अन्यायमाथि ठूलो विद्रोह गर्नुभएको रहेछ ।

म आमाबिना एकपल पनि बस्न सक्दिन थिएँ, आमाको पुच्छर हुन्थें म । तर, सबैतिर सँगै लान मिल्दैनथ्यो होला, आमाको एक झपाराईमा म घरमै थन्किन्थें ।

साथीहरूसँग खेल्ने क्रममा जुत्ता चप्पल हराउने अनि आफैं रुँदै घर आएर आमालाई फकाउनु र घुर्कि लगाउनु मेरो दैनिकी हुन्थ्यो । मेरो खराब बानीले आमाको गाली र पिटाइ मज्जाले खान्थें । मैले चाहेको कुरा जसरी पनि हुनुपर्ने नत्र राति आमाको पटुकीबाट पैसा चोर्थें । तर त्यो बेला मलाई जम्मा पाँच रुपैया भए पुग्थ्यो । पाँच रुपियाँले त्यतिवेला दुनोट, जेरी मज्जाले खान्थ्यौं । मलाई चक्लेट मकैसरी खानुपर्ने । अलिक ठूली भएपछि भने पैसा चोर्न छाडें ।

आज म जे छु, आमाको संघर्ष, माया, रेखदेखकै कारण छु । समाजमा शिर उठाएर हिड्ने इख, इज्जत र सामथ्र्य मैले आमाबाटै पाएको हुँ । मेरा लागि मेरी आमा एक वीराङ्गना हो । उहाँलाई सँधै नमन गर्छु ।