NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

पर्वतका डाँडामा हिउँ खेल्नेको लर्को

पर्वत। गएको बिहीबार रातिदेखि परेको भारी हिमपातले पर्वतका अग्ला डाँडा सेताम्मे बनेका छन् । जिल्लाको लेखफाँट, शालिजा, बनौं, भुकताङ्ले, देउपुर, पञ्चासे, डहरेदेउराली, क्याङ, चिसापानी, गोल्र्याङलगायत ठाउँमा भारी हिमपात भएको छ ।

शुक्रबार दिनभरजसो वर्षा र हिमपात भयो । शनिबार बिहानदेखि मौसममा सुधार आएसँगै हिउँ खेल्न जानेको लर्को नै लागेको छ ।

सदरमुकाम र आसपासका गाउँदेखि हिउँ खेल्न आउनेको लर्को नै लागेको स्थानीयवासीले बताएका छन् । कतिपय आफ्नै सवारीसाधन लिएर त कतिपय गाडी रिजर्व नै गरेर भए पनि हिउँ खेल्न आएको जलजला गाउँपालिका–९ बनौंका वडाध्यक्ष गौबहादुर पुनले जानकारी दिए ।

उनका अनुसार शनिबार बनौमा मात्रै सयाैं सवारीसाधनमा मानिस हिउँ खेल्न आएका थिए । यो हिउँ झण्डै एक सातासम्म नपग्लने भएकाले खेल्न आउनेको सङ्ख्या अझै बढ्ने उनको भनाइ छ ।

शनिबार बिदाको दिन परेकाले हिउँ खेल्न आउनेको सङ्ख्या अत्यधिक रहेको पुनले बताए ।

त्यस्तै लेखफाँटको फलामेडाँडा, क्याङको हलहले, पञ्चासे क्षेत्रमा पनि आसपासका गाउँ र सदरमुकाम कुश्मा, बागलुङ तथा पोखराबाट समेत हिउँ खेल्नका लागि आउनेको सङ्ख्या उल्लेख्य रहेको थियो ।

हिउँ खेल्ने, तस्बिर खिचाउने र टिकटक बनाउने पारखी बढी मात्रामा हिउँ खेल्न गएको स्थानीय बुद्ध पुनले जानकारी दिए । सामाजिक सञ्जालमा समेत हिउँ खेलेका तस्बिर र टिकटकले भरिएको पाइएको छ । यहाँ हरेक वर्ष उच्च पहाडी भेगमा हिउँ पर्ने गर्दछ ।

वर्षमा एकपटक मात्र हिउँ पर्ने भएकाले पनि हिउँ खेल्न जानेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष