NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

जनयुद्धकी परी, नगरबासीकी छोरी !

बर्दिया । बारबर्दिया नगरपालिकाकी उपमेयर अञ्जु दहितलाई अब हुने स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले मेयरका रूपमा अघि सार्ने चर्चा स्थानीयस्तरमा सुरु भइसकेको छ ।

नहोस् पनि किन, अघिल्लो निर्वाचनमै जिल्ला पार्टीले उनलाई मेयरका लागि सिफारिस गरेको हो । तर स्थानीयस्तरमा सन्तुलन मिलाउन उनी उपमेयर बन्न राजी भइन् ।

‘पार्टीको निर्णय नै सर्बोपरि हुनेछ’, अञ्जु भन्छिन्, ‘टिकट पाएँ भने मैले नजित्ने कुनै कारण छैन । यो अवधिभर मैले गरेका काम पार्टीले पनि मूल्यांकन गरेको होला ।’

अञ्जुका पछिल्ला काम त भइहाल्यो, विगत जनयुद्धमा उनले निर्वाह गरेको भूमिका पनि कम साहसी र गौरवपूर्ण छैन । जनयुद्धकी परी नै थिइन् उनी ।

जनयुद्धकी परी

यो त्यति बेलाको प्रसंग हो, जब उनी मात्र १२ वर्षकी थिइन् । ०५२ सालताका गाउँका ठूला–बडा र पाकाहरू ‘माओवादीले युद्ध थाल्यो रे’ भन्दै बात् मार्थे ।

बस्तीमा एक किसिमको सन्नाटा छाउँथ्यो । गाउँकै केही युवा मृत्यु वा मुक्तिका कुरा गर्न हौसिएका थिए । तर बालापनमै रमाइरहेकी अञ्जुका लागि ‘दीर्घकालीन जनयुद्धको बाटोमा लामबद्ध होऔं’लगायतका माओवादी नारा भेउ पाउन मुस्किल थियो ।

जब रात पथ्र्यो, अञ्जुसहितका टोली हातमा रंगरोगन बोकेर नारा लेख्दै भित्तो रंगाउन कस्सिन्थ्यो । अञ्जु माक्र्सवाद, लेनिनवाद, माओवादका नारा पेन्टिङ गर्थिन् । नारा लेखे पनि उनलाई त्यसको अर्थबोध थिएन । लहैलहैको रोमाञ्चक यात्रा थियो त्यो

उत्पीडित र पिछडिएका वर्गको मुक्तिको नारालाई मूल रूपमा उठाएको माओवादीले थारू समुदायमा रातारात प्रभाव छाड्यो । विशेषतः युवावयका थारू शोषणमुक्त जीवनको सपनाले उद्धेलित भए । उनीहरु राति–राति क्रान्तिकारी माओवादी र दिउँसो सोझासाधा किसान थिए ।

सो कुराको मेसो अञ्जुले तब पाइन् जब गाउँकै कृष्ण थारूले एक दिन उनलाई ‘वाल पेन्ट’ गरिदिन सहयोग मागे ।

अब अञ्जुको दैनिकी फेरियो । जब रात पथ्र्यो, अञ्जुसहितका टोली हातमा रंगरोगन बोकेर नारा लेख्दै भित्तो रंगाउन कस्सिन्थ्यो । अञ्जु माक्र्सवाद, लेनिनवाद, माओवादका नारा पेन्टिङ गर्थिन् । नारा लेखे पनि उनलाई त्यसको अर्थबोध थिएन । लहैलहैको रोमाञ्चक यात्रा थियो त्यो । आफ्ना अक्षर कुँदिएको देख्दा उनी दंग पर्थिन् । मान्छेहरू खासखुस गर्थे– माओवादी आएछन्, अब के–के हुने हो !

आफूले अनायासै लेखेका नाराले पूरा गाउँ तरंगित हुन थालेपछि अञ्जु सोचमग्न हुन थालिन् । आखिर के हो यो जनयुद्ध, को हुन् माओवादी ? भन्ने प्रश्न उनको मानसपटलमा घुम्न थाल्यो । यही प्रश्नको उत्तर खोज्दै जाँदा उनको माओवादी यात्रा विधिवत् रूपमा शुरू भयो, कलाकारका रूपमा ।

गोरो वर्ण, छरितो जिउडाल, छिनेको कम्मर, डिम्पलवाला गाला अनि मोहनी मुस्कानकी धनी अञ्जु कलाकारको पहिरनमा परीसरि देखिन्थिन् । मञ्चमा उनको प्रस्तुतिले दर्शकलाई जुरुक्कै पाथ्र्यो र लुकी–लुकी ठाउँ–ठाउँमा पुगेर सांस्कृतिक कार्यक्रम देखाउँदा–देखाउँदै उनमा माओवादको अमिट छाप पर्यो । उनका लागि माओवाद अब रोमाञ्चक लहड रहेन, ‘हारे हतकडी जिते संसार’ को भीष्म प्रतिज्ञा भयो । प्रहरीसँगको लुकामारी दिनचर्या बन्यो ।

प्रहरीको धरपकडका कारण माओवादी नेता कार्यकर्ता मारिने, पक्राउ पर्ने र पलायन हुने परिस्थिति एकातिर थियो भने अर्कातिर दमनविरुद्ध प्रतिरोधको मनोविज्ञान पनि पैदा भएको थियो । यसै मेसोमा बाध्यता नै सही, अञ्जुले गाउँका आफूभन्दा पाकालाई राजनीतिक कुरा अर्थाउन थालिन् ।

अञ्जु टोलीसहित आफ्ना छिमेकी र आफन्तकोमा जान्थिन् । सुराकीको डरले बाहिर जान डर थियो । उनले ‘सामन्ती सत्ताको विरोध, सर्वहाराको उन्मुक्तिलगायतका चोटिला मुद्दाले आफन्त र छिमेकीको मन जितिन् । माओवादीले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमले उत्पीडि़त समुदायलाई थप आकर्षित बनाउन थाल्यो ।

‘जुरुक्कै बनाउने गीत संगीत र जनताको दैैनिक जीवनसँग जोडिएका मुद्दाकै कारण जनयुद्धका पक्षमा जनलहर उर्लिदै गयो,’ अन्जु सम्झिन्छिन् ।

आफन्त र छिमेकीमा सीमित अञ्जुको वैचारिक राजनीति भेल गतिमा फैलँदो थियो । उनी अग्रगामी छलाङ अभियानका लागि दैलेख, जाजरकोट, अछाम, सुर्खेतलगायत पहाडी भूगोल पनि पुगिन् । सेनाको घेराबन्दीमा परिन । पाँच दिनसम्म पानीसमेत नखाइ भारतीय जंगलमा लुकेर बस्नुपर्यो । तर हतास भइनन् ।

हुर्के बढेकी छोरी, राज्यको निगरानीमा रहेको माओवादी पार्टीको संगठन बनाउँदै हिँडेको देख्दा घर परिवार भने त्रसित थिए । भन्थे, ‘अब मरिहाल्छौं ।’

परिवारसामु अञ्जु अड्डी कस्थिन्, ‘मरे पनि मरौंला । तर, लक्ष्य प्राप्ति गरेरै छाडिन्छ ।’

कमलरी, बुक्रही र कमैयामाथि हुने शोषणका कारण जमिन्दारप्रति आक्रोश थियो । सोही आक्रोशलाई अञ्जुले संगठन विस्तारका लागि ऊर्जाका रूपमा प्रयोग गरिन । उनी गरिबका घरघर पुग्थिन् । र, भोलिको साम्यवादी सत्ताको सरोबरी समाजको सपना कहन्थिन् ।

डन्डीवाल साइकलमा वायुको गतिमा उनी एक गाउँबाट अर्को गाउँ निमेषभरमा पुग्थिन् । झट्ट हेर्दा शहरिया खानदानमा सुखसयलमा हुर्केकी सुकोमल किशोरीजस्ती देखिने अञ्जुले जब शोषणविरुद्ध आगो ओकल्थिन्, सुन्नेहरू अवाक् हुन्थे ।

केन्द्रमा आउनै १६ वर्ष

युद्धको राप र तापका कारण उनी छोटो अवधिमै प्रदेश तहकी नेत्री भइन् । ०६२ सालमा माओवादी थारूवान् प्रदेश सदस्य भइन् ।

जसै ०६२ सालमा माओवादी शान्ति प्रक्रियामा आयो, अञ्जुको राजनीतिक बेग पनि तुलनात्मक रूपमा सुस्तायो । प्रदेशबाट केन्द्रमा पुग्न नै अञ्जुलाई १६ वर्ष लाग्यो ।

रूपा चौधरी, रामकुमारी थारू, कुष्मा थारूसहित अञ्जु थारू समुदायबाट माओवादी केन्द्रीय सदस्य बनेकी छन् । पहिलो पटक माओवादी केन्द्रीय समितिमा थारू महिलाको उपस्थिति देखिने खालको भएको छ ।

रूपा चौधरी, रामकुमारी थारू, कुष्मा थारूसहित अञ्जु थारू समुदायबाट माओवादी केन्द्रीय सदस्य बनेकी छन् । पहिलो पटक माओवादी केन्द्रीय समितिमा थारू महिलाको उपस्थिति देखिने खालको भएको छ

एमालेले राजनीति थालेको १३ वर्षमै शान्ता चौधरीलाई राष्ट्रिय राजनीतिमा स्थापित गरेको छ । अन्य थारू नेत्री पनि एमालेमा उदाएका छन् ।

तर युद्धमा ज्यानको बाजी थापेर माओवादीमा होमिएका थारू महिलाले भने नेतृत्वमा पुग्ने अवसर नै पाइरहेका थिएनन् । राजनीतिका २५ वसन्त पार गरेपछि अञ्जु केन्द्रमा पुगेकी छन् । अञ्जुसहित ४ जना केन्द्रीय सदस्य बने पनि उनीहरूको भूमिका केन्द्रीय राजनीतिमा देखिने खालको छैन ।

सफल उपमेयर

अब अञ्जुको यात्रा मेयरतर्फ सोझिएको छ । सार्वजनिक ओहदामा उपमेयरका रूपमा पहिलो पटक परीक्षित अञ्जु स्थानीयस्तरमा प्रिय छिन् । विपक्षीसँग पनि सहकार्य गर्न सक्नु र थारू समुदायइतरसँग पनि सहज घुल्नसक्ने उनको खुबी प्रशंसालायक छ ।

अञ्जु विपरीत विचारसँग राजनीतिक रूपमा संघर्ष गर्ने तर व्यवहारिक रूपमा सहकार्य गर्ने स्वभावका कारण जातिवादभन्दा माथि उठेकी छन् । व्यवहारिक र परिपक्क नेत्रीका रूपमा स्थापित छिन् ।

उपमेयरका रूपमा स्थानीय न्यायिक समितिको नेतृत्व सम्हाल्ने क्रममा उनले जटिल मुद्दालाई पनि व्यवहारिक रूपमा हल गरेर आफ्नो खुबी प्रष्ट गरेकी छन् । बारबर्दियाका महिलाको उन्नयन, बाटो घाटो, विकासका लागि उनले बितेका ५ वर्षमा सारथिको भूमिका निर्वाह गरिन् ।

सार्वजनिक भवन निर्माण, पिछडिएका वर्गका लागि निःशुल्क शिक्षा, अभिभावकविहीन बालबालिकाका लागि संरक्षणस्थल स्थापना, सडक निर्माण र विस्तार, पिछडिएका वर्ग जात–जातिलाई डकर्मी, सिकर्मी, सिलाइ, मोबाइल मर्मतलगायत विभिन्न किसिमका तालिम, कोभिड नियन्त्रणमा समन्वयकर्ताका रूपमा अञ्जुले धेरैको मन जितेकी छन् । पदीय हिसाबले उपमेयर भए पनि उनलाई धेरैले माया गरेर दिदी/बहिनी र छोरी भन्ने गर्छन् ।