NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ असार १२ गते

टेबलको समेत काम गर्ने झोला बनाउने दुई साथी

काठमाडौं । कक्षा चारसम्म नेपालमै पढेकी वेदिका मुरारकाले त्यसपछिको अध्ययन भारतमा पूरा गरिन् । भारतमा उच्च शिक्षाको पढाइ सकेर लण्डन स्कुुल अफ इकोनोमिक्सबाट सोसल इनोभेसन एण्ड इन्टरपेनरसिप विषयमा स्नातकोत्तर गरिन् । सोही विषय अध्ययनका क्रममा प्रोजेक्टको रूपमा केही नवीन काम गर्नुपर्ने भयो । बिजनेस आइडिया दिनुप-यो । उनको यही प्रोजेक्टको उपज हो, एडुकेस अर्थात् झोलाभित्र टेबल ।

एडुकेस एउटा झोला हो । जुन सजिलैसँग टेबलमा रूपान्तर हुन्छ । यसलाई विद्यालय होस् या घर, जताततै प्रयोग गर्न सकिन्छ । विद्यालय जाँदा अन्य सामान्य झोलाजस्तै बोकेर हिँड्न सकिने यो झोला विद्यालयमा फोल्ड गरेर टेबलमा राख्न सकिन्छ, जुन यसको खास विशेषता हो ।

कक्षाको प्रोजेक्ट वर्कका लागि यो काम गरे पनि उनले यो सोचले अहिलेको आकार लेला भन्ने सोचेकी थिइनन् । तर जब त्यो प्रोजेक्टले अन्यसँगको प्रतिस्पर्धामामा पहिलो स्थान पायो, तब वेदिका यसलाई विस्तार गर्ने सोच बुन्न थालिन ।

यसलाई विस्तार त गर्ने तर कसरी ? यस्ता काममा भेउ नपाएकी वेदिका द्विविधामा परिन् । यस्तोमा नेहा अहमद उनलाई आड भरोसा दिन आइपुगिन् । नेहा पाकिस्तानी हुन् । वेदिका र नेहाको सोच एउटै थियो, शिक्षा क्षेत्रमा दखल पारेर सँगै व्यवसायमा पनि होमिने ।

यसलाई कसरी र केबाट तालमेल मिलाउने भन्ने सरसर्ती खाका बन्यो । प्रोजेक्ट वर्कमा पहिलो हुुँदा पुरस्कारस्वरूप वेदिकाको समूहले एक हजार पाउन्ड अर्थात् नेपाली लगभग डेढ लाख रूपैयाँ पाएका थिए । जुन रकमले आफ्नो यो प्रोजेक्टलाई स्टार्टअपमा रूपान्तर गर्न टेकोपिँडो गरेको वेदिका सुनाउँछिन् । ‘त्यो बेला कक्षाको प्रोजेक्ट पछिसम्मको लागि सोचेर गरिएको थिएन्, लेख्नको लागि मात्रै थियो,’ वेदिका सुनाउँछिन् ।

वेदिका र नेहाको देश फरक थियो । तर कतिपय कुरामा समानता थिए । आफ्नो देशका ग्रामीण भेगको शिक्षामा थोरै भए पनि योगदान दिने अर्को विषयमा पनि उनीहरूबीच ठ्याक्कै कुरा मिल्यो । प्रोजेक्ट सुरु गर्नुभन्दा दुई वर्षअघि नै नेपालमा भूकम्प गएको थियो । त्यो विनाशकारी भूकम्पले नेपालका धेरै विद्यालय भत्किएका थिए । त्यसको पुनर्निमार्ण अन्योलमा थियो । विद्यार्थी मारमा थिए । त्यही समय वेदिकाको मनमा टुसाएको थियो, ती विद्यार्थीलाई लक्ष्य गरेर केही नयाँ काम गर्ने चाहना ।

‘हाम्रोजस्तो देशमा सरकारी र सामुुदायिक विद्यालमा पढ्ने अधिकांश बालबालिकाको आर्थिक स्थिति कमजोर हुन्छ । यसले उनीहरूलाई घरमा समेत पढ्ने वातावरण राम्रो हुँदैन् । उनी भन्छिन्, ‘घरमा पढ्ने वातावरण र स्रोत-साधन नहुँदा यसले उनीहरूमा पढाइप्रति झन् नकारात्मक प्रभाव पर्छ र निरुत्साहित पनि हुन्छन् ।’

यही सोचलाई सार्थक पार्न एडुकेसलाई संस्थागत बनाउने सोच बुुनेर वेदिका अध्ययन सकेर सन् २०१७ मा नेपाल फर्किइन् । र यसलाई कहाँबाट सुरु गर्ने भन्ने कुरामा अनुसन्धान गर्न लागिन् । तर जब वेदिका नेपाल फर्केर यहाँको अवस्थालाई अवलोकन गर्न थालिन्, त्यो बेला उनले भूकम्पले मात्र नभएर यहाँ अन्य विद्यालयको अवस्था पनि नाजुक भएको पाइन् ।

यसले आफूलाई थप दुःखी बनाएको उनी बताउँछिन् । फलतः सन् २०२१ मा उनले पहिले एडुकेसलाई संस्थागत रूप दिइन्, दर्ता गरिन् । लगत्तै उनी कति पनि ढिला नगरी आफ्नो सोच कार्यान्वयनका लागि मैदानमा उत्रिइन् ।

नेपालको ग्रामीण भेगका बालबालिकाको नाजुुक अवस्थाको प्रत्यक्षदर्शी त थिइन् तर यहाँ आएपछि जुरेको थप अनुसन्धान गर्ने मौकाले यो अवस्थालाई अझै नजिकबाट नियाल्ने मौका पाइन् । यो स्थिति नेपालमा मात्र नभएर दक्षिण एसिया भरि नै रहेको बताउँछिन् उनी । नेपालका जति दुर्गम ठाउँमा गयो, त्यति नै सरकारी र सामुुदायिक विद्यालयमा विद्यार्थीलाई पढ्ने पूूर्वाधारको अभाव बढ्दो रहेको उनको बुझाइ छ । यो ज्ञान नै उनको प्रोजेक्टको खुड्किलो बन्यो । उनलाई यहाँको आवश्यकता अन्यभन्दा धेरै भएको बोध भयो ।

यही अवस्थालाई आफूले एडुकेसमार्फत कम बनाउने कोसिसमा छिन् उनी । ‘शिक्षक भए पनि विद्यालयमा किताब, कपी राख्ने पूवार्धारको अभाव महसुुस भयो र यही पूूर्वाधारको विकल्पमा नयाँ ढंगबाट प्रोजेक्टलाई विस्तार गर्ने सोच आयो,’ उनले भनिन् ।

एडुकेस झोला सुरुमा उत्पादन गर्दा यसको गुुणस्तर अपेक्षाभन्दा नराम्रो नै थियो । तर अध्ययन–अनुसन्धान र विज्ञको सहायताले यसलाई थप परिस्कृत गर्दै डिजाइन् गरिएको वेदिका सुनाउँछिन् । एडुकेसको कमीकमजोरीलाई औल्याउँदै यसको डिजाइन ११ पटकसम्म गरिएको उनी सम्झिन्छिन् । अहिले उत्पादन भएको एडुुकेसको डिनाइन् ११औं हो ।

‘सुरुमा प्लास्टिक मात्र प्रयोग गरेका थियौं । फ्याब्रिकसमेत थिएन् । अहिले हामीले वाटरपुुर्भ फ्याब्रिकको प्रयोग गरेका छौं,’ उनी भन्छिन् ।

एडुकेसले कसरी वितरण गर्छ झोला ?

एडुकेसले आफ्ना ब्यागहरू दातामार्फत वितरण गर्ने गर्छ । अहिलेसम्म एडुकेसमा ३१ संस्था जोडिएका छन् । सुरुमा संस्थासँग साझदारी गर्न वेदिकाले निकै संघर्ष गरिन् । उनलाई एडुकेसबारे बुझाउन समय लागेको उनी सुनाउँछिन् । शैक्षिक क्षेत्रमा काम गर्ने संस्था, एनजिओ, आइएनजिओसँगको सहकार्यमा उनी एडुकेस बालबालिकासमक्ष पुर्याउँछिन् । संस्थाको माग अनुसार झाेला उपलब्ध गराउने र संस्थाले सोही झाेला बालबालिकालाई निःशुल्क वितरण गर्ने गर्छ ।

झाेला  वितरणपछि उनी यसको प्रतिक्रिया लिन बच्चाहरूको माझ जान्छिन् । धेरैले ब्यागले आफूलाई सहज भएको सुन्दा वेदिकाको मन खुसी हुुन्छ । बच्चाहरु भुँइमा निहुँरेर पढ्दा ढाड दुुख्ने समस्या हुुन्छ, एडुकेसमार्फत यो समस्या पनि कमी आएको सुन्दा उनी हर्षितसँगै थप प्रोत्साहित हुन्छिन् । धेरै प्रयोगकर्ताले एडुकेस भएर अब ट्युसन कक्षामा पनि सहज हुने बताउँछन् । एडुकेसको झोला अहिलेसम्म ४६ सयले प्रयोग गरिसकेका छन् ।

वेदिका एडुकेसमा मात्र सीमित भने छैनन् । उनको ‘रासन टेक्नोलोजी’ नामक एकल व्यवसाय पनि छ । जसले साना किराना पसलहरूमा खाद्यान्न अनलाइन बिक्री गर्छ । साना पसललाई मध्यजनर गर्दै रासन टेक्नोलोजीको सुरुवात भएको वेदिका बताउँछिन् ।

एडुकेसलाई नेपालबाहेक अन्य मुलुकमा पनि पुर्याउने इच्छा छ उनलाई । नेपालको संस्था सबल भएपछि यसलाई अन्तर्राष्ट्रियस्तरमै विस्तार गर्ने लक्ष्य रहेकाे उनले सुनाइन् । योसँगै वेदिकालाई कक्षाकोठाको वातावरण बालमैत्री बनाउनसमेत इच्छा जागेको छ । यसको लागि पनि एडुकेसले काम गरिरहेकाे उनी सुनाउँछिन् ।