कमल थापाको बहिर्गमन : अस्तित्व स्वीकार्न नसक्दाको दुःखान्त
गीताको कसम त खाए, मर्म पछ्याएनन्

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पदमा राजेन्द्र लिङ्देनको विजयलाई स्वीकार गर्ने साहस अन्ततः पूर्ववर्ती अध्यक्ष कमल थापामा रहेन । पराजयबोधको पीडा सहन नसकेपछि उनले आफैंले निर्माण गरेको पार्टीबाट बिदा लिएका छन् ।
पञ्चायतकालदेखि गणतन्त्रकालसम्म सत्ता सयरमा खप्पिस कमल थापालाई पराजित गरेर राजेन्द्र लिङ्देनले राजनीतिक नेतृत्वमा युवापुस्तालाई स्थापित गराएको आखिर थापालाई पचेन ।
पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई सहज र सामान्य लोकतान्त्रिक प्रक्रियाका रूपमा लिएर अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा थापाले यसलाई आफ्नो तेजोबध, अपमान, पीडामय पराजय र प्रतिष्ठाकै विषय ठाने र भित्रभित्रै कुण्ठाको अग्निमा जल्न थाले । फलस्वरूप, मंगलबार उनले राप्रपा परित्यागको घोषणा गरेका छन् ।
राजनीतिका खेलाडी थापाले टेनिस खेलमै रमाउन या सन्यास मार्गमा जान राप्रपा त्यागेका पक्कै होइनन् । उनी नयाँ पार्टी निर्माणको तयारीमा जुटेका हुन् । अर्थात् स्थापनाकालदेखि अनेक चिरामा विभाजित हुँदै, मिल्दै आएको राप्रपा फेरि एक पटक विभाजनको डिलमा उभिएको छ ।
‘मुसा’ले फेरि डुंगा छाड्यो
कमल थापा तिनै हुन्, जसले सत्ता स्वार्थलाई मात्र केन्द्रमा राखेर राजावादीहरूको संवेदनालाई सदा भजाउन खोजे । उनलाई हराएर लिङ्देनले अस्तित्त्व संकटमा रहेको राप्रपामा नयाँ ऊर्जा भरेकै हुन् । यो परम्परागत शक्तिमा राजेन्द्रको उदयले परम्परावादी पंक्तिमा पक्कै नयाँ ऊर्जा, उत्साह र आशा पलाएको छ ।
तर, पूर्ववर्ती अध्यक्ष थापालाई हार नै पचेन । उनले ‘निर्मल निवास’ (पूर्वराजा ज्ञानेन्द्र) ले आफूलाई हराएको वक्तव्यवाजी गर्र्दै आफ्नो हारमा षड्यन्त्र सिद्धान्त (कन्स्पिरेसी थ्यौरी) को जामा लगाइदिएका छन् । तर यतिले पनि मन शान्त नभएर होला, उनले पार्टी नै परित्याग गरिदिए ।
पञ्चायतकालदेखि गणतन्त्रकालसम्म सत्ता सयरमा खप्पिस कमल थापालाई पराजित गरेर राजेन्द्र लिङ्देनले राजनीतिक नेतृत्वमा युवापुस्तालाई स्थापित गराएको आखिर थापालाई पचेन
कमल थापालाई नेपाली राजनीतिमा विश्वसनीय, विचारक, इमानदार, आदर्शवादी र त्यागी नेता मानिदैन जस्तो अन्य दलका कतिपय नेतामा यो गुण हुने गर्छ । अन्य दलका शीर्ष नेताहरूमा कतिपय कमजोरीका बाबजुद उनीहरूमा वैचारिक, राजनीतिक इमानदारिता, विश्वसनियता र आदर्शको अंश पाइन्छ । तर थापाले चाहिँ तिकडम गरेर हरेक युगमा सत्तामा पुग्ने चलाख नेताका छवि बनाएका छन् ।
थापालाई नेपाली राजनीतिमा ‘मुसा प्रवृत्ति’को विम्बको पर्यायका रूपमा हेर्ने गरिएको छ । मुसा प्रवृत्ति विम्बका प्रथम प्रयोक्ता पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द हुन् । ०५२ सालपछि सत्तासमीकरणको खेल चलिरहँदा एमालेको समर्थनमा प्रधानमन्त्री बनेका लोकेन्द्रबहादुर चन्दलाई छाडेर कमल थापाले चन्दका पुराना प्रतिद्वन्द्वी सूर्यबहादुर थापालाई सघाएका थिए । आफूलाई धोखा दिने थापालाई चन्दले ‘मुसा प्रवृत्ति’को उपमा दिएका थिए ।
‘मुसाले पहिला जहाजमा प्वाल पार्छ । जब जहाज पानीले भरिएर डुब्न थाल्छ, तब सबैभन्दा पहिला मुसाहरु नै जहाजबाट ज्यान जोगाउन भाग्ने गर्छन् । मुसो आज आफैं सवार जहाज काटेर अर्को जहाजमा पुगेको छ । त्यो मुसोले भोलि फेरि नयाँ जहाज काटेर दुर्घटना गराउनेछ’, चन्दले भनेका थिए ।
नभन्दै चन्दले भनेझै इतिहास दोहोरिएको छ । गणतन्त्रको यो जगजगीमा राप्रपारूपी डुंगामा प्वाल परिरहेको बेला तिनै मुसा प्रवृत्तिका थापा पार्टीको डुंगाबाट फुत्त बाहिर निस्किएका छन् ।
परिपक्व उमेर, अपरिपक्व भूमिका
थापाको कमजोरी के रह्यो भने उनले पार्टीमा सबैलाई मिलाएर राख्न सकेनन् । अन्ततः आफैं बाहिरनुपर्यो । अध्यक्ष बहाल रहँदा थापाले अध्यक्षद्वय डा. प्रकाशचन्द्र लोहनी र पशुपति शमशेर जवराविरुद्ध सामाजिक सञ्जालमै कटु कटाक्ष गरिदिए, जसले महाधिवेशनमा असर गर्यो ।
उनले डा. लोहनी र जबरालाई ‘अल्छी घोडा’को संज्ञा दिएका थिए । अध्यक्षले त पार्टीलाई मिलाएर लैजानुपथ्र्यो, उल्टै गालीगलौज गर्दै त्यसलाई सार्वजनिक गर्ने काम भयो । आखिर महाधिवेशनमा राणा र डा. लोहनीले अध्यक्ष थापाको साटो लिङ्देनलाई सघाए ।
पार्टीभित्रको आन्तरिक प्रतिष्पर्धालाई सहज र सामान्य लोकतान्त्रिक प्रक्रियाका रूपमा लिएर अभिभावकको भूमिका निर्वाह गर्नुपर्नेमा थापाले यसलाई आफ्नो तेजोबध, अपमान, पीडामय पराजय र प्रतिष्ठाकै विषय ठाने र भित्रभित्रै कुण्ठाको अग्निमा जल्न थाले । फलस्वरूप, मंगलबार उनले राप्रपा परित्यागको घोषणा गरेका छन्
थापाले राजवादीहरूको भावनाको पनि उपेक्षा गरे । सडकमा राजतन्त्र फर्काउने प्रदर्शन भइरहँदा थापाले त्यो जनमतलाई संगठित गर्न सकेनन् । त्यो बेला उनी तात्कालीन ओली सरकारमा सहभागी हुने जोखाना गरिरहेका थिए । यसको विरोध गर्ने आलोचकलाई उनले ‘भाइरस’ भनिदिए ।
महाधिवेशनका बेला लिङदेन पक्षबाट महिलातर्फको महामन्त्रीमा खडा भएकी नायिका रेखा थापाविरुद्ध माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग नाचेको, गणतन्त्रको पक्षमा बोलेको आदि प्रसंग उठाए । ‘गणतन्त्रवादी रेखा थापालाई बहिस्कार गरौं’ भन्ने पर्चासमेत थापाले बाँड्न लगाए । यो उनको केटौलो हर्कत थियो ।
थापा यिनै हुन्, जो कुनैबेला गणतन्त्रात्मक संविधान जारी हुनासाथ उप्रधानमन्त्री खान हतारिएका थिए । आफ्ना अडान छाडेर राप्रपालाई सदा सत्ताकै मोलमोलाइको अखडामा परिणत गरेकै कारण यसपालि पार्टीका अधिकांश कार्यकर्ताले ‘मुसा र अवसरवादी प्रवृत्ति’लाई तह लगाए, जुन सहन थापालाई सकस भयो ।
परिपक्व उमेरमा अपरिपक्व भूमिका निर्वाह गर्दा अहिले थापाले शून्यबाट राजनीतिको नयाँ यात्रा गर्नुपर्ने अवस्थामा आइपुगेका छन् । उनले गठन गर्ने नयाँ सम्भावित पार्टीमा हालको राप्रपाका के, कति नेता–कार्यकर्ता सामेल होलान्, त्योचाहिँ अनिश्चित छ ।
‘गीता’को अवमूल्यन
२०७६ फागुन २८ मा तीन वटा राप्रपाबीच एकीकरण हुँदा राप्रपा नेपालका अध्यक्ष कमल थापाले गीता छोएर पार्टी नफुटाउने कसम खाएका थिए । त्यो बेला उनले भनेका थिए, ‘सम्पूर्ण कार्यकर्ताहरू, देशभरि टेलिभिजन हेरिरहनुभएका हजारौं, लाखौं साथीहरू, विदेशमा बसेर पनि हेरिरहनुभएका पार्टीलाई माया गर्ने साथीहरूलाई साक्षी राखेर प्रतिज्ञा गर्दछु कि म कहिल्यै पनि पार्टी फुटाउने छैन । तपाईंहरूलाई विश्वास लागेन, मैले गीता ल्याएको छु । हामी हिन्दू राष्ट्र चाहने सनातन धर्मका पक्षपातीहरू, यो गीता हातमा राखेर म कसम खान्छु कि राप्रपालाई कदापि फुट्न दिनेछैन ।’
०७८ मंसिर २५ मा राप्रपा महाधिवेशनका बेलासम्म पनि उनले भनेका थिए, ‘अब पार्टी एकता कहिल्यै नखलबलिने, अब भविष्यमा पार्टी कहिल्यै नटुक्र्याउने, टुक्रिन नदिने भनेर हामीले गीता छोएर कसम खाएका छौं । त्यसैले तपाईंहरू ढुक्क हुनुहोस् ।’
गीता छोएर पार्टी नफुटाउने घोषणा गरेका थापाले मंगलबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै पार्टीबाट अलग हुने घोषणा गरेका छन् । थापानिकट सूत्रका अनुसार, यो उनको नयाँ पार्टी गठनकै सिलसिलाको पहिलो कदम हो ।
गीता छोएर कसम खाएपछि त्यसको पालना गर्नुपर्ने हिन्दू धर्मको मान्यता छ । भारतको अदालतमा एक से एक अपराधीलाई पनि ‘गीतामा हात राखेर भन, जे–जे भन्छु, सत्य भन्ने छु, सत्यबाहेक अरू केही भन्ने छैन्’ भन्न लगाइन्छ ।
कमल थापाले गीता हातमा राखेर कसम त खाए, तर गीताकै मूल मर्म भने पछ्याएनन् । गीताले संकटको सामना गर्न प्रेरित गर्छ । गीतामा श्रीकृष्णले भनेकै छन्, ‘धैर्यबिना व्यक्ति अज्ञान, दुःख, वासना, क्रोध, काम र लालचबाट छुटकारा पाउन सक्दैन’
गीता छोएर खाएको कसम तोडेमा २१ कुलसम्म नाश हुने धार्मिक मान्यता छ । परापूर्वकालमा अदालत र अन्य न्याय निरूपणका संस्था नहुँदा गीतालाई सत्यको मापकका रूपमा उपयोग गरिन्थ्यो । गीता छुन लगाएर सत्य/असत्य पत्ता लगाइन्थ्यो । गीता छोएपछि कसैले पनि झूठ बोल्दैनथे । अनि गीता छोएर कुनै कसम खाएपछि त्यो पूरा गरेरै छाड्थे ।
हिन्दू सनातन धर्ममा विश्वास गर्ने र हिन्दू राष्ट्रको वकालत गर्ने राजनीतिका खेलाडीले सोही महान ग्रन्थ गीताको अवमूल्यन गर्दै गीता छोएर खाएको कमस तोडेकोमा हिन्दू समुदाय रुष्ट भएको बताइन्छ ।
धर्म र धर्म ग्रन्थलाई राजनीतिको फोहर खेलमा दुरूपयोग गर्दै गीताकै अवमूल्यन गरेकोप्रति साधु, सन्त, ज्योतिष र वैदिक ज्ञानका प्रचारकहरू पनि थापासँग मुर्मुरिएको बताइन्छ ।
कमल थापाले गीता हातमा राखेर कसम त खाए, तर गीताकै मूल मर्म भने पछ्याएनन् । गीताले संकटको सामना गर्न प्रेरित गर्छ । गीतामा श्रीकृष्णले भनेकै छन्, ‘धैर्यबिना व्यक्ति अज्ञान, दुःख, वासना, क्रोध, काम र लालचबाट छुटकारा पाउन सक्दैन ।’
थापामा धैर्य भएन, उनी हतारिएर पार्टी छाडे । उनमा गीताबोध कत्तिको रहेछ भन्ने त देखिइहाल्यो ।
गीतामा भनिएको छ, ‘क्रोध भ्रम पैदा गर्छ । भ्रमले बुद्धि परेशान हुन्छ । जब ज्ञान परेशान हुन्छ, तब व्यक्ति स्खलित हुन्छ ।’
आफू पराजित हुनुपरेपछि थापामा जुन क्रोध उत्पन्न भयो, त्यसलाई गीताको यही उक्ति मनन परेर शान्त राख्न नसकेपछि उनले खाएको गीताको के अर्थ रह्यो ?
‘जो आफ्नो मनलाई नियन्त्रित गर्न सक्दैन, ऊ आफ्नै दुष्मन हो,’ गीतामा भनिएको छ ।
थापाले आफ्नो मनलाई नियन्त्रण गर्न सकेनन् । यहाँ पनि गीता भाव पछयाउन उनले सकेनन् ।
सबैभन्दा ठूलो कुरा फलको अपेक्षा नगरी निष्काम कर्म गर्ने गीताको मूल मर्मलाई नै थापाले अनुशरण गरेनन् । हार र जीत त कर्मको फल हो, जेसुकै होस्, उनले आफूले बनाएको पार्टीमै निष्काम कर्म गरेर बसिरहेको भए पो गीताका उनी सच्चा अनुयायी भन्न सकिन्थ्यो । कर्मको फल नकारात्मक आउनासाथ अर्थात् चुनाव हार्नासाथ क्रोधित र अधैर्य हुनु नै थापाको गीताइतरको व्यवहार हो ।
अब थापाले कुन मुखले हिन्दू राष्ट्रको नारा लिएर राजनीति गर्ने ? भन्ने प्रश्न धार्मिक र अध्यात्मिक वृत्तमा पनि चर्चाको विषय भइरहेको छ ।
प्रतिक्रिया