NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

शोधनान्तर घाटा हालसम्मकै उच्च, २ खर्ब ४१ अर्ब घाटामा

६ महिनामा १० खर्बको आयात, व्यापार घाटा ८ खर्ब ८० अर्ब नाघ्यो

काठमाडौं । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको अर्धवार्षिक तथ्यांकअनुसार समीक्षा अवधिमा शोधनान्तर स्थिति २ खर्ब ४१ अर्ब २३ करोडले घाटामा रहेको छ । जुन हालसम्मकै उच्च हो ।

अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति १ खर्ब २४ अर्ब ९२ करोडले बचतमा रहेको थियो । समीक्षा अवधिमा चालु खाता पनि ३ खर्ब ५४ अर्ब ७ करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५१ अर्ब ६८ करोड रुपैयाँमले मात्र घाटामा रहेको थियो ।

यसैगरी ०७८ असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १६.७ प्रतिशतले कमी आइ ०७८ पुस मसान्तमा ११ खर्ब ६५ अर्ब ८० करोड कायम भएको छ ।

५१ प्रतिशतले आयात वृद्धि हुँदा निर्यात ९५ प्रतिशतले बढ्यो

चालु आवको ६ महिनामा कुल वस्तु आयात ५१.१ प्रतिशतले वृद्धि भएर ९ खर्ब ९९ अर्ब ३४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा आयात ४.८ प्रतिशतले घटेको थियो ।

वस्तु आयात गरिने मूलुकको आधारमा भारत, चीन तथा अन्य मूलुकहरू क्रमश ः ३७.५ प्रतिशत, ५१.५ प्रतिशत र ९८.२ प्रतिशतले वृद्धि भएको छ ।
वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, औषधि, कच्चा पाम तेल, यातायातका साधन तथा पाटपुर्जा, कच्चा सोयाबिन लगायतका वस्तुको आयात बढेको छ भने एमएस विलेट, सिमेन्ट दाल, मोलासिस सुगर, कीटनाशकलगायत वस्तुको आयात घटेको छ ।

त्यस्तै चालु आवको पुस मसान्तसम्ममा कुल वस्तु निर्यात ९५.५ प्रतिशतले वृद्धि भइ १ खर्ब १८ अर्ब ८५ करोडि पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा निर्यात ६.१ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यको आधारमा भारत तथा अन्य मूलुकतर्फ भएको निर्यात क्रमश १२१.८ प्रतिशत, ३०.२ प्रतिशतले वृद्धि भएको छ । चीनतर्फको निर्यात भने १०.२ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, सोयाबिन तेल, पिना, जुस, उनी, गलैंचालगायतका निर्यात घटेको छ ।

निर्याततर्पm कञ्चनपुर, मेची, र नेपालगञ्ज भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यात वृद्धि भएको छ । आयाततर्फ भने सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा वृद्धि भएको छ ।

४६.६ प्रतिशतले व्यापार घाटा

चालु आवको ६ महिनामा कुल व्यापार घाटा ४६.६ प्रतिशतले वृद्धि भइ ८ खर्ब ८० अर्ब ४९ करोड पुगेको छ । जुन हालसम्मकै उच्च व्यापार घाटा हो । अघिल्लो वर्षको सोही अवधिमा व्यापार घाटा ५.८ प्रतिशतले घटेको थियो ।

विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ५.५ प्रतिशतले कमी आइ ४ खर्ब ६८ अर्ब ४५ करोड कामय भएको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.१ प्रतिशतले बढेको थियो ।

चालु आवको पुस मसान्तसम्ममा वैदेशिक रोजगारीको लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या उल्लेखीय रुपमा वृद्धि भएको छ । सोही अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या १ लाख ६७ हजार ५१३ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस्तो संख्या ८९ प्रतिशतले घटेको थियो ।

त्यसैगरी वैदेशिक रोजगारीको लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा २९८.१ प्रतिशतले वृद्धि भइ १ लाख ३० हजार २१२ जना पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ७५.५ प्रतिशतले घटेको थियो ।

कुल विदेशी विनिमय सञ्चिति

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७८ असार मसान्तमा १२ खर्ब ४४ अर्ब ६३ करोड रहेकोमा २०७८ पुस मसान्तमा १८.४ प्रतिशतले कमी आइ १० खर्ब १५ अर्ब ५९ करोड कायम भएको छ ।

बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति ०७८ असार मसान्तमा रु.१५४ अर्ब ३९ करोड रहेकोमा ०७८ पुस मसान्तमा २.७ प्रतिशतले कमी आइ रु.१५० अर्ब २१ करोड कायम भएको छ । ०७८ पुस मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २४.५ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचक

चालु आवको ६ महिनाको आयातलाई आयात मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.२ महिनाको वस्तु आयात र ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

तर सो अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ४८.१ प्रतिशतले वृद्धि भइ ११ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद प्रत्यक्ष वैदेशिक लगानी ७ अर्ब ६६ करोड रुपैयाँ मात्र रहेको थियो ।

कच्चा पेट्रोलियमको मूल्य ५७ प्रतिशत वृद्धि, सुनको १.९ प्रतिशत कमी

राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको ६ महिनामा कच्चा पेट्रोलियमको मूल्य ५७ प्रतिशतले वृद्धि भएको छ । गत आवको सोही अवधिमा प्रति ब्यारल अमेरिकी डलर ५२.५२ रहेको कच्चा पेट्रोलियमको मूल्य चालु आवको पुस मसान्तसम्ममा ५७ प्रतिशतले वृद्धि भइ अमेरिकी डलर ८७.१७ पुगेको छ ।

यसैगरी अन्तर्राष्ट्रिय बजारमा गत आवको पुस मसान्तसम्ममा प्रति आउन्स सुनको मूल्य अमेरिकी डलर १८५८.८५ रहेकोमा चालु आवको सोही अवधिमा १.९ प्रतिशतले कमी आइ अमेरिकी डलर १८२२.९५ कायम भएको छ ।

खर्च र राजश्व

महालेखा नियन्त्रक कार्यालयका अनुसार चालु आवको पुस मसान्तसम्ममा कुल ५ खर्ब ६ अर्ब ७० करोड खर्च गरेको छ । जसमा चालु खर्च ४ खर्ब ६ अर्ब ४१ करोड रुपैयाँ, पुँजीगत खर्च ५० अर्ब ८१ करोड रुपैयाँ र वित्तीय व्यवस्थाअन्र्तगतको खर्च ४९ अर्ब ४७ करोड खर्च गरेको छ ।

समीक्षा अवधिमा सरकारको कर राजश्व ४ खर्ब ९३ अर्ब ९९ करोड रुपैयाँ र गैर–कर राजश्व ४८ अर्ब ६ करोड गरी कुल राजश्व ५ खर्ब ४२ अर्ब ५ करोड परिचालन भएको छ ।

कुल आन्तरिक कर्जा ८.२ प्रतिशत वृद्धि

चालु आवको ६ महिनामा कुल आन्तरिक कर्जा ८.२ प्रतिशतले बढेको छ । गत वर्षको सोही अवधिमा उक्त कर्जा ८.७ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा चालु आवको पुस सम्ममा कुल आन्तरिक कर्जा २६.६ प्रतिशतले बढेको छ ।
निक्षेप ३.८ प्रतिशतले बढ्यो

चालु आवको ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ३.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा निक्षेप ९.२ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधार पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप १५.५ प्रतिशतले बढेको छ ।

कर्जा प्रवाह

चालु आवको पुस मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १२.१ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा कर्जा ११.४ प्रतिशतले बढेको थियो । वार्षिक विन्दुगत आधारमा चालु आवको पुस मसान्तसम्ममा बैंक तथा वित्तिय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा २१ प्रतिशतले बढेको छ ।

समीक्षा अवधिमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ११.८ प्रतिशत, विकास बैंकहरूको १२.७ प्रतिशतले र वित्त कम्पनीहरूको २१ प्रतिशतले बढेको छ ।

वित्तीय पहुँच

चालु आवको पुस मसान्तसम्ममा आइपुग्दा कुल ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका छन् । गत आवको सोही अवधिमा ७४९ स्थानीय तहमा वाणिज्य बैंकहरूका शाखा विस्तार भएका थिए ।

पुस मसान्तसम्ममा राष्ट्र बैंकबाट इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाको संख्या १२९ रहेको छ । यसमध्ये २७ वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ६७ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक सञ्चालनमा रहेको छ ।