NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ ८ गते

५१ पशुपक्षी फार्मलाई अनुदान

म्याग्दी । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७८/७९ मा तीनवटा कार्यक्रममार्फत ५१ वटा पशुपक्षी फार्मलाई अनुदान उपलब्ध गराउने भएको छ ।

साना पशुपक्षी तथा मत्स्य व्यवसाय फार्म विस्तार तथा स्थापना गर्न ४०, नयाँ मत्स्य पोखरी निर्माणका लागि सात र माछा, मासु तथा डेरी पसल निर्माण सुधारका लागि चारवटा फार्म छनोट भएका हुन् । केन्द्रबाट उनीहरुले ५८ लाख ५० हजार  रूपैयाँ अनुदान पाउने भएका छन् ।

केन्द्रका सूचना अधिकारी तथा पशु सेवा प्राविधिक सुभास रेग्मीले छनोट भएका ५१ वटा फार्मका सञ्चालकसँग अनुदान उपलब्ध गराउने सम्झौता गरिसकेको जानकारी दिए । ‘सार्वजनिक सूचना जारी गरेर प्राप्त भएको आवेदनको स्थलगत मूल्याङ्कन गरेर कार्यविधिअनुसार छनोट र सम्झौता गरिएको हो,’ उनले भने, ‘कूल लागतको ५० प्रतिशत अनुदान उपलब्ध गराउने र आधा रकम सञ्चालकले ब्यहोर्नुपर्ने सम्झौता छ ।’

कूल रु ५२ लाख ५० हजार बजेट विनियोजन भएको साना पशुपक्षी फार्म विस्तार तथा स्थापना कार्यक्रमका लागि १५८ वटा आवेदन परेको थियो । दुई लाख बजेट विनियोजन भएको नयाँ मत्स्य विकास कार्यक्रम र चार लाख रूपैयाँ बजेट रहेको माछा, मासु तथा डेरी पसल निर्माण सुधार कार्यक्रममा आठ–आठवटा आवेदन परेका थिए ।

बाख्रा, गाईभैँसी, बंगुर, कुखुरापालनका पुराना फार्मको क्षमता विस्तार र नयाँ फार्म स्थापना गर्न एक लाख ३२ हजार २५० रूपैयँका दरले अनुदान पाउने केन्द्रका प्रमुख जीवनप्रसाद आचार्यले बताए । नयाँ मत्स्य पोखरी निर्माणका लागि ५० हजार  रूपैयाँका दरले र मासु, डेरी पसलले एक लाख रूपैयाँका दरले अनुदान पाउने भएका छन् ।

दूध, माछा, अण्डा उत्पादन बढाएर आत्मनिर्भर बनाउने र पशुपालनतर्फ आकर्षण बढाउन गण्डकी प्रदेश सरकारको योजनाअनुसार अनुदान दिन लागिएको हो । छनोट भएका सबै फार्मका सञ्चालकलाई अभिमुखीकरण गरिएको थियो । बाँकी कार्यक्रमका लागि पुनः सूचना आह्वान गरिएको केन्द्रले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष