NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

बच्चाको ‘स्क्रिन टाइम’ व्यवस्थापन यसरी गर्ने

कोराना भाइरस महामारी फैलिन नदिन अहिले अधिकांश विद्यालय बन्द गरिएको छ । यसले गर्दा आजकाल अधिकांश बालबालिका फुर्सदमा छन् । घरमा सीमित भएका कारण अहिले उनीहरूले सामान्य अवस्थामा भन्दा बढी मोबाइल र इन्टरनेटमा समय बिताइरहेका छन् । ‘स्क्रिन टाइम’ अर्थात् मोबाइल, ट्याब, टेलिभिजन आदिले तपाईंका बच्चाको मस्तिष्कमा पनि राज गरिसकेको हुन सक्छ । यस्तो लतले भविष्यमा उनीहरूको स्वास्थ्यमा असर पार्छ । मुख्यतया, आँखा र मानसिक स्वास्थ्यमा । यद्यपि, अभिभावकले यस्ता सजगता अपनाएर उनीहरूको स्क्रिन टाइमको व्यवस्थापन गर्न सक्छन् ।

-कतिपय बच्चा उठ्नेबितिकै ल्यापटप वा मोबाइल समाउन थाल्छन् । यो कुनै कुलतभन्दा कम होइन । उनीहरूलाई मोबाइलबाट टाढा राख्न ‘हेल्दी रुटिन’ बनाउन आवश्यक छ । बच्चाहरूलाई बिहानको समय पूजापाठमा वा उनीहरूले सक्ने विभिन्न काममा संलग्न गराउन उपयोगी हुन्छ ।

-अहिले घरबाहिर निस्किएर मर्निङवाक र जगिङ गर्न सम्भव नभएमा बच्चाहरूलाई घरमै गर्न सकिने सामान्य शारीरिक अभ्यासमा आफूसँगै संलग्न गराउन सकिन्छ ।

बच्चाहरूलाई स्क्रिनबाट अलग्याउन अभिभावकले उनीहरूसँग कुराकानी गर्ने, कथा सुनाउने, उनीहरूका विचार सुन्ने गर्नुपर्छ ।

-दिउँसोको समय भने समान्यतया सबैको स्क्रिनमा नै बित्ने गर्छ । विद्यालयले सुरु गरेको ‘अनलाइन क्लास’ स्क्रिनमा बित्ने प्रभावकारी समय हुन सक्छ । ‘अनलाइन क्लास’बाहेक बच्चाले कस्तो सामग्री हेर्दै छन्, त्यसमा भने ख्याल राख्नुपर्छ । प्रत्येक एक घन्टाको अवधिमा उनीलाई स्क्रिनबाट टाढा राख्नु उचित हुन्छ ।

-बच्चाहरूलाई स्क्रिनबाट अलग्याउन अभिभावकले उनीहरूसँग कुराकानी गर्ने, कथा सुनाउने, उनीहरूका विचार सुन्ने गर्नुपर्छ । खाना र खाजाको समयमा मोबाइललाई टाढै राख्नुपर्छ ।

-साँझको केही समय पढाइ–लेखाइमा लगाउनु पर्छ । परिवारका सदस्यको निगरानी भएमा उनीहरूले पढ्न–लेख्न झन्झट मान्ने सम्भावना कम हुन्छ ।

-भान्सामा बच्चाहरूलाई संलग्न गराउनु अर्को उपाय हो । भान्सामा प्रयोग गरिने खाद्यान्न र सामग्री व्यावहारिक तथा प्रयोगात्मक शिक्षा पनि हुन् जुन उनीहरूका लागि आवश्यक छ ।

-मोबाइल, ल्यापटप वा ट्याबसँगै राखेर सुत्नु स्वास्थका लागि लाभदायी हुँदैन । वयस्कहरूले पनि सुत्नुअघिको एक घन्टा स्क्रिनमा नबिताउन विज्ञले सल्लाह दिँदै आएका छन् । यदि, ठूलाबडाबाट यसको सुरुवात भए बच्चाले पनि अवश्य सिक्नेछन् । (एजेन्सीको सहयोगमा)

ताजा अपडेट

नेपालवाच विशेष