NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते
प्रेरणा

चन्द्रागिरिमा उदाएका चम्किलो ‘चन्द्र’

काठमाडौं । थानकोट छेउमै रहेको चन्द्रागिरी पहाड कुनै बेला उजाग थियो । अचेल त्यसको कायाकल्प भएको छ । स्वदेशी र विदेशी पर्यटकको रमाउने केन्द्र भएको छ । हिउँ परोस् कि पानी अनि घाम लागेर आकाश छ्याङ्ग नै किन नहोस्, उपत्यकाका बासिन्दा दौडँदै चन्द्रागिरि केवलकार स्टेशनमा पुग्छन् र टिकट काटेर केबलकार चढ्दै डाँडामा पुग्छन् ।

केही वर्षअघिसम्म घना जंगलको डरलाग्दो डाँडो अचेल गुुलजार भएको छ, जहाँ मानिसहरू जीवनका सारा थकान, पीडा, वेदना र मनका उच्छवास भुलाउन जाने गरेका छन् । युवा प्रेमल जोडी मात्र होइन, अधवैंशेहरू पनि प्रकृतिको त्यो अनुपम सौन्दर्यपान गर्न केबलकार सयर गर्दै त्यहाँ पुग्न चुक्दैनन् ।

चन्द्रागिरि डाँडोमा केबलकार चढेर पुग्ने र रमाउने यो सपना सबैभन्दा पहिले देख्ने अरू कोही होइनन्, उही चन्द्रागिरि हिल्सका अध्यक्ष एवं सफल व्यवसायी चन्द्र ढकाल हुन् । अहिले उनको यो सपनासँग देश/विदेशका लाखौं पर्यटक एकाकार भएका छन् ।
प्रधानमन्त्री भएका बेला केपी शर्मा ओलीले चन्द्रागिरिमै पुगेर कविता रचे । राष्ट्रपति विद्यादेवी भण्डारी पनि चन्द्रागिरिमा पुगेर रमाउन चुकिनन्।

भारतबाट आएका बाबा रामदेवले त्यही गएर योग प्रशिक्षण नै चलाए । विदेशका कुनै पनि मन्त्री या विशिष्ठ अधिकारी नेपाल आउँदा चन्द्रागिरि गएकै हुन्छन् । यी सबैका सारथि बनेको छ, चन्द्रागरि केबलकार । चन्द्र ढकालले देखेको केबलकार सपनाको फूल अहिले चारैतिर सौन्दर्य छर्दै झांगिएको छ ।

काठमाडौं आउँदा गोजीमा ३५ सय

आजको सफलताको शिखर चुम्न चन्द्र ढकालले केबलकारले झैं धेरै आरोह अवरोह भोगेका छन् । उनको विगत कम्ता प्रेरक छैन ।
चन्द्र ढकालको जन्म बागलुङको साविक अमलाचौर गाविस–४, कुँडहरमा ०२२ साल असार ९ गते भएको हो । ढकाल जब १६ वर्षका थिए, उनका पिता हिरण्य ढकालको निधन भयो । कलिलो उमेरमै उनको काँधमा आमा जानुकादेवी ढकाल र अन्य भाइबहिनीको जिम्मेवारी थपियो । प्रवेशिका परीक्षा दिउञ्जेल उनी मामाघरमा बसे ।

उनको बाल्यकाल र तरुणवय त्यसैगरी बित्यो, जसरी आम ग्रामीण युवाको बित्ने गर्छ । उनले घाँस–दाउरा पनि गरे, मेलापात र गाइ–गोठालो पनि गए । निम्न मध्यम वर्गको परिवारमा जन्मिएकाले उनले डोको, नाम्लो सबै भोगे । एसएलसी दिँदै गर्दा पिताको निधन भएकाले पढाइमा असर पुग्यो, उनलाई अंग्रेजी विषय लाग्यो । अर्को वर्षको परीक्षामा उनी पास भए र कलेज पढन काठमाडौं आए ।

२०४१ सालमा काठमाडौं आउँदा उनको साथमा जम्मा ३५ सय रूपैयाँ थियो । म्हेपीमा काका र मामाका छोरीछोरीसँगै बसेर उनले कलेजको पढाइ सुरु गरे । आइकम पढ्दा नै उनले पेप्सिकोला कम्पनीमा सामान्य जागिर गरेका थिए, जसले काठमाडौंमा बसेर पढ्न उनलाई केही आर्थिक राहत मिल्यो । त्रिभुवन विश्व विद्यालयबाट वाणिज्य शास्त्रमा स्नातक गरेपछि भने उनी सरकारी जागिरको खोजीमा लागे ।

अन्ततः ०४५ सालमा ढकाल राष्ट्रिय वाणिज्य बैंकमा खरदार भए । केही वर्ष जागिर खाएपछि जागिरले मात्र उन्नति नहुने ठहर गर्दै उनले व्यवसायमा हात हाले । तर जागिर र व्यवसाय एकसाथ अघि बढाउन सहज भएन । अनि उनले ०५० सालमा बैंकको जागिर छाडेर आफूलाई पूर्ण रूपमा व्यवसायमा होमे ।

बैंकको जागिर छाड्नुको एउटा खास कारण थियो । व्यवसाय गर्न उनलाई ऋण चाहिएको थियो । तर बैंकको कर्मचारी भएकाले उनले ऋण पाएनन् । बस्, व्यवसायमा सम्भावना देखिसकेका ढकालले ऋण लिएर व्यवसायलाई अझ विस्तार गर्नकै लागि बैंकको जागिर छाडिदिए ।

रेमिट्यान्सको सेतु ‘आईएमई’

०४८/४९ सालदेखि व्यावसायिक यात्रा थालेका ढकालले त्यसबेला सफलताको उडान गर्न थाले, जब सन् २००१ मा उनको ‘इन्टरनेसनल मनी ट्रान्सफर’ (आईएमई)को व्यवसाय सफल भयो । स्वदेश र विदेशमा रहेकाहरूले पैसा पठाउन र ग्रहण गर्न यो विश्वसनीय, सहज र भरपर्दो माध्यम बन्न पुग्यो ।

यसको पनि रोचक पृष्ठभूमि छ । सुरुमा उनले ट्राभल र कार्गो व्यवसाय चलाइरहेका थिए । उनलाई लाग्यो, कार्गो व्यवसायलाई विदेशमा फैलाउनु आवश्यक छ । तिनताक नेपाली गार्मेन्टको विश्व बजारमा चर्को माग थियो । खासगरी अमेरिकामा नेपाली गार्मेन्टको माग बढेपछि उनले आफ्नो व्यवसाय अमेरिकासम्म फैलाउने निधो गरे र अमेरिका जाने सोच बनाए । यसैबीच उनले जापान हुँदै अमेरिका जाने योजना बनाए र जापानतर्फ हान्निए ।

हो, जापानमै करिब दश वर्ष रहँदा नै उनले रेमिट्यान्सको अपरिहार्यता बोध गरे । विदेशमा बस्ने नेपालीले कमाएको पैसा स्वदेश पठाउन अनेक झन्झट हुन्थ्यो । औपचारिक र वैधानिक माध्यम थिएन । हुण्डी कारोबारको जगजगी थियो, जुन जोखिमपूर्ण मानिन्थ्यो । यो देखेपछि विदेशमा रहेका नेपालीको पैसा सहजै स्वदेशमा रहेका आफन्तले पाउनसक्ने उपाय खोज्दै जाँदा रेमिटयान्स सेवा सुरु गर्ने निष्कर्षमा उनी पुगेका हुन् ।

वैदेशिक रोजगारीको ढोका खुल्दै गएपछि आईएमई पनि चम्कँदै गयो । अचेल ‘विदेशबाट पैसा पठाउनु’ भनेकै ‘आईएमई गर्नु’ भनिन्छ । अर्थात् रेमिट्यान्सको सेतु बनेको छ, आईएमई, जुन ढकालको सपनाको साकार परिदृष्य हो ।

यसपछि त ढकालको व्यावसायिक यात्राले चन्द्रागिरिको पहाडसमेत छिचोल्यो । रेमिट्यान्स, बैंकिङ, इन्स्युरेन्स, पर्यटन, पूर्वाधार, जलविद्युत्, सूचना प्रविधि, अटोमोबाइल, कार्गो र चन्द्रागिरि केबलकारगायतमा उनको व्यवसायको क्षितिज फराकिलो हुँदै गयो । ट्राभल एण्ड टुर्स, औषधि र अन्य व्यापारमा पनि उनको उत्तिकै लगानी छ । आईएमई मात्र होइन, अहिले उनी ग्लोबल आईएमई बैंक र चन्द्रागिरि हिल्स लिमिटेडका अध्यक्ष छन् ।

आईएमईको सफलताका कारण ढकालले महत्त्वपूर्ण व्यावसायिक व्यक्ति (सीआईपी) सम्मान प्राप्त गरिसकेका छन् । रेमिट्यान्स कम्पनीहरूमध्ये सबैभन्दा बढी कर तिरेकोमा आईएमईले तीन पटकसम्म ठूला करदाताको सम्मान पनि पाइसकेको छ । हाल नेपाल भित्रिने कुल रेमिट्यान्समध्ये करिब ३० प्रतिशत आईएमईबाटै आउँछ ।

केबलकार सपना

चन्द्रागिरि डाँडोमा अचेल हिउँ पर्नै हुन्न, मानिसहरूको ताँती लाग्छ । हिउँ पर्दाको के कुरा, अरू बेला पनि त्यहाँ पुगेर भालेश्वर महादेवको दर्शन गर्ने, उत्तरतिरका हिमश्रृंखलालाई पृष्ठभूमिमा पारेर सेल्फी खिच्ने, चित्लाङसम्म घुम्न जाने, रिसोर्टमा बास बस्ने र काठमाडौंं उपत्याकाको विहंगम दृष्य हेर्नेहरूका लागि चन्द्रगिरि केवलकार यस्तो माध्यम बनेको छ, जसले करिब १२ मिनटमै मानिसलाई त्यहाँ पु-याइदिन्छ ।

एक दिनमै डाँडोमा पुगेर केही घण्टा रमाएर काठमाडौं उपत्यका फर्किंनसक्ने भएपछि अचेल केबलकार लोकप्रिय भएको छ । यो अब एक हिसाबले राष्ट्रिय सम्पदा नै भएको छ । पतजञ्ली योगपीठका बाबा रामदेव र बालकृष्ण महाराज हुन् या ओमान र साउदी अरेबियाका मन्त्री र सेखहरू नै किन नहुन्, काठमाडौं आएको बेला चन्द्रागिरि डाँडोमा केबलकार चढेर पुगेकै हुन्छन् ।

भूकम्प, नाकाबन्दी र कोरोना कहरका बीच पनि केबलकार चलाएर उनले मुलुकको आर्थिक गतिविधिलाई चलायमान बनाइरहे । अहिले केबलकारकै कारण चन्द्रागिरि डाँडा दक्षिणतिरका चित्लाङ, मार्खुको पर्यटकीय सम्भावना पनि ह्वात्तै बढेको छ ।

खासगरी शुक्रबार साँझ केबलकार चढेर चित्लाङ र मार्खु घुम्ने अनि आइतबार बिहानै काठमाडौं फर्किनेहरूको ताँती लाग्छ । केबलकार नहुँदा मानिसहरू ठाडो उकालो हाइकिङ या अप्ठ्यारो बाटोमा गाडीमा जानुपथ्र्यो । अचेल सहजै र छिटो त्यो ठाउँमा आन्तरिक र बाह्य पर्यटकहरू पुग्न सक्छन्, जसमा केबलकारको ठूलो भूमिका छ ।

केबलकारको महत्त्व धार्मिक रूपमा पनि बढेको छ । पौराणिककालमा महादेवले सतीदेवीको मृत शरीर बोकेर पृथ्वी भ्रमण गर्ने क्रममा चन्द्रागिरि पर्वतमा पुगेका थिए । हिमवत् खण्डको ९८ र ९९ औं अध्यायमा वर्णन गरिए अनुसार चन्द्रागिरि डाँडामा महादेव पुग्दा सतिदेवीको भाल अर्थात् निधार पतन भई शिवलिङ्ग उत्पत्ति भयो ।

भाल पतन भएर उत्पत्ति भएका महादेवलाई ‘भालेश्वर’ भनियो । भालेश्वर महादेवको दर्शन गरेर स्वर्गका सुमुख नामक गन्धर्व र पाटन निवासी विरूपाक्षले पापबाट मुक्ति पाएको किंवदन्ती छ । यही पौराणिक महत्त्वको संरक्षण गर्न यहाँ भालेश्वर मन्दिर निर्माण गरियो । चन्द्रागिरि केबलकारका कारण यो क्षेत्र अचेल धार्मिक महत्त्वको केन्द्र बन्न पुगेको छ ।

केबलकारले यो क्षेत्रको ऐतिहासिक महत्त्व पनि नयाँ पुस्तामाझ उजागर र प्रचार गरिरहेको छ । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले काठमाडौंमा आक्रमण गर्नुअघि चन्द्रागिरि डाँडामा आएर उपत्यकाको सौन्दर्य देखेका थिए । मकवानपुरबाट गोरखा फर्कंदा पृथ्वीनारायण शाह चन्द्रागिरि हुँदै फर्केका थिए ।

काठमाडौं उपत्यकाको समतल फाँट, कञ्चन जलसहित बगिरहेका बागमती, विष्णुमती, इच्छुमती, मनहरा नदीहरू र उत्तरको आकर्षक हिम श्रृंखला देखेपछि पृथ्वीनारायण शाहमा काठमाडौं कब्जा गर्ने प्रेरणा जागेको थियो । इतिसकार प्रा.डा. दिनेशराज पन्तले आफ्नो पुस्तकमा लेखे अनुसार पृथ्वीनारायण शाहसँगै चन्द्रागिरि आएका ज्योतिषीद्वय भानु अज्र्याल र कुलानन्द ढकालले ‘राजाको इच्छा साकार हुने’ भविष्यवाणी गरेका थिए । केबलकार जब बन्यो र मानिसहरू चन्द्रागिरि ओहोर दोहोर गर्न थाले, तब इतिहासको यो पाटो झन् मुखरित भएर आयो ।

चन्द्रागिरि चुचुरोबाट सर्वोच्च शिखर सगरमाथादेखि गणेश, जुगल मात्र होइन, नेपालका अधिंकाश हिमाल देख्न सकिन्छ । जंगलले ढाकिएको, पन्छी तथा जीवजन्तुको कल्याङमल्याङ हुने अनि स्वच्छ हावासँगै बादलु छटाहरूले ढाकिरहने चन्द्रागिरि डाँडाको सौन्दर्यपान गर्ने अवसर केबलकारले नै जुटाइदिएको हो । सूर्योदय र सूर्यास्तको अदभूत दृष्य हेर्न यहाँ आउनेहरूको कुनै कमी हुँदैन ।

यसरी धर्म, संस्कृति, प्रकृति र इतिहाससँगै यातायात, अर्थ र पर्यटन प्रवर्दनमा समेत योगदान दिइरहेको केबलकार चन्द्र ढकालको जीवनको कोशेढुंगो हो, जसले सदा उनलाई अमर बनाउनेछ । चन्द्रागिरि डाँडामा उभिएर सेल्फी खिचाउँदै, कफी खाँदै रमाइरहेका युवा पुस्ताको हरेक मुस्कानमा ढकालको सपनाको विम्बको आलोक देख्न सकिन्छ ।

खरदार बने बैंकका मालिक

सरकारले ‘क’ वर्गका बैंक तथा वित्तीय संस्था गाभ्ने नीति ल्याएपछि ग्लोबल आईएमई र जनता बैंक मर्ज भयो । ग्लोबल आइएमई बैंक पुँजीलगायत विभिन्न मापदण्डका आधारमा नेपालकै ठूलो बैंक बन्न सफल भयो ।

कुनै बेला राष्ट्रिय बाणिज्य बैंकका सहायक तहका कर्मचारी ढकाल करिब साढे दुई दशकमै देशको सबैभन्दा ठूलो बैंकको अध्यक्ष बन्न सफल हुनु चानचुने होइन । उनको यो सफलता नयाँ पुस्ताका लागि प्रेरक छ ।

महासंघको बागडोर सम्हाल्दै

व्यवसायमा हात हालेको दुई दशकमै उनको ख्याति र सफलता कुन हदसम्म चुलियो भने उनी यतिबेला उद्यमी–व्यवसायीहरूको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्ष छन् ।

०७७ मंसिर १४ गते भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी तीन दशकदेखि महासंघमा सक्रिय उद्यमी किशोर प्रधानलाई हराउँदै ढकाल महासंघको वरिष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् । वर्तमान अध्यक्ष शेखर गोल्छापछि विधानतः अब उनी महासंघको २० औं अध्यक्ष बन्ने पक्का छ ।

महासंघमा एक दशकको सक्रियतामै अध्यक्ष पदसम्म पुग्ने सम्भवतः ढकाल नै पहिला व्यवसायी हुन् । व्यवसाय र महासंघको नेतृत्वमा कम समयमै यसरी छलाङ लगाउन सक्नुमा ढकालको सहृदयी व्यक्तित्व, नम्र बोली, मिलनसार स्वभाव र सबैलाई रिझाउन सक्ने खुबीकै देन छ । ढकालको यो सफलता उद्यम र व्यवसायमा आउन चाहने नयाँ पुस्ताका लागि प्रेरक छ ।

आफ्नै प्रकाशले चम्किएका चन्द्र

औंसीको रातमा चन्द्रमा देखिँदैन । शुक्ल पक्ष प्रतिपदाबाट मात्र चन्द्रमाको आकृति देखिन्छ र क्रमशः हरेक दिन आकार बढ्दै जान्छ । पूर्णिमाको रातचाहिँ पूर्ण चन्द्रको अदभूत आलोक पृथ्वीमा वर्षिन्छ ।

चन्द्र ढकालचाहिँ यस्ता चन्द्र हुन, जो औंशीको रातमा पनि हराएनन् । भूकम्प होस् या नाकाबन्दी अनि कोराना कहर नै किन नहोस्, उनी यस्ता अनेक औंशीको रातजस्ता घडीमा पनि उदाउन र चम्किन छाडेनन् ।

चन्द्रमा त कहिले सानो, कहिले ठूलो हुन्छ । पूर्णीमाको चन्द्रमा पनि कृष्ण पक्षमा आकार घट्दै गएर औंशीमा बिलाउँछ । तर, चन्द्र ढकालचाहिँ भर्भराउँदो, हुर्कंदो चन्द्रझैं पूर्णिमातर्फ लम्किरहेकै छन् । उनको व्यावसायिक सफलता हरेक दिन पूर्ण चन्द्रतर्फ अग्रसर छ । व्यवसायमा अहिलेसम्म उनले कुनै औंशीको रातको सामना गर्नु परेको छैन ।

किनकि, चन्द्रमा त सूर्यको प्रकाशले चम्किने हो, तर चन्द्र ढकालको व्यावसायिक प्रकाशचाहिँ उनको आफ्नै मिहिनेत हो, उनको आफ्नै इमानदारिता, लगन र कर्मयोगी स्वभाव हो । जो व्यवसायीसँग आफ्नै कर्मको प्रकाश हुन्छ, त्यो व्यवसायीको चन्द्रमा सदा चम्किरहन्छ, चन्द्र ढकालझैं ।