NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते
‘कमेडी एक्टर’ राष्ट्रपति हुँदाको ‘ट्राजेडी’ !

हास्य रसले युक्रेनमा निम्त्याएको करुण रस

काठमाडौं । एउटाको नाम भ्लादिमिर, अर्कोको नाम भ्लोदिमिर । नाम करीब करीब मिले पनि रुसी राष्ट्रपति भ्लादिमीर पुटिन र युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की यतिबेला युद्धको मैदानमा भिडिरहेका छन् ।

रुसी सेना यतिबेला युक्रेनमाथि तीब्र आक्रमण गरिहेका छन् । रुसले युक्रेनका दोनत्स्क र लुआन्स्कलाई स्वतन्त्र क्षेत्र घोषित गर्दै सोही भूमिमार्फत युक्रेनका खार्किवलगायात कृष्णसागर क्षेत्रमा कब्जा जमाउँदै अहिले करिबकरिब किब शहरमा कब्जा जमाउने तरखरमा छ । क्रिमियाबाट रुसी सेनाका सयौं ट्रकहरु युक्रेनतिर गइरहेका छन् भने लडाकु विमानले आकाशबाट बमको वर्षा गरिरहेका छन् ।

यो सँगीन घडीमा पनि युक्रेनका राष्ट्रपति जेलेन्स्कीले हिम्मत हारेका छैनन् । रुससँग लडिरहेका छन् र केही रुसी विमान र युद्धपोतहरुलाई ध्वस्त बनाइसकेका छन् । उनले आफ्ना युवादेखि बृद्ध नागरिककसम्मलाई युक्रेनको रक्षाका लागि रणमैदानमा उत्रनसमेत आब्हान गरेका छन् ।
रुसी आक्रमणको पहिलो दिन नै युक्रेनका १३७ सेना मारिए, जसमा १० जना सैन्य अधिकारीसमेत छन् । तैपनि राष्ट्रपति जेलेन्स्कीले हिम्मत नहार्न र डटिरहन आफ्ना सेनालाई हौसला दिइरहेकै छन् । तर, युक्रेनलाई रुससँग धेरै दिन टिक्न असंभव छ । आफ्ना करिब साढे दुइ लाख सेनाको भरमा रुससँग लडन असम्भव छ भन्ने हेक्का हुँदाहुँदै पनि उनले लड्न छाडेका छैनन् ।

यसबिचमा राष्ट्रपति जेलेन्स्कीले युरोपेली संघ र पश्चिमी राष्ट्रहरुसँग सहयोगको याचना गरे । अमेरिकी राष्ट्रपति जो वाइडेन, फ्रान्सका राष्ट्रपति रम्यानुएल म्याक्रो र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग फोनवार्ता पनि गरे । तैपनि कतैबाट उनलाई सहयोग प्राप्त भएन । भारतले त ‘शान्तिपूर्ण बार्ताबाट हल खोज्ने’ आदर्शबादी राग अलापिरहेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले हालसम्मका दुइवटा घोषणामा रुसमाथि आर्थिक प्रतिबन्ध लगाउने घोषणा त गरे, तर युक्रेनलाई तत्काल अपरिहार्य सैन्य सहयोग भने नगर्ने बताए । अर्थात् पश्चिमा राष्ट्रका सेनाहरु युक्रेनलाई सघाउन युद्ध मैदानमा नजाने भए ।

अहिले जेलेन्स्की एक्लै रुससँग भिडिरहेका छन् । युक्रेनलाई रुसविरुद्ध उचाल्ने पश्चिमा राष्ट्रहरु यतिबेला युक्रेनको बर्बादीको रमिता हेिररहेका छन् । यसै कारण राष्ट्रपति जेलेन्स्कीले शुक्रवार मात्र रुसी राष्ट्रपति पुटिनसँग वार्ताको प्रस्ताव राखेका छन् । तर, आक्रामक भइसकेका पुटिनले ‘युक्रेनले हतियार बिसाएर समर्पण गरेमा मात्र वार्ता हुने शर्त’ अघि सारेका छन् । युक्रेनमा यतिबेला घनघोर निरासा, भय र आतंकको माहोल छ ।
‘कमेडी’देखि ‘ट्राजेडी’सम्म

युक्रेनका राष्ट्रपति जेलेन्स्की कुनैबेला मानिसहरुलाई हँसाउथे, तर अहिले उनको मुहारमा पीडा र वेदना झल्किन्छ । सन् २०१९ मा युक्रेनको बागडोर सम्हाल्नुअघि उनी एक हास्य अभिनेता थिए ।

जेलेन्स्कीको जन्म सन् १८७८ जनवरी २५ मा दक्षिणपूर्वी युक्रेनको क्राइरियामा भएको थियो । क्राइरिया यस्तो क्षेत्र हो, जहाँ अहिले पनि रुस समर्थित शक्तिहरुको बोलबाला छ । यसर्थ बाल्यकालदेखि नै उनले रुस र युक्रेनबिचको कटुता महसुस गर्न पाए ।
उनका पिता प्राध्यापक थिए भने आमा इन्जिनियर । उनका हजूरबुबा सिमोन इवानोविच जेलेन्स्की दोश्रो विश्वयुद्धमा रेड आर्मीमा थिए । सोही युद्धमा सिमोनका पिता र तीन जना भाईहरु हलोकास्टमा मारिएका थिए ।

यहुदी परिवारमा जन्मिएका जेलेन्स्कीले कानूनमा मास्टर डिग्रीसम्मको पढाई गरेका छन् । तर, उनले कहिल्यै वकालत गरेनन् । बरु, उनले अभिनयको बाटो रोजे । १७ वर्षको उमेरमै उनले अभिनय प्रतियोगिताहरुमा भाग लिन थालिसकेका थिए । अन्ततःः उनी हास्य अभिनयको क्षेत्रमा आए ।

सन् १९९७ मा जब उनी १९ वर्षका थिए, उनले ‘कर्वातल–९५’ नामक एक प्रोडक्सन कम्पनी स्थापना गरे । त्यसपछि उनले कयौं चलचित्रमा अभिनय गरे, तिमध्ये केही चलचित्र रुसमा पनि सुपरटि भए ।

सन् २००८ मा प्रदर्शित उनको पहिलो चलचित्र ‘लभ इन द बिग सिटी’ र यसको सिक्वेलले उनलाई युक्रेन, बेलारुस र रुसमा निकै लोकप्रिय बनाइदियो । उनको हास्य अभिनयलाई यी देशहरुमा निकै मनपराउन थालियो ।

अन्ततः हास्य अभिनय अर्थात् कमेडीकै कारण एकदिन यस्तो पनि क्षण आयो, जसले उनको जीवनकै बाटो मोडिदियो । उनी तब अत्याधिक चर्चामा आए, जब उनको टेलिभिजन शो ‘सरभेन्ट अफ द पीपल’ लोकप्रिय भयो । सन् २०१५ को यो टीभी शोमा उनले वाकपटुता भएका स्कूलका शिक्षकको भूमिका निर्वाह गरेका थिए ।

‘सरभेन्ट अफ द पीपल’ को कथानक रोचक थियो । यसमा जेलेन्स्की एक शिक्षकको भूमिकामा हुन्छन्, जसले एकदिन भ्रष्टाचारविरुद्ध दमदार भाषण दिन्छ । एक छात्रले शिक्षकको भाषणको भिडियो बनाउँछन् र त्यसलाई सामाजिक संजालमा शेयर गरिदिन्छन् । भिडियो भाइरल हुन्छ । शिक्षकको भाषण जनतालाई मनपर्छ, उनी लोकप्रिय हुन्छन् । अन्ततः शिक्षकले जीवनमै नसोचेको घटना हुन्छ, उनी देशकै राष्ट्रपति बन्छन् ।
टिभी शोको यो काल्पनिक कथा अन्ततः जेलेन्सीको जीवनमा यथार्थमै परिणत भइदिन्छ । टिभी शोका कलाकार जेलेन्स्कीमा युक्रेनका जनताले एउटा आशा देख्न थाल्छन् । शोको कथामा झैं यदि वास्तवमै यो हास्य कलाकारलाई युक्रेनको राष्ट्रपति बनाउने हो भने पक्कै यसले देशमा सकारात्मक परिवर्तन ल्याउनसक्छ भन्ने विश्वास युक्रेनका जनतालाई हुन थाल्यो ।

युक्रेनका जनता भ्रष्टाचारबाट आजित थिए र त्यसबाट मुक्ति चाहिरहेका थिए । जनतालाई लाग्यो, भ्रष्टाचार निर्मूल गर्न टिभीमा देखिने कमेडिन जेलेन्स्की नै उपयुक्त पात्र हुनसक्छ । जनताको व्यापक समर्थन र चाहना बुझेपछि जेलेन्स्की राजनीतिमा हामफाले । सन् २०१८ मा जेलेन्स्कीले युक्रेनको राष्ट्रपति पदको चुनावमा खडा हुने घोषणा गरे । यसका लागि उनले आफ्नो नयाँ दल पनि गठन गरे, जसको नाम उही चर्चित टिभी शोबाटै राखियो, ‘सर्भेन्ट अफ द पीपुल’ ।

जेलेन्स्कीले चुनाव प्रचारमा त्यही मुद्रामा प्रस्तुत भए, जसरी टिभी शोमा प्रस्तुत हुन्थे । टिभी शोमा जसरी शिक्षक पात्रले राष्ट्रपतिको चुनाव जितेको देखाइन्छ, सोही शैलीमा जेलेन्स्कीले वास्तविक चुनाव पनि जिते । उनी युक्रेनको राष्ट्रपति बन्न सफल भए ।

राजनीति ‘हँसी मजाक’ हैन

सायद जेलेन्स्कीलाई अहिले आएर महसुस भएको हुनुपर्छ, राजनीति कुनै टीभी शो या कमेडी हैन । अहिले जुन युद्ध भइरहेको छ, यो पनि कुनै चलचित्रको दृश्य हैन । टिभी शोका माध्यमबाट सारालाई हँसाउने जेलेन्स्की अहिले निरास देखिन्छन् । उनको हास्य मुद्रामा चिन्ताको कालो बादल छाएको छ । कमेडी अहिले ‘ट्राजेडी’मा परिणत भएको छ ।

रुस र युक्रेनविच एउटा फरक के हो भने, एकातिर केजीबीमा सिक्रेट एजेन्ट रहिसकेका पुटिन छन्, जसले अनेकौं खुफिया मिसन सफल पारेर विश्वलाई छक्याएको अनुभव छ । अर्कोतिर अभिनय, कमेडीको पृष्ठभूमिबाट आएका र राजनीतिदेखि युद्धसम्मको कुनै अनुभव नभएका जेलेन्स्की छन् ।

यसबाट एउटा कुरा स्पष्ट हुन्छ, राजनीति हाँसीमजाक हैन, जोक हैन । यो एक संवेदनशील, गम्भीर, जटिल र संघर्षमय आयाम हो । नेपालमा पनि केपी शर्मा ओलीदेखि अन्य थुप्रै नेताहरुले राजनीतिलाई ‘मजाक’ बनाए । गम्भीर र संवेदनशील विषयलाई पनि सँधै उखान टुक्का र उटपटयाङ गफले हाँसोमा उडाउने काम गरियो ।

ओलीजस्ता यस्तै नेतालाई हामीले शीर्ष स्थानमा पु¥यायौं, उनका टुक्के गफमा ताली बजायौं । यही कारण अहिले नेपाल पनि चौतर्फी संकटमा फँसेको छ । युक्रेनमाथि जसरी रुसले हमला गरिरहेको छ, त्यस्तै नियति भारत या चीनबाट नेपालले नभोग्ला भन्न सकिन्न । किनकी, हाम्रा नेताहरुमा ‘सेन्स अफ ह्यूमर’ त प्रचुर छ, तर ‘सेन्स अफ रेस्पोन्सीविलिटी’ पटक्कै छैन ।

परिपक्वता र अनुभवको कमी

अहिले युक्रेन जुन संकटमा फँसेको छ, त्यसको मुख्य कारण राष्ट्रपति जेलेन्स्की नै हुन् भन्ने पनि एकथरीको विश्लेषण छ । खासगरी पश्चिमा मिडियामा कतिपय विश्लेषकहरु ठान्छन्, युक्रेनले एक हास्य कलाकारलाई राष्ट्रपति बनायो, जसमा राजनीतिक परिपक्वताको अभाव छ ।
अर्थात्, विश्व राजनीतिकै ध्यान केन्द्रित भएको युक्रेनमा यस्तो राजनेता सत्तामा हुनुपथ्र्यो, जसले आफ्नो सुझबुझ, परिपक्वता र कुशलताले ठूला राष्ट्रको आक्रमणबाट आफूलाई बचाउन सकोस् । अहिले जेलेन्स्कीको फोन कल पुटिनले उठाइरहेका छैनन् । सामरिक र रणनीतिक अनुभव नभएका जेलेन्स्कीले जो वाइडेनदेखि मोदीसम्म, सि चिन फिङदेखि अन्य शक्ति राष्ट्रका नेताहरुसँग वार्ता गर्नुपर्छ ।

तर, अन्य विश्व नेताको उचाईको तुलनामा जेलेन्स्कीको व्यक्तित्व, अनुभव र प्रभावकारिता देखिदैन । अन्र्तराष्ट्रिय व्यक्तित्वको अभावकै कारण उनले विश्वमा आफ्नो पक्षमा लबिङ गर्न सकिरहेका छैनन् । ताइवानका मामिलामा जसरी विश्व समुदायले चीनमाथि दबाब दिइरहेको छ, त्यस्तै दबाब युक्रेनका मामिलामा रुसमाथि सिर्जना गर्न उनले सकेनन् ।

युक्रेनका राष्ट्रपतिको अर्को कमजोरी भनेको छिमेकमा रहेको ठूलो शक्ति राष्ट्र रुसलाई रिझाउन नसक्नु पनि हो । युक्रेनमा रुसविरुद्ध एकखालको आक्रमक जनमत तयार गरियो । नेपालमा कसैले भारत त कसैले चीनको विरोधमा होहल्ला गरे झैं युक्रेनमा रुसविरुद्ध जमनत निर्माण गरियो ।

युक्रेन विस्तारै पश्चिमाहरुको चँगुलमा फँस्दै गयो । युक्रेनमाथि प्रभाव जमाएर रुसलाई तारो बनाउन उसलाई नाटोकै सदस्य बनाउने प्रयास हुन थाल्यो । नेपाली नेताहरु जसरी चीनतिर बढी लहसिंदा भारतलाई चित्त बुझ्दैन या कुनै नेता बढी भारतपरस्त हुँदा चीनलाई चिन्ता हून्छ, त्यस्तै आफ्नो छिमेकी युक्रेनले पश्चिमाहरुको भाउँतोमा लाग्दा रुसले आफ्नो सुरक्षामा संकट देख्नु पनि स्वभाविकै हो ।

युक्रेन नाटोको सदस्य भयो र त्यहाँ पश्चिमा राष्ट्रले सैन्य बेस बनायो भने त्यसले ठाडै रुसको सुरक्षामा चुनौती खडा गर्छ । अतः आफ्नो राष्ट्रिय सुरक्षाका लागि रुस आक्रामक हुनु पनि अस्वभाविक हैन । यस्तो बेला युक्रेनले आफ्नो राष्ट्रिय हित ठम्याउन सक्नुपथ्र्यो । उसले रुससँग मैत्रीपूर्ण सम्बन्ध राख्दै रुसको सुरक्षा चासोको उचित संबोधन गर्नुपथ्र्यो र त्यसबापत रुसबाट आफ्नो देशको समृद्धि , विकास र सुरक्षाको प्रत्याभूति गर्नुपथ्र्यो ।

मित्र फेर्न सकिन्छ, छिमेकी फेर्न सकिन्न । रुसको सुरक्षा र आर्थिक स्वार्थको मुख्य आयाम प्राकृतिक ग्यास र तेल भएकाले युक्रेनले यस मामिलामा रुससँग रणनीतिक र आर्थिक साझेदारी गर्न सक्नुपथ्र्यो । तर, यसमा हास्य अभिनेता जेलेन्स्कीले रणनीतिक सुझबुझ देखाउन सकेनन ।

प्रारम्भिकक दिनहरुमा रुस र युक्रेनबीच सबै ठिकठाक चलिरहेको थियो, तर विस्तारै जेलेन्स्की र रुसी राष्ट्रपति पुटिनविचको सम्बन्ध बिग्रन थाल्यो । युक्रेनका रुसी भाषी नागरिकमाथि जेलेन्स्कीले भेदभाव गर्न थालेको आरोप पुटिनले लगाउन थाले । पूर्वी क्षेत्रमा भइरहेको संघर्षलाई समाधान गर्न जेलेन्स्कीले कुनै चासो नदिएको पनि रुसको आरोप थियो । यसबारेमा अमेरीकी राष्ट्रपति र पुटिननसँग शिखर सम्मेलन गर्ने जेलेन्स्कीको प्रस्तावलाई मस्कोले अस्वीकार गरेपछि विस्तारै युद्धको बातावरण बन्दै गयो ।

राष्ट्रपति जेलेन्स्कीले आफनो देशका रुसी भाषी नागरिकमाथि भेदभाव नगरेको भए, पश्चिमाहरुको भाउँतोमा लागेर नाटोको सदस्य बन्न नखोजेको भए र रुससँग आर्थिक र रणनीतिक साझेदारी गरेको भए सायद रुसले त्यहाँ युद्ध गर्दैनथ्यो । ठूला राष्ट्रको छिमेकमा हुने साना राष्ट्रले आफुलाई कसरी बचाउने र आफ्ना जनताको समृद्धि सुनिश्चित गर्ने भन्ने नीति बनाउनुपर्छ ।

नेपाल पनि चीन र भारतजस्ता दुई विशाल शक्ति राष्ट्रको बीचमा छ । हाम्रा नेताको पारा पनि जेलेन्स्कीकै जस्तो छ । कहिले उनीहरु चीनतिर ढल्किन्छन्, कहिले भारततिर । अनि कहिले अमेरिका र युरोपका एजेन्डाको पछि लाग्छन् । चीन र भारतलाई सन्तुलनमा राखेर पश्चिमाहरुबाट सहयोग लिदै, कसैको पनि सुरक्षा चुनौती नबन्दै देशको विकास गर्ने सुझबुझ जसरी नेपाली नेताहरुले देखाउन सकेनन्, त्यसैगरी युक्रेनका राष्ट्रपति पनि अपरिपक्व देखिए ।

किनकी, राजनीति र कुटनीति उखानटुक्का या कमेडी हैन, यो एउटा जटिल, गम्भीर र द्वन्द्वात्मक आयाम हो, यसमा सुझबुझ र परिपक्वता अपरिहार्य छ ।