NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

आन्तरिक विवादले माओवादी केन्द्रीय कमिटी बैठक प्रभावित

काठमाडौं । सत्तारुढ दल नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठकमा अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौता अनुमोदको विषयले पूर्वनिर्धारित एजेण्डा प्रभावित हुने भएको छ । विवादकै कारण बिहान ११ बजे राष्ट्रियसभामा बस्ने भनिएको बैठक दिउँसो १ बजे सरेको छ ।

पुस ११ देखि १८ सम्म काठमाडौं भएको आठौं महाधिवेशनले २३६ सदस्य अपुरो केन्द्रीय कमिटी चयन गरी सकिएको थियो ।

महाधिवेशन पछि पुस १९ मा बसेको प्रमथ केन्द्रीय कमिटी बैठकले अध्यक्षमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुनः निर्विरोध निर्वाचित गरेको थियो । १५ सदस्य पदाधिकारीमा आकांक्षी धेरै भएपछि बैठक नै नबसी पटक–पटक स्थगित हुँदै आएको थियो ।

शुक्रबारको बैठकमा यसअघि तय भएको सांगाठनिक कार्यविभाजन, पदाधिकारी चयन, स्थानीय तह निर्वाचनलगायतका एजेण्डा एमसिसीका कारण प्रभावित हुने देखिएको छ ।

आठौं माहाधिवेशनको निर्णयविपरीत अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गैरकानूनी बैठक राखी एमसिसी सम्झौता अनुमोदनका गर्ने निर्णय गरेको भन्दै पूर्वएकता केन्द्रका नेताहरू आक्रोशित भएका छन् ।

‘आठौं माहाधिवेशनको म्याण्डेटविपरीत एमसिसी पास गर्ने निर्णय आपत्तिजनक छ । यसबारे हामी बैठकमा जोडदार ढंगले उठाउँछौं’, केन्द्रीय सदस्य लिलामणि पोखरेलले भने, ‘राष्ट्रघाती एमसिसी पास गर्न पार्टी नेतृत्वले खेलेको भूमिकाले पार्टीकै बदनाम भएको छ । हामी कुनै हालतमा सम्झौतालाई लागू हुन दिँदैनौं ।’

एमसिसीको सम्बन्धमा वैचारिक मतभेद भएपनि पार्टी विभाजनको पक्षमा आफूहरू नरहेको जिकिर गरेका छन् ।

त्यस्तै अर्का केन्द्रीय सदस्य लेखनाथ न्यौपानेले एमसिसी संसदबाट अनुमोदन गरेर पार्टी नेतृत्वले माओवादी केन्द्रलाई एमाले र कांग्रेसको कित्तामा उभ्याएको आरोप लगाएका छन् । ‘एमसिसीको सम्बन्धमा नेतृत्वको असक्षमताले पार्टीलाई ठूलो क्षति भएको छ । यस विषयमा बैठकमा खुलेर बहस गर्छौं,’ उनले भने, ‘एमसिसीमा पार्टीभित्र अन्तर्विरोध चर्किए पनि विभाजनको मानसिकताबाट हेर्न बुझ्न हुँदैनौं । पार्टी विभाजनले समस्या समाधानको हल निस्कदैन ।’

तर अर्का केन्द्रीय सदस्य रामप्रसाद सापकोटा ‘दीपशिखा’ले नारायणकाजी श्रेष्ठको असन्तुष्टिले पार्टीभित्र कुनै अर्थ नराख्ने जिकिर गरेका छन् ।
‘पार्टी विभाजन गर्छु भन्ने उहाँहरूको घुर्कीमात्र हो । उहाँहरूको असन्तुष्टिले केही अर्थ राख्दैन’, सापकोटाले भने, ‘एमसिसी सम्झौता अनुमोदन बाध्यात्मक परिस्थितिमा नेतृत्वले लिएको उपयुक्त निर्णय हो ।’

असन्तुष्ट समूहका नेता नारायणकाजी श्रेष्ठले व्याख्यात्मक टिप्पणीसहित एमसिसी पास गरेकोमा असन्तुष्टि जनाउँदै अध्यक्ष प्रचण्डको आलोचना गरेका थिए ।

श्रेष्ठ पक्षका सांसद गिरिराजमाणि पोखरेल र अञ्जना बिशंखेले एमसिसीको विपक्षमा मतदान गरेका थिए । त्यस्तै कृष्णबादुर महरा, जयपुरी घर्ती, यशोदा गुरुङ, रेखा शर्मालगायतले बैठक बहिस्कार गरेका थिए ।

फागुन १६ मा अध्यक्ष प्रचण्डले गरेको पत्रकार सम्मेलनमा पार्टी छोडेर गए पनि केही फरक नपर्ने टिप्पणी गरेका थिए । एमसिसी प्रकरणमा दुई शीर्ष नेताबीचको झगडाका कारण पूर्वनिर्धारित एजेण्डा ओझेलमा पर्ने देखिएको छ ।