NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

गाउँमा मन्दिर निर्माण गर्दै ‘बालधामी’

सुनिल मण्डेल (बझाङ) – जिल्लाको छब्बीस पाथीभेरा गाउँपालिका वडा नं. ७ स्थित घट्टे गाउँमा बालधामी सुवास मण्डेल मन्दिर निर्माण गरिरहेका छन् । घट्टेमा रहेको धौलपुरा मन्दिरको स्तोरन्नतिका लागि विकास निर्माणमा मण्डेल लागिपरेका छन् ।

सुन्दरपुर युवा संगठन समितिले आयोजना गरेको उक्त धौलपुरा मन्दिरको मंगलबारबाट काम थालिएको हो । केही महिनाअघि मात्रै गठन गरिएको सुन्दरपुर युवा संगठन समितिले मन्दिर निर्माणका लागि आवश्यक आर्थिक संकलन अभियान चलाएको थियो ।

धौलपुरा मन्दिर निर्माणका लागि अर्थ पनि निकै जुटेको समितिका अध्यक्ष तथा बालधामी मण्डेलले बताए । गाउँघरमा देउसी भौंलो खेलेर चन्दा संकलन गरी ५-६ लाख रुपैयाँ जम्मा गरेको उनले जानकारी दिए ।

स्थानीय सरकारले पनि मन्दिर निर्माणको लागि आर्थिक सहयोग गरेको उनले बताए । सहयोगी मनहरूलाई मण्डेलले धन्यवादसमेत व्यक्त गरेका छन् ।

“सुन्दरपुर युवा संगठन समितिमार्फत गाउँमा भौतिक संरचना निर्माण गर्ने, विकास निर्माणमा जोड दिने, गाउँमा भएका सबै नराम्रा क्रियाकलापलाई मध्यनजर गरी यसको रोकथाम र न्यूनीकरण गर्ने आफ्नो लक्ष्य रहेको छ’, अध्यक्ष मण्डेलले भने, “मन्दिर निर्माण मात्र नभइ समाजमा रहेका नराम्रा कामहरू, सामाजिक कुप्रथा तथा जाडरक्सी पिएर होहल्ला गर्ने गराउने प्रवृत्ति न्यून गर्ने कार्यको सुरुवात गर्न युवा संगठन समिति गठन गरेका हौं ।“

पहिलो प्राथमिकता आफूहरूले मन्दिर निर्माणमा दिएको बताए । साथै उनले साउन महिनासम्ममा मन्दिर निर्माणकार्य सम्पन्न गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

घट्टे गाउँमा अहिले सुर्मा, धौलपुरा र लाँगा गरी तीन देवताका मन्दिर छन् । उक्त मन्दिरहरुमा साउन महिनामा विशेष मेला “उवासु“ लाग्ने गरेको छ ।

अध्यक्ष मण्डेल आफैं बालधामी हुन् । उनी १३ वर्षको उमेरदेखि गाउँघरमा ‘धामी’को काम गर्दै आएका छन् । उनी अहिले २१ वर्षका भए । स्थानीयले धौलपुरा देउता चढेको भन्दै उनलाई पूजाआजा गरेर धामी (देवता आउने) बनाए । मण्डेल स्कुल छाडेर देउताको शरणमा छन् । धामी बनेपछि उनले १० कक्षासम्म मात्र पढ्न पाए ।

‘साथीहरूले झै स्कुल जान, रमाइलो गर्न, हाँस्खेल गर्ने मन छ । तर, के गर्नु रहर सबै पूरा नहुँदा रहेछन् । देवताले रोजेपछि सबै रहर मारेर धामी भएको छु । देवताले चाहेको नगरौं भने पनि देवता रिसाउने डर हुन्छ,’ मण्डेलले भने, ‘अहिले सबै चाहना मारेर देउताकै भक्तिमा लागेको छुँ ।’