NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते

रुस–युक्रेन युद्धः के हो रासायनिक हतियार ?

काठमाडौं । युक्रेनले जैविक हतियार बनाइरहेको आरोप लगाउँदै रुसले शुक्रबार संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा आपतकालीन बैठक बोलायो । युक्रेनले रुसको दाबीलाई खण्डन गर्दै रुस ‘फल्स फ्ल्याग अभियान’को हिस्सा भएको प्रतिक्रिया दियो । अमेरिकाले पनि रुसले युक्रेनमाथि गरिरहेको आक्रमणलाई जायज ठहर्याउन यस किसिमको झुटो बहाना बनाएको बतायो ।

युक्रेन सरकारका अनुसार लामो समयदेखि वैज्ञानिकले मानिसलाई कोभिड–१९ महामारीबाट बचाउन वैधानिक रुपमै प्रयोगशालामा काम गरे । तर अहिले युक्रेनमा युद्ध भइरहेको बेला विश्व स्वास्थ्य संगठनले युक्रेनसँग आफ्नो प्रयोगशालामा रहेको खतरनाक पेथोजेन (भाइरस, ब्याक्टेरिया) नष्ट गर्न भन्यो ।

रुस र युक्रेनबीच युद्ध रुस भएपछि चर्चामा रहेको रासायनिक हतियार वास्तवमै के हो ? यस्ता हतियारहरूमा विषाक्त र रासायनिक तत्व रहन्छ, जसले मानिसको शारीरिक प्रणालीमा क्षति पुर्याउँछ ।

रासायनिक हतियारहरु धेरै प्रकारका छन् । जसमध्ये केही हतियारका रासायनिक तत्वले फोक्सो श्वासप्रश्वास प्रणालीमा आक्रमण गर्छन, यसका कारण सास फेर्न नसकेर मानिसको ज्यान जान्छ ।

अर्कोथरी हतियारमा मस्टर्ड ग्यास हुन्छ, यसले छाला जलाउने र दृष्टिविहीन बनाउँछ । यसबाहेक ‘नर्भ एजेन्ट’ भनिने रासायनिक हतियारले दिमाग र शरीरका अंगबीचको सम्बन्ध नै टुटाउने काम गर्छ । यसको अति न्यून मात्रा पनि अत्यन्तै घातक हुन्छ । ०.५ मिलिग्राम एक वयस्क मानिसको मृत्युका लागि प्रशस्त हुन्छ ।

युद्धका क्रममा यी सबै रासायनिक एजेन्ट्स आर्टिलरी सेल, बम, मिसाइलमा प्रयोग हुन सक्छ । तर ‘रासायनिक हतियार महासन्धी १९९७’ ले यी सबै हतियार प्रयोगमा प्रतिबन्ध लगाएको छ । रुससहित विश्वका धेरै देशले यसमा हस्ताक्षर गरेका छन् । विश्वभर यी हतियारको अवैध प्रयोगमाथि निगरानी गर्न र यसको प्रसार रोक्न काम गर्ने संस्था ‘अर्गनाइजेसन फर द प्रोहिविसन अफ केमिकल विपन्स’ नेदरल्यान्डको हेगमा छ । यसभन्दा अगाडि यी हतियार प्रथम विश्वयुद्ध, ८० को दशकमा भएको इरान–इराक यद्ध र हालै सिरियाली सरकारले विद्रोहीविरुद्ध प्रयोग गरेको थियो ।

रुसले आफूसँग बाँकी रहेको रासायनिक हतियार सन् २०१७ मा नष्ट गरेको थियो । तर यसपछि दुईपटक भएका रासायनिक आक्रमणमा रुसको हात रहेको दाबी गर्दै आरोप लगाइएको छ ।

सन् २०१८ मा एक पूर्व केजिबी (रसियाली जासुसी एजेन्सी) अधिकारी सर्गेई स्क्रिपल र उनकी छोरीमाथि ‘नर्र्भ एजेन्ट नोभिचोक’ ले आक्रमण भएको थियो । रुसले यस आक्रमणको जिम्मा लिन अस्वीकार गर्यो । योसँगै रुसले यो हमला कसले गर्न सक्छ भनेर २० वटा विभिन्न तरिका बताएको पनि थियो ।

तर अनुसन्धानकर्ताहरुले रुसको जिआरयु मिलिट्री इन्टेलिजेन्सका दुई अधिकारीले गरेको पत्ता लगाएका थिए । यसकै कारण विभिन्न देशमा रहेका १२८ रुसी जासुस र कुटनीतिज्ञलाई उनीहरूको पदबाट बर्खास्त गरिएको थियो ।

यसपछि सन् २०२० मा रुसका प्रमुख विपक्षी नेता एलेक्सी नाभाल्नीमाथि पनि नोभिचोक नर्भ एजेन्टबाट हमला गरिएको थियो । जर्मनीमा गएर लामो समय उपचार गरेपछि उनी बाँचे ।

यस्तो अवस्थामा, रुस र युक्रेनबीच १७ दिनदेखि लगातार युद्ध भइरहेको छ । रुसले युक्रेनका मुख्य सहररुमा आक्रमण जारी राखेको छ । युक्रेनले पनि उच्च मनोबलसहित ‘डिफेन्स’ गरिरहेको छ । युक्रेन रुसको अगाडि हार नमान्ने र रुसले पनि युद्धविराममा सहमति नगर्ने स्थितिमा अमेरिका, नेटोलगायतले रुसले युक्रेनमाथि रासायनिक हतियारको प्रयोग गर्न सक्ने भन्दै चेतावनी दिइरहेका छन् ।

यदि यो युद्धमा रुसले विषाक्त ग्यासजस्ता हतियार प्रयोग गरेमा त्यसलाई लक्ष्मणरेखा नाघेको मानिने र त्यसविरुद्ध कारबाही गर्न पश्चिमा राष्ट्रलाई माग गरिनेछ । रुसले सिरियामा विद्रोहीलाई परास्त गर्न सहयोग गर्दा यी हतियारहरु प्रयोग गरेको कुनै प्रमाण त छैन तर रुसले सिरियाको बसर अल असद सरकारलाई भारी सैन्य सहयोग प्रदान गरेको थियो । त्यही समय सिरियाले आफ्ना नागरिकमाथि दर्जनौं रासायनिक आक्रमण गरेको थियो ।

लामो युद्ध भइरहेको समयमा आक्रमणकारीले अर्को पक्षलाई निराश पार्न रासायनिक हतियारहरु धेरै प्रभावकारी ठान्छन् । सिरियाले २०१२ देखि २०१६ सम्म अलेप्पोमा गरेको आक्रमण पनि पनि यस्तै गरेको थियो । यही कारणले पनि रुसले युक्रेनमाथि रासायनिक हतियार प्रयोग गर्न सक्ने सम्भावना ठानिएको छ । अमेरिकाले आरोप लगाएजस्तै रासायनिक हतियार आफैं प्रयोग गरेर दोष युक्रेनमाथि लगाउने रुसी चालबाजी रहेकोसमेत बताइन्छ ।

जैविक हतियारको कुरा गर्दा, यो रासायनिक हतियारभन्दा धेरै फरक हुन्छ । जैविक हतियार खतरनाक भाइरस, ब्याक्टेरियालाई भनिन्छ । खतरनाक भाइरसहरुबाट साधारण मानिसलाई जोगाउने र तिनीहरूलाई हतियारको रुपमा तयार पार्ने काममा धेरै भिन्नता छ । रुसले अहिलेसम्म युक्रेन सरकारमाथि जैविक हतियार विकास गरेको आरोप लगाए पनि यसको प्रमाण दिन सकेको छैन । सोभियत संघका समयमा रुसले ठूलो जैविक हतियारसम्बन्धी कार्यक्रम चलाएको थियो ।

जसलाई बायोप्रिपरेट नामक एजेन्सीले सञ्चालन गथ्र्यो । यस एजेन्सीमा ७० हजार मानिसले काम गरेका थिए । शीत युद्ध समाप्त भएपछि वैज्ञानिकहरू त्यहाँ पुग्दा सोभियत संघले एन्थ्रेक्स, स्मल पक्ससहित अन्य रोगसम्बन्धी प्याथेजेन तयार गरेको भेटे । दक्षिणी रुसको एक द्धीपमा जीवित बाँदरमा यी भाइरस र ब्याक्टेरियाको परीक्षण पनि गरियो । यतिमात्र होइन, यो एजेन्सीले पश्चिमी सहरहरुलाई लक्षित गरी लामो दूरीको अन्तर महादेशीय क्षेप्यास्त्रका वारहेडमा एन्थ्रेक्स जिवाणुहरु लोड गरेको थियो ।