NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ जेठ २ गते

के प्लास्टिक रोडले जाेगाउन सक्छ वातावरण ?

काठमाडौं । नयाँ दिल्लीको एक सडकमा दैनिक अनगिन्ती कारहरु प्लास्टिक झोला, बोत्तल, पोलिस्टाइन कपमाथि गुड्छन् । एक किलोमिटरमा एक टनभन्दा बढी प्रयोग गरिएका प्लास्टिक छन् । फोहोरको समुद्रमा अप्रिय यात्रा जस्ताे लागे पनि याे सडक चिल्लो र राम्रोसँग मर्मत गरिएको छ, वास्तवमा प्रत्येक चालकले पार गर्ने प्लास्टिक नाङ्गो आँखाले देख्न सक्दैनन् । यो सडकमा बिछ्याइएको प्लास्टिक हो ।

नयाँ दिल्लीदेखि मेरुतसम्म फैलिएको यो सडक भारतको थियागराजर कलेज अफ इन्जिनियरिङका रसायनशास्त्रका प्राध्यापक राजगोपालन वासुदेवले विकास गरेको प्रणाली प्रयोग गरिएको थियो । प्लास्टिकको प्रयोग गर्दा सडकमा १० प्रतिशत अलकत्राको बचत भएको बताइएको छ ।

भारत सन् २००१ देखि प्लास्टिक सडक परीक्षण गर्ने विश्वको शीर्ष देश बनिरहेको छ । पछिल्लो समयमा प्लास्टिकबाट सडक बनाउन परीक्षण गर्ने देशहरुको सूची बढ्दै छ । घानादेखि नेदरल्यान्डसम्म कार्बन उत्सर्जन घटाउन प्लास्टिक रोड र पदमार्गहरु बनाउने, समुद्र र जमिनमा प्लास्टिक कम गर्ने र औसत सडकको आयु सुधार गर्ने काम तीव्र भइरहेको छ ।

सन् २०४० सम्म विश्वभर प्रति वर्ष वातावरणमा १ अर्ब ३० करोड टन फाेहाेर प्लास्टिक उत्पादन हुने अनुमान गरिएकाे छ । भारत एक्लैले मात्रै एक वर्षमा ३३ लाख टन प्लास्टिक उत्पादन गर्छ । यही कारण बासुदेवनले प्लास्टिक सडक निर्माण गर्ने योजना सारेका थिए ।

यो धेरै सरल प्रक्रिया हो तर यसका लागि केही प्रविधिको आवश्यक पर्छ । सबैभन्दा पहिला टुक्रा पारिएका प्लास्टिकहरु गिटी र बालुवाको मिश्रणमा मिसाउने र त्यसलाई १७० डिग्री सेल्सियसमा तताउनुपर्छ । यसले गर्दा प्लास्टिक बालुवा र गिटीमा ठोस बन्न पुग्छ । पग्लिएको प्लाष्टिकले पातलो तहलाई ढाक्छ । प्लास्टिक, गिटी र बालुवाको मिश्रणलाई सडकमा बिछ्याएपछि त्यसलाई माथिबाट तातो अलकत्रा थपेपछि यसले सबै सामाग्रीलाई ठोस बनाउन सहयोग गर्छ ।

यसमा हामीले प्रयोग गरेर फाल्ने धेरै प्रकारका प्लास्टिकहरु प्रयोग गर्न सकिन्छ । जस्तै प्लास्टिक झोला, डिस्पोजेबल कप, पोलिथिलिन र पोलीप्रोपाइलिन फोमका साथै कडा प्लास्टिकबाट बनेका सामाग्रीहरु प्रयोग गर्न सकिन्छ । भारतमा बनेका सडकमा यी सबै प्लास्टिक मिसाइएको छ ।

प्लास्टिक रोडहरु बनाउँदा फोहोर प्लास्टिकहरु जमिन,पानी र आकाशमा जाने सम्भावना कम हुन्छ । साथै यसले सडकको संरचनालाई पनि सुधार्ने प्रमाणहरु भेटिएका छन् । सडक कालोपत्रे गर्ने क्रममा प्लास्टिक मिसाउँदा सडक बिग्रिने वा खाल्डाहरु बन्ने सम्भावना कम हुने बताइएको छ ।

प्लास्टिक सामाग्रीले सडककाे सतहमा हुने लचिलोपनलाई सुधार गर्छ । वासुदेवनले सुरुमा बनाएका प्लास्टिक सडकहरुमा अहिलेसम्म भत्किएको, खाल्डा परेको कुनै संकेत देखिएको छैन । वासुदेवनको मुल्यांकनमा प्लास्टिकलाई त्यसै फाल्नुभन्दा सडक बनाउन प्रयोग गर्नु वातावरणीय र आर्थिक दृष्टिले पनि फाइदाजनक छ ।

प्लास्टिक सडकमा विछ्याउँदा यसले प्रतिकिलोमिटर सडकमा ३ टन कार्बनडाइअक्साइड उत्सर्जन हुनबाट बचाउँछ र एक किलोमिटर सडकमा ६७० डलर सम्म बजेट पनि जोगिने वासुदेवन बताउँछन् । एउटा मात्रै लेनको सामान्य सडकमा प्रतिकिलोमिटर १० टन अलकत्रा आवश्यक पर्छ ।

वासुदेवनले सरकारलाई यस प्रणालीबाट सडकको विकास गर्न आफ्नो पेटेन्ट सित्तैमा दिएपछि सन् २०१५ मा भारत सरकारले एक मापदण्ड बनाएर ५ लाखभन्दा धेरै मानिस भएका सहरनजिकै सडक निर्माण गर्दा फोहोर प्लास्टिक प्रयोग गर्न अनिवार्य बनायो । भारतमा अहिलेसम्म २ हजार ५ सय किलोमिटर सडकमा मात्रै प्लास्टिक प्रयोग गरिएको छ ।

प्लास्टिकबाट बनाएको सडकले धेरै सवारी क्षमता पनि सहन सक्छ । यस्ता सडकलाई स्थिर पानी र वर्षाबाट असर पुग्दैन । अहिले विश्वभर यस्तै परियोजनाहरु देखा परेका छन् । केमिकल फर्म डोवले अमेरिका र एसिया प्यासिफिकमा पोलिथिनले भरिपूर्ण रिसाइकल प्लास्टिक प्रयोग गरी परियोजनाहरु कार्यान्वयन गर्दै आएको छ ।

सडक निर्माणकर्ता म्याकरेबुरले सन् २०१९ मा स्कटल्यान्डमा प्लास्टिक रोड बनाएको थियो । यसले स्लोभाकियादेखि दक्षिण अफ्रिकासम्म प्लास्टिक सडक निर्माण गरेको छ । म्याकरेबुरले पनि प्लास्टिकको सडकले लचिलोपनलाई सुधार्ने र यसले तापक्रम परिवर्तनबाट हुने विस्तार र संकुचनको सामना गर्न सक्ने बताएको छ ।

बेलायतको सरकारले प्लास्टिक रोडमा हुने खाल्डाहरु पुर्नका लागि अध्ययन गर्न हालै १६ लाख युरो डलर बजेट पनि छुट्याएको छ ।

नेदरल्यान्डमा, सन् २०१८ मा पहिलो रिसाइकल्ड प्लास्टिक रोड बनेको थियो । जसबाट सन् २०२० मेसम्ममा लाखौं सवारीले यात्रा गरेका थिए । यो कम्पनीले स्थानीय क्षेत्रमै फालिएका प्लास्टिक जम्मा गरेर सडक निर्माणमा प्रयोग गरेको थियो ।

प्राय भारत, बेलायत, नेदरल्यान्डमा बनेका सडकमा बिटुमिन (अलकत्रा) को प्रयोग अन्त्यनै थोरै मात्रा गरिने प्लास्टिक राेड कम्पनीकी संस्थापक अन्ना कुडस्टालले बताइन् । प्रत्येक वर्गमिटरको प्लास्टिक साइकल मार्गमा २५ केजी प्लास्टिक वेस्ट प्रयोग हुन्छ । टायलले निर्माण गरिएको बाटोको तुलनामा यसमा ५२ प्रतिशतसम्म कार्बन उत्सर्जन कम गर्छ ।

यस हिसाबले भारतबाट सुरु भएको यो अवधारणा वातावरण संरक्षण र प्लास्टिकको उत्कृष्ट तरिकाले विसर्जनका लागि महत्वपूर्ण छ । अबको आवश्यकता भनेको यसको सबैतिर प्रयोग गर्नु हो ।

ताजा अपडेट

नेपालवाच विशेष