नेपालीका लागि खुल्दै नयाँ श्रम गन्तव्य

काठमाडौं । नेपाल र पूर्वी अफ्रिकी मुलुक सिसेल्सबीच द्विपक्षीय श्रम सम्झौता गर्ने सहमति भएको छ । गणतन्त्र सिसेल्सको भ्रमणमा रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग गणतन्त्र सिसेल्सका रोजगार तथा सामाजिक मामिलामन्त्री प्याट्रिका फ्यानकोट र आन्तरिक मामिलामन्त्री इरोल फोन्स्काले गरेको द्विपक्षीय भेटवार्तामा दुई मुलुकबीच श्रम सम्झौता गर्ने सहमति भएको हो ।
रोजगार तथा सामाजिक मामिलामन्त्री फ्यानकोटसँगको भेटवार्तामा एक महिनाभित्र द्विपक्षीय श्रम सम्झौतालाई टुङ्गोमा पुर्याउन संयुक्त कार्यदल गठन गर्ने सहमति भएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।
वैदेशिक रोजगारीका लागि नेपाली कामदार लैजान सिसेल्सबाट यसअघि प्राप्त भएको द्विपक्षीय श्रम सम्झौताको प्रस्तावका लागि मन्त्री श्रेष्ठले धन्यवाद दिँदै सिसेल्ससँग द्विपक्षीय श्रम सम्झौता गर्न नेपाल तयार रहेको बताए । न्यूनतम योग्यता, भाषागत क्षमता, न्यूनतम पारिश्रमिकलगायत सेवा सुविधा, कामदार छनोट र स्वदेश फिर्तीलगायत विषयमा संयुक्त कार्यदलले तयारी गर्ने बताइएको छ ।
कार्यदलमा नेपालको तर्फबाट मन्त्रालयका उपसचिव डा थानेश्वर भुसालले नेतृत्व गर्नेछन् । अहिले एक हजार २५० भन्दा धेरै नेपाली सिसेल्समा रोजगारीको क्रममा रहेको बताउँदै मन्त्री फ्यानकोटले सिसेल्स सरकार द्विपक्षीय श्रम सम्झौता गरेरै नेपालीलाई ल्याउन इच्छुक रहेको बताएको मन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ । सिसेल्समा अहिले सुरक्षागार्डका रुपमा धेरै नेपाली कार्यरत छन् । यसबाहेक होटल तथा पर्यटन क्षेत्रमा पनि केही नेपाली कार्यरत छन् ।
भेटवार्तामा आन्तरिक मामिलामन्त्री फोन्स्काले जेल सुरक्षाको साथै सिसेल्सको प्रहरी सेवामा पनि नेपालीलाई रोजगारी दिन सकिने बताएका थिए । भेटवार्तामा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल र उपसचिव डा थानेश्वर भुषाल सहभागी थिए भने गणतन्त्र सिसेल्सको रोजगार तथा सामाजिक मामिला र आन्तरिक मामिला मन्त्रालयका उच्च अधिकारीका साथै प्रहरी र जेल सुरक्षा प्रमुखको उपस्थिति थियो ।
नेपाल र सिसेल्सबीच कूटनीतिक सम्बन्ध स्थापना भएको साढे तीन दशक भइसकेको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया