NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २२ गते
स्थानीय निर्वाचन विशेष-३

नेपालगञ्ज उपमहानगर : पूरा भएनन् धवलशमशेरका धेरै प्रतिबद्धता

काठमाडौँ । डा. धवलशमशेर राणा राप्रपाका नेता, उनको पार्टीको जनमत र सङ्गठन देशभर कमजोर छ । त्यही कमजोर धरातलबीच पनि राणाले नेपालगञ्ज उपमहानगरपालिकाको पुरानै बिरासत फर्काए । अर्थात् गत स्थानीय निर्वाचनबाट उनी २० वर्षपछि मेयरका रूपमा फर्किए । फरक यति थियो कि पहिलोपटक मेयर बन्दा उनी एमाले थिए, पछि राप्रपा भए । नेपालगञ्ज पनि नगरबाट उममहानगर बनेको छ । पाँचपटकसम्म चुनाव लडेर दुईपटक मेयर बनेका राणाको पछिल्लो पाँचवर्षे कार्यकाल भने औसत मात्रै रह्यो ।

पूरा भएनन् धेरै प्रतिबद्धता
क्रिकेटको सहरका रूपमा चिनिए पनि नेपालगञ्जमा गतिलो क्रिकेट रंगशाला छैन । स्थानीयको माग सम्बोधन गर्दै मेयर राणाले अन्तर्राष्ट्रिय स्तरको रंगशाला बनाउने घोषणा गरेका थिए । नेपालगञ्ज उपमहानगरपालिका– ६ मा रहेको करिब १२ बिघा जमिनमध्ये पाँच बिघा जमिनमा रंगशाला बनाउने उनको प्रतिबद्धता कागजमै सीमित रह्यो ।

बागेश्वरी मन्दिरनजिकै सपिङ कम्प्लेक्स बनाउने राणाको प्रतिबद्धता थियो । त्यसका लागि शिलान्याससमेत गरिएको थियो । तर, तत्कालीन सहरी विकासमन्त्री मो. इस्तियाक राई र मेयरबीचको खिचातानीले बागेश्वरी मन्दिर क्षेत्रमा सपिङ कम्प्लेक्स बनाउने काम रोकियो । सटरलाई व्यवस्थित बनाउने काम पनि हुन सकेन । दुवै काम मुद्दा–मामिलाका कारण बन्न नसकेको मेयर राणाको भनाइ छ ।

सहरका मुख्य चोकहरूमा स्काइब्रिज बनाउने योजना पनि घोषणापत्रमै सीमित बन्यो । नगरपालिकाका सबै वडा कार्यालयको आफ्नै भवन बनाउने योजना पूरा हुन सकेन । महानगरका २३ वटा वडामध्ये अझै पनि ६ वटा वडा कार्यालय भाडामै बसेका छन् ।

फोहोरमैला व्यवस्थापनका लागि डम्पिङ साइट निर्माण भयो । सहरी क्षेत्रको फोहोर सङ्कलन गरेर डम्पिङ साइटमा थुपार्ने काम पनि भयो, तर फोहोर प्रशोधन गरेर मल र ग्यास उत्पादन गर्ने योजना भने अझै कार्यान्वयनमा आउन सकेको छैन ।

छाडा गाईबस्तु व्यवस्थापन गर्ने नाममा नेपालगञ्जबाट सुर्खेतको वीरेन्द्रनगर हुँदै दैलेख पठाउँदा कटकुवा जङ्गलको भीरबाट खसाएर मारेको गम्भीर आरोप उपमहानगरमाथि लाग्यो । तर, पछि मेयर राणाले त्यसको खण्डन गरे । गाईको व्यवस्थापनका लागि धेरै काम गर्दागर्दै यो दुर्घटना भएको र यो नियतवश घटाइएको घटना नभएको उनको दाबी छ । हिन्दू राज्यको वकालत गर्ने पार्टीका नेता नै मेयर भएका बेला यस्तो घटना भएपछि राणाको छविमा धक्का भने लाग्यो ।

गरिब तथा विपन्न नागरिकलाई लक्षित गरेर ६ वटा नगर बस सञ्चालन गरियो, तर त्यो सफल नभएपछि अहिले भाडामा चलाउन थालिएको छ । घुम्ती शौचालयको ट्र्याक चोक–चोकमा राखियो, तर सफल नभएपछि नगरपालिकाको बजेट मात्रै खेर गयो ।

नगरका सफल काम
यति हुँदाहुँदै पनि उपमहानगरले केही राम्रा काम पनि गरेको छ ।

– तीन करोड ४५ लाखमा सातवटा नगरबस खरिद गरी निजी क्षेत्रलाई सञ्चालनको जिम्मा दिएको छ ।

– बसपार्क निर्माण गरी सञ्चालनका लागि निजी क्षेत्रलाई जिम्मा दिइएको छ ।

– ल्यान्डफिल्ड साइट निर्माण भएको छ ।

– एसियाली विकास बैंकमार्फत सञ्चालित परियोजनाबाट करिब सय किलोमिटर पक्की सडक र नाला निर्माण गरिएको छ ।

– सल्यानीवागस्थित आधारभूत महिला विद्यालय सञ्चालन गरिएको छ ।

– नगरका ३९ स्थानमा हाई मास्ट लाइट जडान गरिएको छ ।

– धम्बोझी चोकमा भेरी अञ्चल अस्पताल र नापी कार्यालय छेउमा शौचालय निर्माण गरिएको छ ।

– कोरोना संक्रमण नियन्त्रण र उपचारमा नेपालगञ्ज उपमहानगरले गतिलै भूमिका निर्वाह गरेको छ ।

राणाको राजनीतिक जीवन

डा. धवलशमशेरले एमालेबाट राजनीतिक जीवन सुरु गरेका थिए । २०६३ सालको परिवर्तनपछि उनी राष्ट्रिय प्रजातन्त्र पार्टीमा पुगे । राजतन्त्रविरुद्ध एमालेसहितका दल एकजुट भएर आन्दोलनमा लागेपछि राणा पार्टी परित्याग गरेर राप्रपामा लागे ।

२०५४ सालमा एमालेबाट नेपालगञ्जको मेयरमा जितेका राणा २०७० को संविधानसभा निर्वाचनमा भने नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइरालासँग पराजित भए । २०७४ मा भएको स्थानीय निर्वाचनमा राणा १२ हजार पाँच सय १५ मत ल्याएर नेपालगञ्ज उपमहानगरपालिकाको मेयर पदमा निर्वाचित भएका थिए ।

पूर्वपत्रकारसमेत रहेकी उमा थापामगर कांग्रेसबाट उपमेयरमा निर्वाचित भइन् । उनले राप्रपाकी रमा रानी गुप्तालाई पराजित गरिन् । मेयर र उपमेयर फरक–फरक पार्टीको हुँदा कतिपय स्थानमा विवाद भइरहेका छन् र त्यसले कामकाजमा बाधा उत्पन्न गरेको छ । तर,नेपालगञ्जमा भने फरक–फरक दलका मेयर र उपमेयर भए पनि देखिने गरी ठूला विवाद भएका छैनन् । दुईबीच झगडा भएर नगरका विकास निर्माणका योजना प्रभावित भएनन् ।

फरक दलका उपमेयरलाई पनि साथै हिँडाउन सक्नु मेयर राणाको ठूलो उपलब्धि हो । मेयरले उपमेयरका अधिकार र भूमिकामा हस्तक्षेप नगरेका कारण यस्तो सम्भव भएको अन्य जनप्रतिनिधिको मूल्याङ्कन छ । राणा र थापालाई नगरका बासिन्दाले राम्रै काम गर्ने जनप्रतिनिधिका रूपमा हेर्ने गरेका छन् ।

बजेट र राजस्व

उपमहानगरको बजेट डेढ अर्ब हाराहारीको छ । चालू आर्थिक वर्षमा एक अर्ब ७२ करोड ६१ लाखको बजेट ल्याएको उपमहानगरले ठूलो रकम तलब–भत्ताजस्ता विषयमा खर्च गर्ने गरेको छ । कुल बजेटमध्ये करिब २९ करोड साधारण खर्चका लागि छुट्याइएको छ ।

उपमहानगरपालिकाले शिक्षा र स्वास्थ्यका लागि निकै कम बजेट छुट्याएको भनेर आलोचना पनि भएको छ । तलब–भत्ताका लागि सङ्घीय र प्रदेश सरकारबाट आउने बजेटबाहेक उपमहानगरपालिकाले आफ्नो बजेटबाट शिक्षा शाखाका लागि वार्षिक करिब ३० लाख मात्रै बजेट छुट्याउँदै आएको छ । उपमहानगरमा प्रावि, निमावि र मावि गरी ४३ वटा विद्यालय छन् ।

नगरपालिकाबाट पाँच वर्षको अवधिमा एक रुपैयाँ पनि अनुदान नपाएका विद्यालय धेरै छन् । कन्या विद्यालय र कलेजका लागि नयाँ भवन निर्माण र फर्निचरलगायत सामग्री खरिदका लागि भने पाँच वर्षको अवधिमा करिब १५ करोड खर्च गरिएको छ । त्यसैगरी, स्वास्थ्य शाखाका लागि वार्षिक एक करोड ५८ लाख बजेट छुट्याएको छ ।

सम्पत्ति कर, नक्सापास दस्तुर, व्यवसाय कर, नगरपालिकाको कार्यालय भवनअगाडि र बसपार्कमा निर्माण गरिएका सटरबाट उठ्ने भाडा, घरबहाल कर गरी करिब १४ करोड आन्तरिक स्रोतबाट राजस्व सङ्कलन हुने उपमहानगरले जनाएको छ ।

काठमाडौं महानगरपालिका : मेयर शाक्यका गफ ठूला, काम शून्य

अल्पमतमा भए पनि संयोजनमा अब्बल

मेयर राणाको दल उममहानगरमा अल्पमतमा छ । महानगरका २३ वडामध्ये राप्रपाले तीनवटा मात्रै जितेको छ । तर, यस्तो अवस्थामा पनि मेयर राणाको संयोजनकारी भूमिका भने अब्बल रह्यो । पहिले पनि मेयर अनुभव बटुलिसकेकाले काम गर्न सहज भएको उनको ठम्याइ छ ।

नेपालगञ्जमा कांग्रेसबाट १०, एमालेबाट पाँच, माओवादी केन्द्रबाट चारजनाले वडाध्यक्ष जितेका छन् । राप्रपाका तीन र जनता समाजवादी पार्टीका एकजना छन् । जसका कारण नगरपालिका बोर्डमा कुनै पनि दलको बहुमत पुग्दैन ।

बहुमतका लागि तीनवटा पार्टीबीच तालमेल गर्नुपर्ने स्थिति छ । तर, सबैलाई मिलाएर लैजान सक्ने मेयरको खुबीका कारण नगरपालिकामा सत्ता र प्रतिपक्ष भन्ने स्थिति खासै देखिएन । वडा नं. १ का अध्यक्ष एवं विपक्षी दलका नेता प्रमोद रिजाल पनि बोर्डमा कुनै पनि पार्टीको बहुमत नभएका कारण सबैले मिलेर काम गरेको बताउँछन् । यद्यपि, दलहरूबीच सानातिना विवाद भने भएका छन् ।

६ महिनाअघि भएको बोर्ड बैठकमा एकजना वडाध्यक्ष र कार्यपालिका सदस्यबीच हानाहान भएको घटना यसको उदाहरण हो । कार्यपालिका सदस्यलाई अख्तियारी दिइएको बजेट खर्चमा पारदर्शिता नभएको वडाध्यक्षहरूको गुनासोपछि विवाद बढेर हानाहानकै अवस्था आएको थियो ।
बोर्ड बैठकले कार्यपालिका सदस्यलाई दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको थियो ।

वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र कार्यपालिका सदस्य देउमल सुनारबीच यही विषयमा हात हालाहाल भएको थियो । वडाध्यक्ष राप्रपाबाट निर्वाचित हुन् भने कार्यपालिका सदस्य माओवादी केन्द्रका हुन् ।

भूगोलमा नेपालगञ्ज

लुम्बिनी प्रदेशको पश्चिमतर्फ र साबिक मध्यपश्चिमाञ्चल विकास क्षेत्रको केन्द्रबिन्दुका रूपमा रहेको नेपालगञ्ज बाँके जिल्लाको सदरमुकाम पनि हो । यो सहर २०१७ सालमा नेपालगञ्ज नगर पञ्चायतका नामबाट स्थापना भएको थियो ।

नेपालगञ्ज उपमहानगरमा एक लाख ६६ हजार जनसङ्ख्या छ । सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई राजधानी काठमाडौँसँग जोड्ने नगरका रूपमा पनि यसलाई चिनिन्छ । यहाँको राजनीतिले मध्यपश्चिम र सुदूरपश्चिमसम्मै प्रभाव पार्ने भएकाले सबै दलका लागि नेपालगञ्ज उपमहानगर निकै महत्वको स्थानीय तह बनेको छ ।

ललितपुर महानगर– चिरीबाबुको मोनोरेल पनि कागजमै, विवादमा बित्यो कार्यकाल