लेटाङ घटनाको निष्पक्ष छानविन गर्न पौडेलको माग

काठमाडौं । कांग्रेस नेता प्रदीप पौडेलले लेटाङ घटनाको निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका छन् । अनियन्त्रित भीडले एक महिला प्रहरीको हत्या गरेको भन्दै पौडेलले निष्पक्ष छानविन गरी दोषीलाई कारवाही गर्न माग गरेका हुन् । सामाजिक संजालमा लेख्दै पौडेलले आवेग आक्रोशमा नआउनसमेत अपिल गरेका छन् ।
‘मोरङको लेटाङमा भएको घटना अत्यन्तै मर्माहत छ। एउटा अपराधको घटना कानुनी रूपमा अघि बढ्दै गर्दै गर्दा अर्को दुःखद घटना घट्नु मर्माहक हो। यौन दुर्व्यवहारका आरोपी शिक्षकलाई पक्राउ गर्न गएको प्रहरी टोलीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएपछि उत्तेजित भीडले एउटी महिला प्रहरीको आवेगमा आएर हत्या गर्यो’ पौडेलले भनेका छन्, ‘निष्पक्ष छानबिन गरेर कानुनी उपचार खोज्ने र दोषीलाई कारवाही गर्नुपर्ने यस्ता घटनामा सामाजिक अवरोधले गर्दा थप दुर्घटना भएका यस्ता गम्भीर विषय हाम्रो समाजमा धेरै छन् । त्यस्ता घटना बारम्बार दोहोरिदै जाँदा सामाजिक सुरक्षामाथि घम्भिर प्रश्न खडा भएका छन् । त्यसैले हामी सबैले संयमित भएर कानुनी उपचार खोज्नु नै बुद्धिमता हुन्छ । आवेग र आक्रोशले कुनै समस्याको समाधान दिन सक्दैन त्यसैले थप घटना दोहोरिन नदिन सबैमा अनुरोध गर्दछु । दुवै घटनामा सम्लग्न दोषीलाई कानुनी कारवाही गर्न जोडदार माग गर्दछु ।’
विराटनगरको लेटाङमा होली खेल्ने क्रममा एक शिक्षकले एक छात्रालाई यौन दुव्र्यवहार गरेको आरोपमा स्थानीय आक्रोशित भएका थिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन खोज्दा स्थानीयको आक्रमणमा परी एक प्रहरी जवानको हत्या भएको थियो ।
प्रतिक्रिया