NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २८ गते

लुकेर एक्लै ४० युक्रेनीको हत्या गर्ने रुसी महिला पक्राउ

किएभ । युक्रेनको डोनबास क्षेत्रमा लुकेर सेना तथा सर्वसाधारणलाई गोली हानी हत्या गर्ने रुसी महिलालाई युक्रेनको सेनाले पक्राउ गरेको छ । इरिना स्टारिकोभा नाम गरेकी उनले एक्लैले युक्रेनका ४० भन्दा बढी सैनिकको हत्या गरेकी छन् । युद्धका क्रममा घाइते भएकी ४१ वर्षीया इरिनालाई रुसी सेनाले घाइते अवस्थामै छोडेर हिँडेको दाबी युक्रेनी सेनाले गरेको छ ।

इरिना स्टारिकोभा सन् २०१४ देखि रुससमर्थित पृथकतावादी क्षेत्र डोनेट्स्कका लडाकुहरुको समूहबाट युक्रेनी सरकारविरुद्धको छापामार युद्धमा संलग्न थिइन् । उनले युक्रेनी सेना, महिला तथा बालबालिकाको गोली हानेर हत्या गरेको सेनाले बताएको छ । इरिना पक्राउ परेको जानकारी युक्रेनको सेनाले फेसबुकमार्फत् गराएको हो ।

युक्रेनी सैनिकहरुले युद्ध मैदानमा घाइते भेटिएकी उनलाई सुरुमा चिन्न सकेका थिएनन् । उनीहरुले साधारण महिला सिपाहीको रुपमा उनलाई अस्पताल भर्ना गरे । तर पछि सोधपुछका क्रममा रुसी लडाकु भएको पत्ता लागेको हो ।

रुसमा महिला लडाकु

रणभूमिमा महिला शक्तिको प्रयोग रुसका लागि नौलो कुरा होइन । स्नाइपर र सार्प सुटरको पनि कुरा गर्ने हो भने रुसका महिलाहरु बाँकी विश्वभन्दा धेरै अगाडि देखिन्छन् ।

दोस्रोे विश्वयुद्धको समयमा लेडी डेथ नामबाट परिचित सोभियत महिला सैनिक ल्युडमिला पावलिचेकोले विपक्षीका ३०९ जना सैनिकको हत्या गरेकी थिइन् । यसपछि उनलाई ‘लेडी डेथ’ नाम दिइएको थियो ।

यस्तै सन् १९४१ मा सोभियत संघमा हिटलरको आक्रमणपछि १७ वर्षीया सार्प सुटर एलिजावेटा मिरोनोभले १ सयभन्दा बढी नाजीहरुको हत्या गरेकी थिइन् । सोभियतले स्नाइपर्स (लुकेर गोली हान्ने) महिला तयार गर्नका लागि मस्कोमा तालिम केन्द्र नै बनाएको थियो ।