NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

केशव स्थापितले ओलीलाई बुझाए काठमाडौं महानगरमा चुनाव जित्ने हिसाबकिताब

शाक्यले हार्छन्, ढिलो गर्दा कांग्रेसले जित्छ

काठमाडौं । देशको राजधानी सहर भएकोले पनि काठमाडौं महानगरपालिकाको मेयरमा को उठ्छन् भन्ने विषयमा सर्वत्र चासो हुन्छ । यसैले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन आउन अब एक महिना हाराहारी मात्रै हुँदा उम्मेदवारको चर्चा हुन थालेको छ ।

२०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा काठमाडौंको मेयरमा एमालेले बाजी मारेको थियो । विद्यासुन्दर शाक्यले २० हजार अन्तरले कांग्रेसका राजुराज जोशीलाई पराजित गरेका थिए । तर पाँचवर्षे कार्यकाल सन्तोषजनक बनाउन नसकेको र जनस्तरबाटै आलोचित बनेका शाक्यले फेरि टिकट पाउने सम्भावना कम छ ।

यस्तोमा एमालेले आफ्नो प्रभाव रहेको काठमाडौंमा कसलाई मेयरको टिकट दिन्छ भन्ने विषयलाई उत्सुकतापूर्वक हेरिएको छ । किनकी देशैभर एमालेलाई हराउने नीति लिएको सत्ता गठबन्धनका उम्मेदवारसँग ‘फाइट’ गरेर जित्ने उम्मदेवारको खोजी एमालेले गर्नुपर्नेछ ।

संघीय राजधानीसमेत रहेको काठमाडौं महानगरपालिकाका पूर्वमेयर एवं वाग्मती प्रदेश सभाका सदस्य केशव स्थापित काठमाडौंको पुनः मेयर बन्ने चर्चा छ । वाग्मतीका पूर्वमन्त्रीसमेत रहेका उनले ०५४ मा भएको स्थानीय निकायको चुनावमा एमालेबाट काठमाडौं महानगरपालिकाको मेयर जितेका थिए ।

मेयरमा निर्वाचित भएलगत्तै स्थापित पशुपति क्षेत्र, तीनकुने, माइतीघर मण्डलाका अव्यवस्थित घरटहरा विस्थापित गरेर चर्चामा आएका थिए । हाल केन्द्रीय कार्यलय रहेको सुनधारास्थित हरिभवन उनकै पहलमा महानगरको मातहतमा ल्याइएको थियो । काठमाडौंको सुधारक भनेर पनि स्थापित चर्चित छन् ।

वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा पुनः काठमाडौं महानगरपालिकाको मेयर बन्न ओलीसँग लविङ गरिरहेका छन् । ओलीबाट आफूले टिकट पाउने विश्वस्त रहेका उनी अहिले मौन छन् । प्रायः आलोचना र चर्चाको शिखरमा रहने नेता हुन् उनी । निकटसँग आफूले टिकट पाए गठबन्धन भन्दा दोब्बर मत ल्याएर जित्ने हिसाबकिताब उनको छ ।

यस्तो हिसाब स्थापितले अध्यक्ष ओलीलाई पनि बुझाइसकेको बुझिएको छ । तर ओलीले अहिलेसम्म मुख खोलिसकेका छैनन् । गठबन्धनका साझा उम्मेदवार बन्दा हराउन सक्ने प्रभावशाली नेतामध्येमा ओलीले स्थापितको नाम पहिलो नम्बरमा राखेको बुझिएको छ । दुवै पक्षले यो विषयलाई बाहिर ल्याएका छैनन् ।

वर्तमान मेयर शाक्य पुनः मेयरमा दोहोरिए पार्टीले हार्ने आफू निकटसँगको कुराकानीमा स्थापितले बताउने गरेका छन् ।
‘अहिलेको मेयर शाक्यलाई दोहोर्याए हार्ने निश्चित छ । पार्टीको घोषणापत्रको काम नगरेपनि भित्रि सहरमा केही काम भएको छ । पहिला एमालेले जितेको १४ वडामा लगभग ७० हजार मतदाता छन्’, उनको भनाइ उद्दृत गर्दै निकटस्थले भने, ‘ती मध्ये १५ हजार युवा बाहिर छन् । बाँकी ५५ हजार भयो । ती मध्ये ४५ हजार एमालेमा भोट खस्यो भने अहिलेको मेयरले हार्छन् ।’

गत चुनावमा एमाले–राप्रपा तालमेल भएपनि राप्रपासँग १० हजार मत रहेको उनको अनुमान छ । यदि राप्रपासँग तालमेल नभए मेयर शाक्यले पाएको ६४ हजार कुल मतमा १० हजार घट्दा ५४ हजार मत एमालेको रहेको उनी निकटस्थको भनाइ छ । त्यसमध्ये माधव नेपालले ३२ वडामा आफ्ना उम्मेदवार उठाए १० हजार भोट काट्न सक्ने अनुमान आफू निकटसँग गर्दै आएका छन् । उनले कांग्रेसको पहिला ४५ हजार मत रहेको त्यसमा माओवादी केन्द्रको ९ हजार र माधव नेपालको १० हजार भोट बढ्दा एमालेले हार्न सक्ने अनुमान आफू निकटसँग गर्न थालेका छन् ।

काठमाडौं महानगरपालिकामा एमालेले २० हजार अन्तरले जित्दा कुन दलले कति मत ल्याएका थिए ?

स्थापित निकटका अनुसार गठबन्धनको मत ५५ हजार हुन सक्छ । वर्तमान उपमेयर हरिप्रभा खड्कीलाई उम्मेदवार बनाएमा दुई–चार हजार भोट बढ्न सक्छ । तर पनि यस्तो अवस्थामा आफूलाई पार्टीले टिकट दिए गठबन्धनले पाएको मत भन्दा दोब्बर मत पाउने स्थापितको दाबी छ ।

‘चैत मसान्तसम्म पार्टीले आफ्नो पक्षमा निर्णय गरे १ लाख २० हजार भोट आउँछ । उम्मेदवारी दिने दिनसम्म भए १ लाख ५ हजार भोट पाउने आकलन छ । उनी उम्मेदवार भए माधव नेपालतिर लागेका धेरै मानिसले पार्टी प्रवेश गर्छन् । कोही मौन बस्छन्’स्थापित निकट स्रोत भन्छ, ‘स्थापितलाई कांग्रेसका मानिसले पनि सहयोग गर्छु भनेका छन् । स्थापित आयो भने हारिन्छ पैसा मात्र खर्च हुन्छ भन्ने कांग्रेसका उम्मेदवारको तर्क छ, बरू प्रदेशतिर जान्छु, स्थापितसँग प्रतिस्पर्धा गर्दिन भन्ने गरेका छन् ।’ ढिलाे गर्दा कांग्रेसले जित्न सक्ने चेतावनी उनले दिइसकेका छन् ।

०१६ सालमा काठमाडौंमा जन्मिएका स्थापित नेपाललाई गाँजामा आत्मनिर्भर बनाउने अभियानमा छन् । गाँजा बेचविखनका लागि विद्यामान कानुन संशोधनका लागि अभियान नै चलाएका थिए । ०७४ मा भएको प्रदेशसभा चुनावमा वाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने आकांक्षा देखाएका थिए । तर हेटौंडाका डोरमणि पौडेललाई ओलीले मुख्यमन्त्री बनाएपछि उनी रुष्ट भएका थिए ।

पौडेल नेतृत्वको सरकारमा केही समय भौतिक पूर्वाधार विकास मन्त्री भएका उनलाई मुख्यमन्त्रीसँग टसल परेपछि बर्खास्त गरिएको थियो । उनी ०५४ देखि ०५९ सम्म काठमाडौं महानगरपालिकाको मेयर रहेका थिए । राजा ज्ञानेन्द्रको प्रत्यक्ष कार्यकालमा समेत मेयर भएका थिए । ०५१ देखि ०५२ सम्म उनी राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव र ०६९ मा उपत्यका विकास प्राधिकरणको प्रमुख आयुक्त रहेका थिए ।

०७४ मा भएको चुनावमा काठमाडौंको मेयर बन्न नपाएपछि उनी पार्टीले मुख्यमन्त्री बन्ने आशामा प्रदेशसभा गएका थिए । त्यहाँ पनि धोखा खाएपछि स्थापित बिहान जिम गर्ने, ध्यान गर्ने, योगा गर्ने र नेपाललाई गाँजा हब बनाउने अभियानमा लागे । स्थापित काठमाडौं पार्क, खुल्ला क्षेत्र, होटल, रेष्टरेन्ट, फोहरमैला व्यवस्थापन, पूर्वाधार विकास जस्ता विषयमा महत्वकांक्षी योजना अघि सारेर चर्चामा आइरहने नाम हुन् ।

काठमाडौं महानगर : यी हुन् मुख्य दलका सम्भावित उम्मेदवार, एमालेमा भन्दा कांग्रेसमा दाबेदार धेरै