NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २० गते

रुसका खतरनाक लडाकु

काठमाडौं । रुस-युक्रेन युद्ध सुरु भएको ४४ दिन पुगिसकेको छ । यो लडाइ अझ लामो समय कुनै निष्कर्षमा पुग्ने देखिँदैन । युक्रेन आत्मसमर्पण गर्न तयार छैन भने रुस पनि आफ्नो हार स्वीकार्ने पक्षमा छैन ।

यसैबीच, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले युक्रेनमा रुसका लडाकुहरुले डरलाग्दो गतिविधि गरिरहेको समाचार लेखेका छन् । त्यहाँ खटिएको रसिच समूहका लडाकुले विपक्षीहरुलाई मारेर उनीहरुको कान जम्मा गर्छन् ।

यी नियो–नाजी मिलिसियाहरु खार्किभनजिकका क्षेत्रहरूमा देखिएका छन् । त्यहाँ पुटिनका सेनाले आगामी दिनहरूमा पुनः आक्रमण गर्न सक्ने अवस्था छ । युक्रेनी रक्षा अधिकारीहरूले पनि रूसी सेनाले फेरि हमला गर्न सक्ने चेतावनी दिएका छन् । सन् २०१४ मा सेन्ट पिटर्सबर्गका एलेक्सी मिल्चकोभ र यान पेट्रोभस्कीले रसिच सुरु गरेको द सनको रिपोर्टमा उल्लेख छ ।

मिल्चकोभले एक प्याराट्रूपर रूपमा रुसी सेनाबाट प्रशिक्षण लिएका थिए । सन् २०१४ मा रुसी विद्रोही र युक्रेनी सेनाबीच भएको लडाईमा रसिच लडाकुहरुलाई पूर्वी युक्रेनमा खटाइएको थियो ।

द टाइम्सको रिपोर्टअनुसार रुसिचका प्रमुख मिल्चकोभले रुसी सामाजिक सञ्जाल वोकन्टेक्टेमा केही तस्बिरहरु पोस्ट गरेका थिए, त्यसमा उनले मृत युक्रेनी सैनिकको कान काटिरहेको देखिन्थ्यो ।

मिल्चकोभले खुलेआम आफू नाजीसमर्थक भएको स्वीकार गरेका छन् । मानिसको पोलेको मासुको सुगन्धले आफूलाई नशा लाग्ने पनि उनको भनाइ छ । द सनको रिपोर्टअनुसार रसिच समूह क्रेमलिनसमर्थित वाग्नर समूहसँग सम्बन्धित छ । यो समूह अहिले युक्रेनमा भइरहेको युद्धमा देखिएको छ । वाग्नर समूहले रुसी सरकारका लागि गोप्य रूपमा काम गरेको आरोप लगाइन्छ ।

यो समूहलाई रुसको निजी सैन्य कम्पनी पनि भनिन्छ। वाग्नर समूह लिबिया, सिरिया, मोजाम्बिक, माली, सुडान र मध्य अफ्रिकाका देशमा भएको गृहयुद्धमा पनि सहभागी भइसकेको छ । वाग्नर समूहको नेतृत्व रुसी सेनाका पूर्वअधिकारी दिमित्री उत्किनले गरेका छन् । उनले सन् २०१४ मा वाग्नर समूह स्थापना गरेका हुन् ।

दिमित्री उत्किन रुसी सेनाको तर्फबाट चेचन युद्धमा संलग्न थिए । उनले वाग्नर समूह गठन गर्नु अघि रूसी सेनामा रहँदा २०१४ मा युक्रेनमा सैन्य अभियानमा सहभागी थिए ।