NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १६ गते

पानीको विषयमा विश्वभर झगडा बढ्यो

काठमाडौं । विश्वमा विगत १० वर्षमा पानीलाई लिएर हुने झगडा अघिल्लो दशकको तुलनामा दोब्बर बढेको एक अध्ययनले देखाएको छ । धेरैजसो क्षेत्रमा गरिबी, असमानता, भोकमरीजस्ता समस्याले खानेपानी संकट अझ बढाउने काम गरेको छ ।

बढ्दो जनसङ्ख्या, अव्यवस्थित सहर, व्यवस्थापनको अभाव र पूर्वाधारका कारण इरानमा पनि पानीको संकट गहिरिँदै गएको छ । छिमेकी राष्ट्र अफगानिस्तानसँग हेलमाण्ड नदीको पानी बाँडफाँडको विषयमा पनि विवाद छ । आफ्नो एउटा प्रान्तमा पानीको बहाव रोकिने डरले अफगानिस्तानमा सन् २०२१ मा बनेको कमल खान बाँधमा पनि इरानलाई समस्या भएको छ ।

यस्तै भारत र पाकिस्तानबीच पनि पानीकाे विवाद छ ।

सन् १९६० मा भारत र पाकिस्तानबाट बग्ने सिन्धु नदीको सम्बन्धमा सिन्धु जलसन्धी नामक सम्झौता गरेर दुवै देशले नदी र यसका सहायक नदी बाँडफाँड गरेका थिए । तर हालैका वर्षहरूमा पाकिस्तानले कश्मीर विवादका कारण भारतले आफ्नो पानी रोकेको आरोप लगाएपछि यसबारे फेरि विवाद सुरु भएको छ ।

अफ्रिका महादेशका विभिन्न देशमा किसान र गाेठालाबीच पानीकै लागि हिंसात्मक घटना हुने गरेका छन् ।

नाइजेरियामा आतंककारी समूह बोको हरामसँगको लडाइमा भन्दा पानीका कारण भएको हिंसामा धेरै मानिसहरुको मृत्यु हुने गरेकाेछ । सफा पानी उपलब्ध गराउन त्यहाँ सरकारसँग माग गरिएको छ । पानी कम परेको समयमा मुस्लिम गोठालाहरू गाईवस्तु चराउन इसाईहरुको जग्गामा जाने गर्छन्, यसले गर्दा त्यहाँ सधैं हिंसा हुने गरेको छ ।

मालीमा पनि किसान र गोठालाबीच जातीय विवाद र बढ्दो जनसङ्ख्याको दबाबका कारण पानी र जमिनलाई लिएर झगडा भइरहेको छ । यसैका कारण सन् २०१९ मा नाइजेरियाको डेल्टामा सामूहिक हत्या भएको थियो ।

इराकमा पानीको चरम अभाव छ । वर्षैपिच्छे खडेरी र वर्षा घट्दै गएको मात्रै होइन, निरन्तर बदलिँदै आएको मौसम र प्रदूषणका कारण पनि त्यहाँ पानीकाे अभाव भएकाे हाे । जलसञ्चारको उचित व्यवस्थापन नगरेको भन्दै देशले पटकपटक आलोचना खेप्नुपरेको छ ।

सन् २०१९ मा स्वच्छ पानी र बिजुलीकाे अभावका कारण विराेध चर्किएपछि प्रधानमन्त्रीले राजीनामा दिनु परेकाे थियाे ।