NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २१ गते

भरतपुरमा उम्मेदवारको लर्कोबीच यी हुन् कांग्रेसका मुख्य दाबेदार, माओवादीमा भने रेनु सर्वसम्मत

एमालेको टुंगियो

काठमाडौं । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा चितवनको भरतपुर महानगरपालिका हट स्पट बनेको छ । यो महानगरमा को उम्मेदवार बन्ला भन्नेमा धेरैलाई चासो देखिन्छ ।

०७४ मा भरतपुरको मेयरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी रेनुले जितेकी थिइन् । तर, उनलाई कांग्रेसले समर्थन गरेको थियो । माओवादीको समर्थनमा उपमेयरमा कांग्रेसकी पार्वती शाह ठकुरीले चुनाव जितेकी थिइन् ।

यसपटक गठबन्धन बन्छ कि बन्दैन भन्ने अझै टुंगो लागेको छैन । गठबन्धन बन्दा कुन दलबाट को उम्मेदवार होला भन्ने चासो देखिन्छ । तर, तालमेल भए पनि नभए पनि दलहरूमा मेयरका दाबेदारले भने टिकटका लागि कसरत बढाएका छन् । यसपटक मेयरमा कांग्रेस र माओवादी दुवैले दाबी गरिरहेका छन् । मेयर कसले पाउने टुंगो नभए पनि आकांक्षी भने धेरै नै देखिन थालेका छन् ।

मेयरका लागि भरतपुर कांग्रेस कार्यसमितिले आवेदन माग गरेको थियो । जसमा मेयरका लागि २५ र उपमेयरका लागि २४ जनाले उम्मेदवार बन्न पार्टीमा निवेदन हालेका थिए । यीमध्ये मध्ये पनि प्रमुख दाबेदार यस्ता छन् ।

कांग्रेसमा आकांक्षीको लर्को

भरतपुरको मेयरमा उम्मेदवार हुन कांग्रेसबाट आठजना नेताको चर्चा छ । तर, सत्तारूढ दलबीच हुने भनिएको सम्भावित गठबन्धनले गर्दा कांग्रेसबाट मेयर पदका आकांक्षी खुलेर अगाडि आउन भने सकेका छैनन् । यदि गठबन्धनमा मेयर पद कांग्रेसलाई नै प¥यो भने धेरै नेता दाबेदार देखिन्छन् । हेरौँ कांग्रेसका आकांक्षी कस्ता–कस्ता छन् ?

टेकप्रसाद गुरुङ

पुराना र अग्रज नेता कांग्रेसका पूर्व जिल्ला सभापति टेकप्रसाद गुरुङको नाम मेयरको उम्मेदवारका लागि अग्रपंक्तिमा चर्चामा छ । गुरुङले विगतमा जिल्ला पञ्चायतको सभापति चलाइसकेका छन् । उनीनिकट कार्यकर्ताले उम्मेदवारीका लागि लबिङ बढाइरहेका छन् ।

दिनेश कोइराला

कांग्रेसबाट ०७४ सालको स्थानीय निर्वाचनमा भरतपुर महानगरको मेयरको उम्मेदवार भएर पनि अन्तिममा नाम फिर्ता लिएका दिनेश कोइरालाले यसपटक पनि दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा पार्टीबाट अन्याय भएको भन्दै धेरै कार्यकर्ताको सहानुभूति कोइरालाप्रति देखिन्छ । बालकुमारी कलेजबाट नेविसंघको राजनीति सुरु गरेका कोइराला हाल कांग्रेस केन्द्रीय सदस्य हुन् ।

मिलनबाबु श्रेष्ठ

वाग्मती प्रदेशका मन्त्री मिलनबाबु श्रेष्ठको पनि मेयरमा चर्चा छ । सभापति देउवानिकट श्रेष्ठको जिल्लामा राम्रै राजनीतिक प्रभाव छ । मन्त्री भइसकेकाले मेयरमा ल्याउन नहुने मत पनि उत्तिकै छ । तर, संस्थापन पक्षमा रहेकाले उनले टिकट पाउन सक्ने कतिपयको दाबी छ ।

उत्तम जोशी

कांग्रेस चितवनको निर्वाचनमा सभापतिमा उम्मेदवारी दिएका उत्तम जोशीले पनि मेयरमा दाबी गरेका छन् । पार्टीमा आफूले गरेको योगदानका आधारमा मेयरमा दाबी स्वाभाविक रहेको उनको भनाइ छ । उनी चितवन कांग्रेसका पूर्वसचिव हुन् ।

सूर्यकान्त घिमिरे

कांग्रेसबाट भरतपुरको मेयरमा कृषि विश्वविद्यालयका पूर्वरजिस्ट्रार सूर्यकान्त घिमिरेको पनि चर्चा छ । उनलाई विद्वान् र भिजन भएका नेताका रूपमा लिने गरिन्छ । कांग्रेसको प्रभाव क्षेत्र मानिएको पश्चिम चितवनको रामपुर क्षेत्रबाट प्रतिनिधित्व गर्ने भएकाले पनि उनलाई मेयरको उम्मेदवार बनाउँदा धेरै भोट आउन सक्ने कतिपयको विश्वास छ ।

पार्वती शाह ठकुरी

भरतपुर महानगरपालिकाकी हालकी उपमेयर पार्वती शाह ठकुरी पनि मेयरका लागि मुख्य दाबेदार छन् । ०७४ को निर्वाचनमा उनले फराकिलो अन्तरले जित निकालेकी थिइन् । गत निर्वाचनमा मेयरमा रेनुलाई सहयोग गरेकाले यसपटक माओवादीले आफूलाई सहयोग गर्नुपर्ने उनको तर्क छ ।

शंकर कँडेल

कांग्रेस कार्यकर्ताबीच भरतपुर महानगरपालिका– ८ गौरीगन्जका नेता शंकर कँडेलको नाम पनि मेयरका लागि चर्चामा छ । उनी यसअघि कांग्रेस जिल्ला कमिटीको कोषाध्यक्ष थिए । उनले ०४६ सालदेखि भरतपुरलाई बुझ्दै आएकाले पनि महानगरको मेयरमा इच्छा राखेको बताएका छन् ।

चित्रसेन अधिकारी

भरतपुर महानगरका सभापति चित्रसेन अधिकारीको नाम पनि मेयरका लागि चर्चामा छ । पश्चिम चितवनमा प्रभाव रहेका अधिकारी भरतपुर महानगरपालिका २१ का वडाध्यक्ष पनि हुन् ।

एमालेमा पनि सातजना दाबेदारबाट सुवेदी

भरतपुरमा अघिल्लो निर्वाचनमा जितको नजिक पुगेर पनि जबर्जस्ती हराइएको एमालेको आरोप छ । त्यसैले यसपटक विगतको हारको बदला लिने उसले बताउँदै आएको छ । मेयरका लागि देवी ज्ञवाली, पार्वती रावल, विजय सुवेदी, कृष्णभक्त पोखरेल, कृष्णप्रसाद भुर्तेल, तेजेन्द्र खड्का, रामप्रसाद न्यौपाने मुख्य दाबेदार थिए । तर एमालेले सुवेदीको नाम सिफारिस गरिसकेको छ ।

एमालेका नेतामध्ये मेयरमा चर्चा चलेका अर्का नेता वाग्मती प्रदेश कमिटी सचिव तथा प्रदेश सांसद विजय सुवेदीले बाजी मारे । यसअघि भरतपुर अस्पतालको अध्यक्ष हुँदा अस्पताल सुधारमा महत्वपूर्ण काम गरेको प्रभाव नागरिकमाझमा रहेकाले पनि उनलाई उम्मेदवार बनाउनुपर्ने एमाले कार्यकर्ताको तर्क थियो । मुख्य दाबेदार देवी ज्ञवाली पछाडि हटेपछि सुवेदी उम्मेदवार बनाइएका हुन् ।

माओवादीबाट रेनु एकल उम्मेदवार

मेयर आफूले पाउनुपर्ने दाबी गर्दै कांग्रेसबाट थुप्रै आकांक्षी निस्किइरहँदा माओवादी केन्द्रबाट भने अहिलेकी मेयर रेनु दाहाल मात्र चर्चामा छिन् । मेयर आफूले पाउने अवस्थामा माओवादी अध्यक्ष प्रचण्डले छोरी रेनुलाई नै फेरि अर्को कार्यकाल दोहो¥याउने निश्चित भएकाले पनि अन्यले आकांक्षा नराखेका हुन् ।

प्रचण्डले महानगरको मेयरमा आफ्नो पार्टीको उम्मेदवारलाई सहयोग गर्ने गरी केन्द्रीय स्तरबाटै चुनावी तालमेल गर्ने कोसिस गरिरहेका छन् । तर, कांग्रेसको केन्द्रीय समितिले पनि स्थानीय आवश्यकताअनुसार तालमेल गर्ने निर्णय गरेकाले भागबन्डा हुन अझै केही समय लाग्ने देखिन्छ । तर, मेयर छोड्नै पर्ने अवस्थामा भने माओवादीले उपमेयर पाउनेछ । तर, त्यसको उम्मेदवार को हुन्छ भन्ने अझै स्पष्ट भइसकेको छैन ।

एमालेका पाँच वडाध्यक्ष समाजवादीतिर, दाबेदार छैनन्

भरतपुर महानगरपालिकामा २९ वटा वडा छन् । तीमध्ये ०७४ मा एमालेले १४ वडामा अध्यक्ष जितेको थियो । तर, ती सबै अहिले एमालेमा छैनन् । तीमध्ये पाँचजना एकीकृत समाजवादीमा लागेका छन् भने एकजनाको निधन भएको छ । वडा नं. ७, ९, १०, १२ र २२ का वडाध्यक्ष अहिले एमालेबाट फुटेर बनेको समाजवादीतिर लागेका छन् । एमालेबाट जितेको वडा नं. १६ का वडाध्यक्ष चतुरमान गुरुङको मृत्यु भएपछि भएको उपचुनावमा तत्कालीन नेकपाका उम्मेदवारलाई पराजित गर्दै कांग्रेसका अमृतराज हमाल विजयी भएका थिए । यसो हुँदा एमालेमा अब वडाध्यक्षको संख्या घटेर आठ मात्रै भएको छ । पाँच वडाध्यक्ष रहेको समाजवादीले उपमेयरमा दाबी गरेको छ । तर, त्यसमा उठ्नका लागि आकांक्षी भने खुलेर बाहिर आएका छैनन् । पाँचमध्ये कुनै एक वडाध्यक्ष समाजवादीका उम्मेदवार हुन सक्ने अनुमान गरिएको छ ।

भरतपुरको मेयरका लागि निवेदन हाल्ने कांग्रेसका २५ नेता को–को हुन् ?

ताजा अपडेट

नेपालवाच विशेष