NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ३१ गते

इटहरी उपमहानगर : एमालेबाट मेयरमा ६ जना सिफारिस, कांग्रेसमा लफडा

काठमाडौं । मेयर द्वारिकलाल चौधरीका कारण चर्चामा रहने इटहरी उपमहानगरपालिकामा दलहरूबीच उम्मेदवार छनोटको रस्साकस्सी चलिरहेको छ । एमालेको स्थानीय कमिटीले ६ जना सम्भावित उम्मेदवारको नाम सिफारिस गरिसकेको छ । मुख्य प्रतिस्पर्धी दल कांग्रेसमा चर्को मतभेद देखिन्छ । सत्तासाझेदार पाँच दलबीच तालमेलको सम्भावना रहेकाले अन्य दलका धेरै आकांक्षी बाहिर देखिएका छैनन् । एमालेले हालका मेयर चौधरीसहित ६ जनाको नाम सिफारिस गरेको छ । उम्मेदवारी सिफारिसका क्रममा एमालेमा पनि विवाद देखिएको थियो । नगर कमिटी बैठकमा पहिलो दिन मेयर चौधरी नै अनुपस्थित भएपछि अर्को दिन सोमबार बसेर नाम सिफारिस गरिएको थियो ।

एमालेका सम्भावित उम्मेदवार

द्वारिकलाल चौधरी – हालका मेयर चौधरी कार्यकालभर विवादै–विवादमा रहे । तर, ग्रामीण क्षेत्रमा उनको प्रभाव मजबुत देखिन्छ । त्यसैले फेरि पनि उम्मेदवार बन्ने उनको चाहनालाई एमालेको स्थानीय कमिटीले उपेक्षा गर्न सकेन । त्यसकारण उनको नाम सिफारिस गरिएको छ । स्थानीय स्तरमा एमालेको एउटा समूह भने उनको पक्षमा छैन । हाल उनी चुनावको तयारीमा व्यस्त देखिन्छन् । त्यसकै लागि अनेक आयोजनाको शिलान्यास गरिरहेका छन् । तर, स्थानीय कमिटीको नेतृत्वसँग उनको राम्रो सम्वन्ध छैन । नाम सिफारिस भए पनि उनले यसपटक फेरि टिकट पाउने सम्भावना भने कम छ ।

लक्ष्मी गौतम – हालकी उपमेयर गौतम पनि मेयरको उम्मेदवारीका लागि सिफारिसमा परेकी छिन् । उपमेयर भएकाले आफू स्वाभाविक रूपमा मेयरको दाबेदार भएको उनको तर्क छ । एमाले केन्द्रीय सदस्यसमेत रहेकी गौतमले यसपटक टिकट पाउन सक्ने स्थानीय कार्यकर्ताबीच चर्चा छ । उनले आफूले उपमेयर हुँदा राम्रो काम गरेकाले पनि टिकट पाए जित्ने गौतमको दाबी छ ।

यमकुमार सुब्बा – एमालेका उपमहानगर कमिटी अध्यक्ष सुब्बा पनि सिफारिसमा परेका छन् । लामो समयदेखि नगरमा पार्टीको नेतृत्व गरिरहेका सुब्बा यसपटक मेयरको दाबेदारका रूपमा छन् । सुब्बालाई युवाको साथ रहेको बताइन्छ ।

रामप्रसाद चौलागाईं – चौलागाईं अघिल्लो चुनावमा समेत मेयरमा सिफारिस भएका थिए । तर, उनलाई उछिनेर चौधरीले टिकट पाए ।

चौलागाईंको मेयर चौधरीसँग तिक्ततापूर्ण सम्बन्ध थियो । तर, अहिले सामान्य बनेको दुवै बताउँछन् । चौलागाईं इटहरी खानेपानीमा दुईपटकसम्म अध्यक्ष भएकाले स्थानीयसँग प्रत्यक्ष जोडिएका नेता मानिन्छन् । अघिल्लोपटक आफूले त्याग गरेकाले यसपटक टिकट पाउनुपर्ने उनको तर्क छ ।
एमालेबाट पार्टीका जिल्ला सदस्य एवं पूर्व नगर उपाध्यक्ष रेवती घिमिरे र स्थानीय नेता बन्नुलाल चौधरी पनि सिफारिसमा परेका छन् । चौधरी पनि पार्टीका जिल्ला सदस्य हुन् ।

कांग्रेसका दाबेदार

यसपटक गठबन्धन बनेर एमालेलाई हराउने सम्भावना देखिएपछि कांग्रेसमा उम्मेदवारीका लागि तीव्र प्रतिस्पर्धा देखिन्छ । कांग्रेसमा करिब आधा दर्जनले मेयरमा आकांक्षा राखेका छन् ।

हेमकर्ण पौडेल – लगातार तीनपटक कांग्रेसको नगर सभापति बनेका पौडेल कांग्रेसबाट मेयरको प्रमुख दाबेदार हुन् । अघिल्लोपटक पनि उनले दाबी गरेर अन्तिममा छाडेका थिए । त्यसपछि उनलाई प्रदेश सांसदको टिकट दिइएको थियो । जहाँ उनी पराजित भए । मुख्य दाबेदार भए पनि उनी पार्टीमा कोइराला समूहनिकट मानिन्छन् । जसका कारण संस्थापन समूहले उनलाई शंकाको नजरले हेर्ने गरेको छ । अघिल्लो चुनावमा छाडेकाले पनि यसपटक आफूले टिकट पाउनुपर्ने पौडेलको तर्क छ । ०७४ सालको चुनावमा टिकट नपाएपछि पौडेल पक्षधरले सडकमै उत्रिएर विरोध प्रदर्शन गरेका थिए ।

रोहित प्रसाईं – गत चुनावमा पनि मेयरमा उठेर पराजित भएका प्रसाईं यसपटकका पनि दाबेदार हुन् । इटहरी उद्योग वाणिज्य संघका पूर्वअध्यक्षसमेत रहेका प्रसाईं पार्टीमा संस्थापन समूहमा छन् । वडागत रूपमा कांग्रेसले गतिलो मत ल्याए पनि प्रसाईं पराजित भएका थिए । उपमहानगरका २० मध्ये १२ वडाका अध्यक्ष कांग्रेसले जितेको थियो । तर, प्रसाईंले व्यक्तिगत रूपमा कम मत पाएको भन्दै यसपटक टिकट दिन नहुने तर्क पनि केहीले गर्ने गरेका छन् । तर, संस्थापन समूहमा रहेकाले उनले गत चुनावमा टिकट पाएको र यसपटक पनि पाउन सक्ने आकलन पनि गरिएको छ ।

भीम पौडेल – व्यवसायी पौडेल पनि मेयरको उम्मेदवारका लागि आकांक्षी हुन् । इटहरी उद्योग वाणिज्य संघका अध्यक्ष पौडेलले यसपटक टिकट पाउन सक्ने धेरै कांग्रेसीको बुझाइ छ । हेमकर्ण र रोहितको लडाइँमा उनी अगाडि आउन सक्ने विश्लेषण गरिएको छ । ठूला व्यवसायी भएकाले आर्थिक रूपमा पनि उनी चुनाव लड्न सक्षम छन् ।

अन्य दलका दाबेदार

इटहरी उपमहानगरमा एकीकृत माओवादी, एकीकृत समाजवादी र राप्रपा पनि निर्णायक अवस्थामा छन् । माओवादीबाट मेयरमा सागर सुवेदी, भीम सुवेदी र रामकुमारी चौधरीको चर्चा छ । चौधरीले संविधानसभा चुनावसमेत लडेकी थिइन् । तालमेलको चर्चा चलिरहेकाले एकीकृत समाजवादी र राप्रपामा आकांक्षी खुलेर आउन सकेका छैनन् । सत्तासाझेदार दलबीच तालमेल हुँदा माओवादी र एकीकृत समाजवादीमध्ये एकले उपमेयर पाउन सक्छ । राप्रपाले पनि एमालेसँग तालमेलको प्रयास गरिरहेको छ । एमालेसँग गठबन्धन बने राप्रपाले पनि उपमेयर पाउन सक्ने अनुमान गरिएको छ । तर, अहिलेसम्म भने एमालेले एक्लै चुनाव लड्ने बताइरहेको छ ।

ताजा अपडेट

नेपालवाच विशेष