NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २५ गते

पल प्रकरण : किशोरीले किन फेरिन बयान ? अब के हुन्छ ?

काठमाडौं । पल शाहमाथि जबर्जस्ती करणीको आरोप लगाउँदै आएकी किशोरीले अदालतको बकपत्रमा बयान फेरेकी छन् । तनहुँ जिल्ला अदालतमा आइतबार बकपत्र दिने क्रममा उनले आफूलाई पलले बलात्कार नगरेको, अरूको उक्साहट र दबाबमा प्रहरीमा जाहेरी दिएको बयान दिएकी छन् । यसअघि किशोरीले जिल्ला प्रहरी कार्यालय तनहुँ र नवलपुरमा समेत पलले आफूलाई बलात्कार गरेको बयान दिएकी थिइन् ।

शाहको परिवारले बिहेको प्रलोभन देखाएपछि प्रभावित भएर किशोरीले बयान फेरेको उनका तर्फबाट मुद्दा लडिरहेका एक कानुन व्यवसायी बताउँछन् ।

‘केही दिन पहिले पलकी बहिनीले किशोरी र उनको परिवारलाई भेटिछन् । धरधरी रोएर मेरो दाइलाई छुटाइदिनुस्, दुई जनाको बिहे गरिदिने जिम्मा मेरो भयो भनिछन्,’ उनले भने, ‘परिवार र किशोरीको मन पग्लिएछ । अदालत जाने बेला बयान फेर्दैनौं भनेका थिए तर फेरिछन् ।’

यसअघि नाबालिग छोरीमाथि बलात्कार भएको भन्दै अभिभावकले उजुरी गर्ने तयारी गर्दासमेत पटक–पटक रोकिएको थियो । बिहेको प्रलोभन देखाइ जाहेरी नदिन आफूलाई प्रभावित गरिएको किशोरीको भनाइ थियो । परिवार र साथीहरूसँग पलले छलफल पनि गरेका थिए । त्यही छलफलका क्रममा रेकर्ड भएको अडियो सार्वजनिकसमेत भयो । अडियोमा शाहले भनेका छन्, ‘उनी प्रेग्नेन्ट भएको भए समस्या छ, बच्चा भएको भए स्विकार्ने कि नस्विकार्ने भन्ने कुरा आउँथ्यो । गर्लफ्रेन्ड–ब्वाइफ्रेन्डमा अन्डरस्ट्यान्डिङमा केही भयो होला । अन्डरस्ट्यान्डिङको हिसाबमा सबै हुँदा लास्टमा स्विकार्नैपर्छ, बिहे नै गर्नुपर्छ भन्न मिल्दैन । हामी जिन्दगीभरि सँगै हुन्छौं । म सधैं तिमीसँग बोल्छु, रिप्लाई गर्छु, भइहाल्यो नि ।’

पलले आफूले मादक पदार्थ पिई आधा बोतल बियर लिएर मध्यरातमा किशोरीको कोठामा गएको बयान प्रहरीलाई दिएका थिए । म्युजिक भिडियो छायांकनका क्रममा पलले बारम्बार जबर्जस्ती करणी र यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै किशोरीका बुबाले गत फागुन ११ मा जिल्ला प्रहरी कार्यालय तनहुँमा जाहेरी दर्ता गराएका थिए । जाहेरीमा सुटिङका क्रममा पटक–पटक करणी प्रयास गरेको र विवाहको प्रलोभन देखाई तनहुँमा करणी गरेको उल्लेख गरिएको थियो ।

सर्वोच्च अदालतका यी नजिरअनुसार पीडित व्यक्ति ‘होस्टायल’ भएकै आधारमा मात्र अभियुक्तलाई सफाइ दिन मिल्दैन । तर कतिपय जिल्ला अदालतका पछिल्ला फैसला भने यी नजिरअनुरूप देखिँदैनन् । दबाबमा परेर पीडितले बयान परिवर्तन गरेकै आधारमा अभियुक्तलाई सफाइ दिने र अझ कतिपय अवस्थामा पीडितलाई उल्टै दण्डित गर्ने प्रवृत्ति देखिएको छ । यसले अपराधबाट पीडित बनेका अन्य महिलाले पनि न्याय खोज्न डराउने संस्कार विकास हुने जोखिम बढाएको छ ।

मुलुकी अपराध संहिता कार्यविधि दफा ४४ मा ‘आफूसाक्षी भई नेपाल सरकार, प्रहरी कर्मचारी वा अन्य अधिकारीलाई विश्वास पर्ने किसिमको कुनै कुरा वा सबुद प्रमाण देखाई पोल वा उजुर गरेकामा सोही आधारबाट अनुसन्धान भई अदालतमा मुद्दा चलिसकेपछि त्यस्तो कुरा वा सबुद वा प्रमाण झूटा वा बनावटी भएको कुरा उल्लेख गरी कसैको प्रतिवेदन, उजुरी परेमा वा बयान भएमा वा कुनै साक्षी वा जाहेरवालाको बकपत्र वा अन्य कुनै किसिमबाट देखिएमा अदालतले सोही मिसिलबाट प्रमाण बुझी झूटा कुरा लेखिदिने वा बनावटी व्यहोराको बकपत्र गर्ने साक्षीलाई तीन महिनासम्म कैद वा पाँच हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय गर्न सक्ने’ व्यवस्था छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।