NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १६ गते

चीन : कोरोनाको नयाँ लहरसँगै बेरोजगारको संख्यामा नयाँ रेकर्ड

सांघाई । कोरोना भाइरसको नयाँ लहरका कारण लकडाउन लागू गरिएपछि चीनमा बेरोजगारी चरम उत्कर्षमा पुगेको छ ।

मार्च महिनादेखि चीनमा कोरोना संक्रमण तीव्र गतिमा बढेपछि देशका धेरै सहरमा लकडाउन गर्नुपरेको छ । चीनको वित्तीय, उत्पादन र ढुवानी हब मानिने सांघाईमा पनि लकडाउन लागू छ ।

चीनको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सले जारी गरेको तथ्यांकअनुसार मार्चमा खुद्रा बिक्री दर ३.५ प्रतिशतले घटेको छ । यसले सन् २०२० को जुलाईपछि पहिलोपटक खुद्रा बिक्री दरमा गिरावट आएको हो । यही अवधिमा बेरोजगारी दर बढेर ५.८ प्रतिशत पुगेको छ । यो सन् २०२० को मे यताकै उच्च दर हो ।

यी तथ्यांकहरूले आगामी महिनामा चिनियाँ अर्थतन्त्रमा मन्दी आउन सक्ने संकेत गर्छ । यसको मुख्य कारण युक्रेन युद्धसँगै त्यहाँ लागू गरिएको व्यापक लकडाउनलाई मानिएको छ । तर, यस वर्षको पहिलो तीन महिनामा चीनको अर्थतन्त्रले सोचेभन्दा धेरै प्रगति गरेको छ ।

विश्वमा अमेरिकापछि सबैभन्दा ठूलो अर्थतन्त्र चीनले विश्लेषकहरुले भनेजस्तो खराब स्थितिमा नपुग्ने दाबी गरेका छन् । चीनमा गत वर्षकाे तुलनामा तीन महिनामा जिडिपी ४.८ प्रतिशतले वृद्धि भएकाे छ । तर याे चीनले राखेकाे लक्ष्यभन्दा कम हाे । चीनले ५.५ प्रतिशतका दरले आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको छ ।

काेराेनाकाे अवस्था

यसैबीच, मार्चको अन्त्यतिर चिनियाँ सहर सांघाईमा लकडाउन लागू भएपछि पहिलोपटक तीन जनाको मृत्यु भएको छ । सांघाईको स्वास्थ्य आयोगले सोमबार दिएको जानकारीअनुसार मृतकको उमेर ८९ देखि ९१ वर्षको बीचमा रहेको र उनीहरुले खोप नलगाएको बताएको छ ।

सांघाई अधिकारीहरूले पनि एक विज्ञप्तिमा तीनै जनाको पहिले नै स्वास्थ्यमा समस्या भएको बताएका छन् । काेराेनाबाट सन् २०२० काे मार्चपछि पहिलाेपटक ३ जनाकाे मृत्यु भएकाे चीन सरकारले पुष्टि गरेकाे हाे ।

तीन साताअघि सांघाईमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन फेला परेपछि कडा लकडाउन गरिएको थियो । सरकारले लकडाउनमा कडाई गरेपछि जनता आक्रोशित भएका छन् ।

चीनले शुन्य कोभिड नीतिअनुसार कोरोना संक्रमण भएका व्यक्तिलाई अनिवार्य अस्पताल पठाउनु पर्ने नियम जारी छ । लकडाउनले लाखौं मानिस घरबाट बाहिर निस्किन पाएका छैनन र पोजेटिभ देखिएकालाई जबरजस्ती क्वारेन्टाइनमा पठाउँदा सहरबासी आक्रोशित बनेका हुन् ।

हालैका साताहरुमा धेरै मानिसहरूले प्रतिबन्ध बारे गुनासो गर्दै सामाजिक सञ्जालमा खाद्य वस्तुहरु नपाएको उल्लेख गरेका छन् । खाना, पानी, तरकारी, मासु र अण्डाका लागि सरकारी आपूर्तिमा भर पर्ने अवस्था छ । तीमध्ये अधिकांश स्थानमा सामानको अभाव पनि देखिएको छ ।

हरेक दिन २० हजारभन्दा बढी नयाँ संक्रमितहरु थपिइरहेका छन् । अधिकारीहरुले प्रदर्शनी हल, विद्यालयहरुलाई क्वारेन्टिन केन्द्रमा रुपान्तरण गरेका छन् र कतिपयलाई अस्थायी अस्पताल बनाएका छन् ।

भारतमा दैनिक संक्रमितको संख्या ९० प्रतिशतले बढ्यो