NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

काठमाडौंका गुणस्तरीय सरकारी विद्यालयले समेत स्थानीय विद्यार्थी पाउँदैनन्

काठमाडौं । काठमाडौंका सहरी क्षेत्रका धेरै सामुदायिक विद्यालयमा विद्यार्थी अभाव छ । विद्यार्थीको संख्या धेरै भएका सामुदायिक विद्यालयमा पनि स्थानीय क्षेत्रका विद्यार्थीको उपस्थिति भने नगन्य छ ।

त्रिपुरेश्वरस्थित विश्वनिकेतन माध्यमिक विद्यालयमा आइसिटी, ल्याब, आकर्षक भवनसहितको भौतिक पूर्वाधार मात्रै होइन, शिक्षक सेवा आयोगबाट प्रतिस्पर्धा गरेर आएका सक्षम शिक्षक छन् । नतिजासमेत पनि राम्रो छ । उत्कृष्ट पढाइ भएका कारण विद्यालय विभिन्न पुरस्कार पाउनसमेत सफल भएको छ । तर, यस्तो सामुदायिक विद्यालयमा भन्दा टिनका टहरा भएका निजी विद्यालयमै स्थानीयको आकर्षण छ ।

विश्वनिकेतन माविमा अघिल्लो वर्ष कक्षा १ देखि ९ सम्म नयाँ भर्नाका लागि एक हजारले प्रवेश परीक्षा फर्म भरेका थिए जसमध्ये चार सय ९० नयाँ विद्यार्थीले भर्ना पाएकामा चार सय ६० जना निजी विद्यालय छाडेर आएका थिए । निजी छाडेर आउनेको संख्या ठूलो भए पनि स्थानीयका छोराछोरी भने ‘एकाध’ मात्र आए । त्यस्तै, कक्षा ११ मा चार हजार सात सयले फर्म भरेकामा एक हजार दुई सय ३० जनाले भर्ना पाए । यति धेरै विद्यार्थी आकर्षण भएको विद्यालयलाई त्रिपुरेश्वर क्षेत्रकै स्थानीयले भने विश्वास गरेनन्, आफ्ना छोराछोरी भर्ना गरेनन् ।

प्रधानाध्यापक हेरम्बराज कँडेलले सामुदायिकमा स्तर नमिल्ने भन्ने गलत सोचाइका कारण थोरै स्थानीयले मात्रै बालबालिकालाई भर्नाका लागि ल्याउने गरेको बताए । ‘हाम्रोमा भौतिक र शैक्षिक पूर्वाधार राम्रो छ, नतिजा उत्तिकै राम्रो छ, अंग्रेजी माध्यममा पनि पढाइ हुन्छ,’ प्रधानाध्यापक कँडेलले भने, ‘निजीमा पढाउन नसकेर सामुदायिकमा पढायो भनेर इष्टमित्रले आलोचना गर्छन् भन्ने सोचाइका कारण स्थानीयले छोराछोरी भर्ना गर्दैनन् । यस्तो लघुताभास त्याग्न जरुरी छ ।’ केही विषयमा माथिल्लो तहका कक्षामा स्थानीय पनि पढ्न आएको, तर तल्ला कक्षामा भने १ प्रतिशतको हाराहारीमा मात्र स्थानीय रहेको उनको भनाइ छ ।

काठमाडौंकै पुतलीसडकमा रहेको पद्मोदय माध्यमिक विद्यालय पनि फराकिलो क्षेत्र र आकर्षक भवनले मात्रै होइन, गुणस्तरीय शिक्षाका कारण चर्चित छ । प्रतिस्पर्धाबाट छानिएका शिक्षकले अध्यापन गराउँछन् । तुलनात्मक रूपमा राम्रो विद्यार्थी संख्या भएको सो विद्यालयमा स्थानीयका छोराछोरी ‘एकाध’मात्रै भेटिन्छन् । तल्लो कक्षामा एक–दुईजना देखिने स्थानीयका छोराछोरी माथिल्लो तहमा भेटिँदैनन् । प्रधानाध्यापक नारायण गौतमले सामुदायिक विद्यालयमा पढाउन स्थानीयलक्षित प्रोत्साहन कार्यक्रम सञ्चालनको तयारी गरेको बताए ।

‘अझै पनि स्थानीयले सामुदायिक विद्यालयलाई विश्वास गर्ने वातावरण बनाउन मिहिनेत गर्नुपर्ने देखिन्छ,’ उनले भने, ‘समग्रमा विद्यार्थी संख्या राम्रो भए पनि स्थानीय एकाध मात्रै छन्, स्थानीयले खोजेको वातावरण बनाउनुपर्नेछ ।’ अंग्रेजी माध्यम, प्रोजेक्ट कक्षा, स्थानीयहरूको संख्या बढ्न थालेपछि धेरैले विश्वास गर्ने उनको भनाइ छ ।