NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १५ गते

फ्रान्सेली राष्ट्रपति म्याक्रोंलाई मतदान गर्न पुटिन आलोचक नाभाल्नीको आह्वान

मस्को । जेलमा रहेका रूसी प्रशासन केन्द्र क्रेमलिनका आलोचक एलेक्सी नाभाल्नीले बुधबार फ्रान्सेली मतदाताहरूलाई राष्ट्रपतिको दोस्रो चरणको मतदानमा वर्तमान राष्ट्रपति इम्यानुयल म्याक्रोंलाई समर्थन गर्न आह्वान गरेका छन् ।

उनले फ्रान्सका विपक्षी नेता मेरिन ले पेनको पार्टीको रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग निकटता भएको दाबी पनि गरेका छन् । ‘मैले बिना कुनै संकोच अप्रिल २४ मा इम्मानुयल म्याक्रोँको लागि मतदान गर्न फ्रान्सका जनतालाई आग्रह गर्दछु,’ नाभाल्नीले फ्रान्सेली र अंग्रेजी दुवै भाषामा ट्वीटरमा भने ।

ले पेनको पार्टीले पुटिनको अवैध कमाईलाई वैधता प्रधान गर्ने चेक गणतन्त्रमा रहेको रूसी स्वामित्वको बैंकबाट ९० लाख यूरो ऋण पाएको भन्दै यसबाट आफू ‘दुःखी’ बनेको कुरा नाभाल्नीले बताएका छन् ।

४५ वर्षीय नाभल्नीले भने, ‘यी मानिसहरूसँग वार्ता र तिनीहरूसँगको व्यवहारले ले पेनको दलमा पुटिनको राजनैतिक छहारी पनि समावेश छ भन्ने कुरामा मलाई कुनै शंका छैन ।’ उनले थपे, ‘यो भ्रष्टाचार हो । यसले पुटिनलाई राजनैतिक प्रभाव बेचिरहेको छ ।’

उनले फ्रान्स आफ्नो हृदयको केन्द्रमा रहेको भन्दै धेरै कारणले फ्रान्सेलीहरूलाई सम्बोधन गर्न सक्ने पनि बताएका छन् । फ्रान्सेली कस्मेटिक्स कम्पनी वाइभ्स रोचरलाई संकेत गर्दै उनले भने, ‘एउटा फ्रान्सेली कम्पनीले गरेको अपराधिक उजुरीका कारण म जेलमा छु ।’

सन् २०२० मा सोभियतकालीन डिजाइनका बनाइएको बिषाक्त पदार्थ ‘नर्भ एजेन्ट’ नोभिचोकको आक्रमणपछि निकै गम्भीर स्वास्थ्य अवस्थामा पुगेका नाभाल्नीले आक्रमणमा क्रेमलिनको हात रहेको बताउँदै आएका छन् ।

गत महिना एउटा रूसी अदालतले अदालतको बेइज्जत र अवहेलना गरेको नयाँ अभियोगमा नाभाल्नीलाई नौ वर्षको सजाय सुनाइएको थियो ।