NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

म्याक्राेंकाे जितले फ्रान्सका मुस्लिममा कस्ताे अर्थ राख्छ ?

पेरिस । फ्रान्समा भएको निर्वाचनमा आफ्ना प्रतिद्वन्द्वी मारिन ले पेनलाई पराजित गर्दै इमानुएल म्याक्रों आगामी पाँच वर्षका लागि फ्रान्सको राष्ट्रपतिमा निर्वाचित भएका छन् । तर, यो चुनावमा उनका विपक्षी उम्मेदवारले इतिहासमै सबैभन्दा बढी मत पाएको कुरा पनि ध्यान दिन लायक छ ।

म्याक्रोंले ५८.५५ प्रतिशत मत प्राप्त गरे, ले पेनले ४१.४५ प्रतिशत मत पाइन् । यो भिन्नता अधिकांश विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी हो । मध्यमार्गी नेता मानिने म्याक्रोंले फ्रान्सको प्रख्यात एफिल टावरनजिक आफ्ना समर्थकहरूका अगाडि भाषण दिएका थिए ।

चुनाव पराजयपछि ले पेनले आफ्नो मतको हिस्सा आफ्नो जितको प्रतीक भएको बताइन् । ले पेनले आफ्ना समर्थकहरूलाई आफ्नो प्रसिद्धि उच्च स्तरको रहेको बताएकी छिन् ।

इमानुएल म्याक्रोंले यस अवसरमा विशेष भाषण गरे । उनले भने, ‘मलाई थाहा छ आज मलाई भोट दिने अधिकांश जनता मेरो विचारसँग सहमत छैनन् तर उनीहरूले पनि अति दक्षिणपन्थी पार्टीहरूलाई सत्तामा हेर्न चाहँदैनन् । म उनीहरूलाई धन्यवाद दिन्छु ।’

उनले भने, ‘यसको आक्रोश र मतभिन्नताको जवाफ खोज्नुपर्छ, जसका कारण देशका धेरै जनताले अति दक्षिणपन्थी पार्टीलाई भोट दिए, यसको जिम्मेवारी मेरो र पनि हुनेछ ।’

यस निर्वाचनमा भोट प्रतिशत सन् १९६९ यताकै सबैभन्दा कम अर्थात् ७२ प्रतिशतको हाराहारीमा रहेको छ । यसको अर्थ प्रत्येक तीन जना मतदातामध्ये एकजना मतदाता मतदानबाट टाढा रहे र यसरी मतदान नगर्ने नगरवासीको कुल संख्या ३० लाख रहेको छ ।

म्याक्रों सत्तामा फर्किनु भनेको एउटा इतिहास बनाउनु हो । फ्रान्समा २० वर्षमा पहिलोपटक फ्रान्सेली राष्ट्रपति दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन् । सत्तामा रहँदा उनले धेरै इस्लाम विरोधी भाषण पनि गरे तर पनि प्रतिद्धन्द्धी ले पेन उनीभन्दा एक कदम अगाडि थिइन् ।

चरम दक्षिणपन्थी पार्टी नेसनल फ्रन्टकी नेता मारिन ले पेन फ्रान्सलाई युरोपबाट बाहिर निकाल्न चाहन्छिन् र आप्रवासी एवं मुस्लिमप्रति कट्टर छिन् ।

आफ्नो पार्टीलाई जनतामाझ थप लोकप्रिय बनाउन पार्टीले केही कठोर विचारधारा छाेड्न खोजेको छ । तर ले पेनकाे नारा ‘फ्रान्स फर्स्ट’ हो र यसअन्तर्गत उनी फ्रान्सलाई इस्लामिक कट्टरपन्थी, विश्वव्यापीकरण र युरोपेली संघबाट मुक्त गर्न चाहन्छिन् ।

ले पेन अध्यागमनलाई थप कडा बनाउनुपर्छ भन्ने धारणा राख्छिन् । उनले सन् २०१५ को पेरिस हमला हुनुभन्दा धेरै वर्षअघि अध्यागमन र इस्लामिक चरमपन्थीबारे बोलेकी थिइन् । पेरिस हमलालगत्तै उनले ‘हाम्रो भूमिबाट घृणा फैलाउने यस्ता आप्रवासीलाई देशबाहिर निकाल्नुपर्छ’ भन्ने अभिव्यक्ति दिएकी थिइन् ।

उनले कट्टरपन्थी सोच भएका मुस्लिमहरुको दोहोरो नागरिकता खारेज गर्नुपर्ने पनि बताएकी थिइन् ।

फ्रान्समा पैगम्बर मोहम्मदको विवादास्पद कार्टुनलाई लिएर समय समयमा विवाद हुँदै आएको छ । यतिमात्र होइन, विशेषगरी फ्रान्समा बसोबास गर्ने स्थानीय मुस्लिममाथि पेरिस आक्रमणपछि आक्रामक व्यवहार र अपराध बढेको छ ।

इस्लाममा पैगम्बर मोहम्मदको कार्टुन बनाउनुलाई अपवित्र मानिन्छ , तर फ्रान्स संविधानअनुसार धर्मनिरपेक्ष राष्ट्र हो । यसले अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न खोज्छ । इमानुएल म्याक्रों राष्ट्रपति हुँदा सन् २०२० मा नै फ्रान्समा पैगम्बर मोहम्मदको आपत्तिजनक कार्टुनको विरोधमा हिंसा भएपछि फ्रान्समा कथित इस्लामिक चरमपन्थीविरुद्ध अपनाएको दृष्टिकोणको विश्वभर धेरैले प्रशंसा गरेका थिए भने इस्लामिक देशहरु आक्रोशित भएका थिए ।

सन् २०२० को अक्टुबरमा एक कक्षामा पैगम्बर मोहम्मदको कार्टुन देखाएको कारण शिक्षक स्यामुएल पेटीको हत्या भएको थियो । घटनाको निन्दा गर्दै इमानुएल म्याक्रोंले इस्लाम संसारभर ‘संकटको धर्म’ बनेको बताएका थिए ।

शिक्षक पेटीको हत्या पछि राष्ट्रपति म्याक्रोंले भनेक थिए ‘इस्लामवादीहरूले हाम्रो भविष्य कब्जा गर्न चाहेकोले शिक्षकको हत्या गरेका हुन् तर फ्रान्सले आफ्नो कार्टुन छोड्ने छैन ।’

उनले मुस्लिम चरमपन्थी संगठनहरू विरुद्ध कारबाही गर्ने घोषणा गरे । यसका साथै उनको सरकारले धर्म र राष्ट्र छुट्याउने सन् १९०५ को कानुनलाई मजबुत बनाउने पनि बताएको छ । त्यतिबेला म्याक्रोंले देशको धर्मनिरपेक्ष मूल्यमान्यताको रक्षा गर्ने वाचा गरेका थिए ।

सन् २०२० को नोभेम्बरमा म्याक्रोंले फ्रान्सेली मुस्लिम नेतासँगको वार्तामा उनीहरूलाई ‘लोकतान्त्रिक मूल्यहरूको चार्टरमा सहमत हुन आग्रह गरे । फ्रान्समा चरमपन्थी इस्लामविरुद्ध सरकारी नियामको एउटा भाग थियो । यस सन्दर्भमा राष्ट्रपति म्याक्रोंको भनाइपछि फ्रान्सेली उत्पादनहरू बहिष्कार गर्ने अभियानले धेरै मुस्लिम देशहरूमा विशेष गरी मध्यपूर्वमा गति लिएको थियो ।

फ्रान्समा मुस्लिमविरुद्ध घृणा र अपराध अब कम हुन्छ वा अझ बढ्दै जान्छ भन्न सकिँदैन । किनकी त्यहाँ अहिले अति दक्षिणपन्थी पार्टीले आफ्नो इतिहासमा सबैभन्दा धेरै भोट जित्न सफल भएकोले यसले आफ्नो शक्ति पुनः प्राप्त गर्छ कि भनेर हेर्न बाँकी छ । फ्रान्स युरोपमा सबैभन्दा धेरै मुस्लिम जनसंख्या भएको एक मात्र देश हो ।