NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८० चैत १५ गते

ग्यास्ट्रिक के हो ? यसबाट लाग्ने रोग कस्तो हुन्छ ? कसरी बच्ने जानौँ केही कुरा

काठमाडौं । ग्यास्ट्रिक शब्द नौलो भने होइन । यसको समस्या हरकोहीलाई हुन्छ । अहिलेको अवस्थामा हरेक घरमा एक न एक ग्यास्ट्रिकका बिरामी हुन्छन् । खानामा ख्याल नगर्दा ग्यास्ट्रिकले सताउँछ । ग्यास्ट्रिकबाट छुट्टकारा पाउनु छ भने हामीले आफ्नो जीवनशैलीमा परिवर्तन ल्याउन जरुरी हुन्छ ।

अहिलेको अवस्थामा हर कोहीले ग्यास्ट्रिकको सामना गर्नुपरेको छ यसका साथै यस रोगबाट छुटकाराको कामना गर्ने पनि कम छैनन् । खासमा हरेक व्यक्तिले सामना गर्नुपरेको ग्यास्ट्रिक के हो त ? यसबाट कसरी बच्ने ? भन्ने प्रश्न आम नै भइसकेको छ । वास्तवमा ग्यास्ट्रिक भनेको पेटसम्बन्धि समस्या हो । हाइड्रोक्लोरिक एसिडले खाना पचाउँछ । तर जब हाम्रो अमाशयमा चाहिने भन्दा बढी हाइड्रोक्लोरिक एसिड जम्मा हुन्छ त्यो अवस्थामा ग्यास्ट्रिक हुन्छ ।

ग्यास्ट्रिक हुनुको मुख्य कारण हेलिकोब्याक्टर पाइलोरी नामक किरा हो । समयमा खाना नखानाले तथा चिल्लो पिरोको मात्रा बढी हुनाले ग्यास्ट्रिक हुने गर्दछ । यसको लक्षण सामान्यतया वाकवाकी लाग्ने, पेट दुख्ने, खाना रुची नहुने, मुखमा अमिलो पानी आउने, छाती पोल्ने, अमिलो डकार आउने तथा कब्जियत जस्ता समस्या आउने गर्छ ।

ग्यास्ट्रिकले गर्दा विभिन्न रोगसमेत लाग्न सक्छ । ग्यास्ट्रिक बढेमा वा बिग्रिएमा कब्जियत, पायल्स, पेटको अल्सर, तथा क्यान्सर जस्ता रोग देखा पर्ने गर्छन । यो एक जटिल रोग हो जसलाई खानपानमा व्यवस्थापन गरेर मात्र कम गर्न सकिन्छ ।

ग्यास्ट्रिक हुने सामान्य कारण निम्न छन :
१) दैनिक खाना समयमा नखानाले ।
२) चिया÷कफी बढी मात्रामा पिउनाले ।
३) पानी कम पिउनाले ।
४) चिल्लो तथा पिरो खानाले ।
५) तेलयुक्त खाना खानाले ।

यसबाट बच्न हामीले दैनिक रुपमा कार्बोहाइड्रेट, प्रोटिन, फ्याट, भिटामिन,मिनरल्स आदि पोषणयुक्त कुरा खानुपर्छ । त्यस्तै समयमै खाना खाने, अमिलो, पिरो चिल्लो आदि मसलादार खानामा कमी गर्नाले ग्यास्ट्रिक धैरै मात्रामा कम गर्न सकिन्छ ।

यो एक घातक रोग भएकोले यसको उपचार गर्न जरुरी छ । ग्यास्ट्रिकको अवस्था हेरी उपचार गरिन्छ । ग्यास्ट्रिक कम गर्न हामीले प्यान्टोप्राजोल, ओमेप्राजोल, रानिटेरिन जस्ता औषधि खानसकिन्छ । यसको अचुक ओखती भनेकै पहिला आफ्नो खानपानको जीवनशैली परिवर्तन गर्नुपर्ने हुन्छ ।