NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

शिक्षकको परीक्षामा ८८ प्रतिशत फेल

काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहका लागि सञ्चालन गरेको खुला पदपूर्तिको सामान्य परीक्षामा १२ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् । परीक्षामा ३२ हजार ९७ जना सहभागी भएकामा ३ हजार ८ सय ८६ जनाले मात्रै सय पूर्णांकमा ५० अंक ल्याएका हुन् । सामान्य परीक्षामा उत्तीर्णले मात्र दोस्रो चरणको विषयगत परीक्षामा सहभागी हुन पाउने व्यवस्था छ ।

आयोगले मावि तृतीय श्रेणीका १ हजार ५ सय ५२ शिक्षक नियुक्तिका लागि गत चैत १५ मा सञ्चालन गरेको परीक्षाको नतिजा सोमबार सार्वजनिक गरेको हो ।

पहिलो चरणको परीक्षामै ८८ प्रतिशत परीक्षार्थी अनुत्तीर्ण हुनाले केही विषयमा तत्काल शिक्षक पदपू्रर्ति हुन नसक्ने भएको छ ।

‘संस्कृत, स्वास्थ्य शिक्षालगायतका केही विषयमा एक जना पनि सफल भएका छैनन्,’ आयोगका प्रवक्ता सुदर्शन मरहट्ठाले भने ।

आयोगले गत वर्ष सञ्चालन गरेको शिक्षक लाइसेन्सको परीक्षामा साढे ७ प्रतिशत मात्रै सफल भएका थिए । गत वषृ र पहिले लाइसेन्स पिरीक्षा पास गरेका परीक्षार्थी नै स्थायी पदपूर्तिको परीक्षामा सहभागी भएका हुन् । स्थायी नियुक्तिका लागि प्रतिस्पर्धा गर्नेहरूमध्ये कतिपयले अस्थायी, राहत र करारमा नियुक्ति लिएर विद्यालयमा अध्यापन गराइराखेका छन् । सामान्य परीषामा उत्तीर्ण हुनेहरूले सय पूर्णांकको विषयगत परीक्षा असार ९ मा दिनेछन् । विषयगत परीक्षामा ४० अंक ल्याउने उत्तीर्ण हुन्छन् ।

त्रिभुवन विश्वविद्यालयका रेक्टर शिवलाल भुसालले विश्वविद्यालयले उत्पादन गर्ने जनशक्ति र आयोगले लिने परीक्षाको तालमेल नमिल्दा कममात्रै उत्तीर्ण हुने गरेको बताएका छन् । आजको कान्तिपुर दैनिकमा खबर छ ।