NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख १७ गते

अमेरिका : गर्भपतनको अधिकार प्रतिबन्ध लगाउन सक्ने चुहावट मस्यौदा वास्तविक

वासिङ्टन । अमेरिकामा गर्भपतनसम्बन्धी चुहिएको एउटा मस्यौदा वास्तविक भएको सर्वोच्च अदालतका प्रधानन्यायाधीशले पुष्टि गरेका छन् । तर प्रधानन्यायाधीश जोन रोबर्टस्ले उक्त मस्यौदाले अदालतको अन्तिम निर्णयको प्रतिनिधित्व नगर्ने बताएका छन् ।

साे मस्याैदाअनुसार लाखौं अमेरिकी महिलाले गर्भपतन गर्न पाउने कानुनी अधिकार गुमाउन सक्ने देखिएकाे छ ।

यस चुहावटले अमेरिकामा गर्भपतनलाई वैधानिकता दिने सन् १९७३ को निर्णयलाई उल्टाउन सक्ने र राज्यले गर्भपतनमा प्रतिबन्ध लगाउन अनुमति दिन सक्ने मार्गहरु खुल्ने देखिएको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले यदि उक्त निर्णय अघि बढे त्यसले स्वतन्त्रतासम्बन्धी थुप्रै प्रश्नहरू उठाउने बताएका छन् । उनले अमेरिकी मतदातालाई गर्भपतन अधिकारको रक्षाका लागि आवाज बुलन्द बनाउन पनि आग्रह गरेका छन् ।

चुहावट भएको कागजातलाई पहिलो मस्यौदा भनिएको छ । उक्त मस्यौदामा अदालतको बहुमतको राय प्रतिबिम्बित भएको देखिएको छ । पोलिटिकोमा छापिएको ९८ पानाको दस्ताबेजमा न्यायाधीश स्यामुअल अलिटोले सन् १९७३ को गर्भपतन अधिकार स्थापित गर्ने निर्णय ‘अत्यन्त गलत’ भएको लेखेको भन्ने समाचारहरू सार्वजनिक भएका हुन् ।

मस्यौदा अन्तिम निर्णय होइन, यसका विचारहरु परिवर्तन हुन सक्छ तर यदि रो वी वेडलाई उल्टाइयो भने झन्डै आधा अमेरिकी राज्यहरुले गर्भपतनमा प्रतिबन्ध लगाउन सक्छन् । मस्याैदा पहिलाेपटक पाेलिटिकाेमा प्रकाशित भएकाे थियाे ।

एउटा विज्ञप्तिमा प्रधानन्यायाधीश रोबर्टस्‌ले मस्यौदा चुहावटको विषयलाई गम्भीर उल्लघंन भन्दै त्यसबारे छानबिन गर्न सर्वोच्च अदालतको मार्शललाई भनेका छन् ।

अमेरिकामा प्रजनन स्वास्थ्यसम्बन्धी सेवा दिने संस्था प्लान्ड प्यारेन्टहुडले भने सुरक्षित र वैधानिक गर्भपतन अधिकारको रक्षाका लागि लडाइँ जारी राख्ने बताएको छ । उसले यदि उक्त मुद्दाको फैसला उल्टिए त्यसबाट ३ करोड ६० लाख महिलाहरूले गर्भपतनको अधिकार गुमाउने छन् । साथै राष्ट्रपति बाइडेनले गर्भपतनसम्बन्धी कानुन उल्टिएमा यसले दुरगामी प्रभाव पार्ने चेतावनी दिएका छन् ।

‘हामी ५० वर्षपछि जाँदैछौं, महिलालाई गर्भ छनोटको अधिकार छैन भन्ने निर्णयमा जान लागेकोमा मलाई ठूलो चिन्ता छ’ उनले भने ।

गर्भपतनसम्बन्धी अधिकारको रक्षा गर्नुपर्ने बाइडेनको भनाइ