NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख ४ गते

स्थानीय तह चुनावको ‘इपिसेन्टर’ भरतपुरमा बास बस्ने गरी किन गए देउवा ?

काठमाडौं । स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरूले चुनावी प्रचारलाई तीव्रता दिएका छन् । यसै क्रममा सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल कांग्रेसले प्रदेश १ को विराटनगरमा बुधबार चुनावी सभा गरेको छ । सभामा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, विश्वप्रकाश शर्मा, डा. शेखर कोइरालासहितका नेता सहभागी भएर चुनावी सभालाई सम्बोधन गरेका छन् ।

सत्ता गठबन्धनले सातवटै प्रदेशमा गर्ने भनिएका ठूला सभा स्थगित भएपछि कांग्रेससहितका दलले आ–आफ्नो हिसाबमा चुनावी सभा गर्न लागेका हुन् । यस्ता सभामा ठाउँ अनुसार गठबन्धन दल पनि सहभागी हुँदैछन् ।

विराटनगरको सभा सकेर देउवा बुधबार नै चितवन पुगेर बिहीबारकाे सभामा सहभागी हुनेछन् । चितवनमा सत्ता गठबन्धनका कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले संयुक्त गर्न लागेका हुन् । तर यसपटक ७५३ स्थानीय तहमा एकैपटक चुनाव हुँदै गर्दा ‘इपिसेन्टर’ भने भरतपुर नै बन्न पुगेको छ ।

किनकी भरतपुरको चुनावी नतिजाले सत्ता गठबन्धनका भविष्य, आगामी प्रदेश सभा र संघीय निर्वाचनको समेत चुनावी तालमेललाई असर गर्ने देखिन्छ । यसैले ७५३ मध्ये धेरैको आँखा भरतपुरमा नै छ । भरतपुरमा २०७४ मा जस्तै फेरि माओवादी केन्द्रले मेयरको टिकट पाएको छ । मैदानमा उनी रेनु दाहाल उत्रिएकी छिन् । जो माओवादी अध्यक्ष प्रचण्डकी छोरीसमेत हुन् ।

उतारचढावपूर्ण २०७४ को चुनावबाट रेनु २०३ मतको झिनो अन्तरले विजयी भएकी थिइन् । सत्ता गठबन्धनमा अझै भरोसा र विश्वास दिलाउन यसपटक भरतपुर फेरि पनि माओवादीले पाएको हो । कांग्रेसको बलियो पकड भएको भरतपुरमा पार्टीभित्रको असन्तुष्टिकोबीच पनि माओवादीलाई मेयरको टिकट दिइएको हो । तर उपमेयरसहित २९ मध्ये दुई तिहाइ वडाअध्यक्ष कांग्रेसले पाएकाे छ ।

यसको पछाडिको एउटा कारण देउवाले यो सत्ता गठबन्धनलाई आगामी निर्वाचनसम्मै लिएर जान खोज्नु हो । किनकी अघिल्लो प्रदेश र संघीय संसदको निर्वाचनमा एमाले–माओवादी मिल्दा कांग्रेसले देशैभर शर्मनाक हार बेहोरेको थियो । प्रभावशाली नेता नै प्रभाव रहकै क्षेत्रमा नमिठाे पराजय बेहाेर्न बाध्य भएका थिए । फेरि माओवादी र एकीकृत नेकपा समाजवादीसहितका दल आफ्नो कित्ताबाट बिच्किएर एमालेसँग मिसिने डर कांग्रेसलाई देखिएको छ । यसैले भरतपुरमा मेयर जिताउने प्राथमिकता माओवादीलाई जति छ, त्योभन्दा बढी प्राथमिकता कांग्रेसले दिएको देखिनछ ।

यसैले व्यस्तताकाबीच पनि देउवा आफैं भरतपुर पुगेका हुन् । भरतपुर पुगेर उनले पार्टीप्रति इमान्दार नेता कार्यकर्तालाई भरोसा दिलाउने प्रयास गर्ने बुझिएको छ । लगातार माओवादीलाई मेयरमा जिताउनुपर्ने एउटा बाध्यात्मक परिस्थिति देखिए पनि माओवादीले पनि कांग्रेसको चिन्हमा भोट हालेर उपमेयर र वडा अध्यक्ष जिताउने भन्दै आश्वासन दिने मनस्थितिमा देउवा छन् ।

देउवाले विराटगरमा चुनावी सभालाई सम्बोधन गर्दै चित्त बुझे पनि नबुझे पनि सत्ता गठबनधनका उम्मेदवारलाई भोट दिन अपिल गरेका थिए । यो गठबन्धनलाई स्थानीय तहमात्रै होइन आगामी दुवै तहका निर्वाचनसम्मै लिएर जाने र देशमा विकास, समृद्धि ल्याउने उनको घोषणा थियो । देउवाले विराटनगरको मेयरमा कांग्रेसका नागेश र उपमेयरमा जसपाका अमरेन्द्रलाई जिताउन पनि आग्रह गरे ।

रेनुलाई जिताउन देउवाको अग्रसरता

भरतपुरमा कांग्रेसभित्रको असन्तुष्टि बढ्दा बागी उम्मेदवारीसम्म पर्न पुग्यो । पुराना नेता जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दिएपछि सत्ता गठबन्धनमा खैलाबैला नै मच्चिएको थियो । यस अघि जस्तै यो पटक अन्तिममा भए पनि उम्मेदवारी फिर्ता लिन्छन् भन्ने अपेक्षा थियो । तर वरिष्ठ कानुन व्यवसायी रहेका पौडेलले कांग्रेसका शीर्ष नेताका सबै प्रयत्नलाई खेर फालिदिए । समयावधिभित्र उनले उम्मेदवारी फिर्ता लिएनन् ।

फिर्ताका लागि प्रधानमन्त्रीले गृहमन्त्री बालकृष्ण खाँण, राज्यमन्त्री उमेश श्रेष्ठसहितका नेतालाई भरतपुर पठाए पनि उम्मेदवारी फिर्ता गराउन सकेनन् । देउवा आफैंले फोन गरेर उम्मेदवारी फिर्ता लाग आग्रह गरेको दाबी पौडेलको छ । नेता रामचन्द्र पौडेलले पनि गठबन्धन भत्किने भयो भन्दै फोन गरेको पौडेलले संचारमाध्यमलाई बताउँदै आएका छन् । पौडेललाई राजदूत बनाउनेसहितका आश्वासन दिइए पनि उनले उम्मेदवारी फिर्ता लिएनन् । बरु पुराना नेताहरू पौडेलसहितले कारवाही भोगे तर उम्मेदवारी फिर्ता भएन ।

यसपछि झन् सत्ता गठबन्धनले भरतपुरलाई प्राथमिकतामा राखेको हो । यसै क्रममा प्रधानमन्त्री देउवा केही नेताको साथ बुधबार साँझ भरतपुर पुग्न लागेका हुन् । उनको आजको बास चितवनमै हुने बालुवाटार स्रोतको भनाई छ । भरतपुर पुगेपछि देउवाले पार्टीका नेताहरूलाई भेटघाट पनि गर्नेछन् । कांग्रेसबाटै स्वतन्त्र उम्मेदवारी दिएका पाैडेलसँग देउवाकाे भेटकाे भने टुंगाे लागेकाे छैन । यद्यपी अझै पनि पौडेलको उम्मेदवारी फिर्ता गराएर सत्ता गठबन्धनको पक्षमा माहोल बनाउने तयारी सत्ता गठबन्धनको छ ।

भोलि भरतपुरमा हुने चुनावी सभालाई देउवासहित माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका नेता भरतपुर जाँदैछन् ।

‘प्रधानमन्त्री एवं कांग्रेस सभापति बुधबार साँझ चितवन आउँदै हुनुहुन्छ । उहाँले नेता कार्यकर्तासँग भेट गर्ने कार्यक्रम छ’ कांग्रेस केन्द्रीय सदस्य एवं पूर्व चितवन जिल्ला सभापति टेकप्रसाद गुरुङले नेपालवाचसँग भने, ‘भोलि हुने चुनावी सभामा सत्ता गठबन्धनका शीर्ष नेताले नै सम्बोधन गर्ने कार्यक्रम छ ।’

सत्ता गठबन्धनको संयुक्त कार्यक्रमा देउवा, नेता रामचन्द्र पौडेलसहितका नेता कांग्रेसबाट सहभागी हुँदैछन् । कार्यक्रममा सहभागी हुनेमा महामन्त्री गगन थापादेखि डा. शेखर कोइरालासम्मको नाम राखिएको छ । तर शेखरको सचिवालयले अहिलेसम्म कार्यक्रमबारे कुनै जानकारी नभएको बतायो । गगन थापाको सचिवालयका अनुसार पनि गगनको चितवन जाने कार्यक्रम छैन । बरु २४ वैशाखमा थापा कपिलवस्तु पुग्दैछन् । तर चितवन सभापतिले गगन पनि भरतपुरको चुनावी सभामा सहभागी हुने जानकारी जिल्लामा गराएका छन् ।

स्थानीय तहको निर्वाचनमा भरतपुरमा रेनु हारे प्रचण्डका लागिसमेत आगामी चुनाव भरतपुरमा सकसपूर्ण हुनेछ । यसैले अहिले रेनुलाई चुनाव जिताएर प्रचण्डलाई पनि सुरक्षित गर्ने र गठबन्धनलाई पनि आगामी निर्वाचनसम्मै लाने दाउ देउवाले हेरेका हुन् ।

भरतपुरको मेयरमा एमालेबाट विजय सुवेदी चुनावी मैदानमा छन् । गत निर्वाचनमा पनि कडा प्रतिस्पर्धा गरेको एमाले यसपटक राप्रपासँग मिलेर चुनावी मैदानमा उत्रिएको हो ।

जगन्नाथले १५ हजार भोट ल्याउने आकलन

गत स्थानीय तहको निर्वाचनमा मेयरमा कांग्रेसले उम्मेदवारी दिएका दिनेश कोइरालाको उम्मेदवारी फिर्ता लिएको थियो । तर कांग्रेसको पक्षमा झण्डै आठ हजार भोट खसेको थियो । यसपटक पार्टीले सबै प्रयत्न गरे पनि पौडेलले उम्मेदवारी फिर्ता लिएनन् । उनको उम्मेदवारी फिर्ता नभए पनि उनले बढीमा १५ हजारसम्म भोट काट्न सक्ने चितवनका अर्का एक नेता बताउँछन् ।

‘स्वतन्त्र उम्मेदवारी दिएका पौडेलले कांग्रेसको केही भोट काट्न सक्छन् । यस्तो भोट बढीमा १५ हजारसम्म हुन सक्छ’ ती नेता भन्छन्, ‘प्रधानमन्त्रीसहित गठबन्धनका नेता नै चितवनको चुनावी सभामा सहभागी हुने र भेटघाट गर्ने भएपछि गठबन्धनको पक्षमा झन् माहोल बन्छ ।’ यस्तो माहोलले स्वतन्त्रको उम्मेदवारको पक्षमा धेरै भोट नखस्ने ती नेता बताउँछन् ।

‘अहिले उम्मेदवार बन्नुभएका नेता, प्रस्ताव र समर्थक नेताले राजनीति गर्ने सक्रिय उमेर पनि पार गर्दै हुनुहुन्छ । यसैले सुरुदेखि अन्तिमसम्म पनि अडा राखिरहनु भएको छ’ ती नेता भन्छन्, ‘तर भोलिको सुरक्षित राजनीतिको लागिसमेत पार्टीको निर्णयका विरुद्धमा जाँदा गाह्रो हुने बुझाइ धेरैको छ ।’

उपमेयरमा अघिल्लोपटक कांग्रेसकी उम्मेदवारी पार्वती शाहले ४७ हजर बढी मत ल्याएकोले यसपटक मेयरमा कांग्रेसको मत ५० हजार बढी हुने र यसमा ३५ हजार हाराहारी रेनुको पक्षमा खस्ने हिसाब चितवनका कांग्रेस नेताहरूले निकालेका छन् ।

कांग्रेसको पहिलो चुनावी सभा विराटनगरमा, को–को पुग्दैछन् नेता ?

भरतपुरमा कांग्रेसबाट बागी उम्मेदवारी पर्दा माओवादीकी रेनुलाई फाइदा, एमालेलाई बेफाइदा !

को हुन् ६ महानगरका उपमेयरमा भिड्न लागेका प्रमुख दलका १२ उम्मेदवार ?