NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

यी हुन् स्थानीय तह निर्वाचनका १४ मुख्य सुरक्षा चुनौती

काठमाडौं । स्थानीय निर्वाचनका लागि गृह मन्त्रालयले १४ वटा मुख्य सुरक्षा चुनौती तय गरेको छ । ती चुनौतीलाई केन्द्रमा राखेर सुरक्षा निकायलाई परिचालन गर्न आइतबार देशैभर परिपत्र भएको छ ।

केन्द्रीय सुरक्षा समिति बैठकले नै १४ वटा मुख्य सुरक्षा चुनौती तय गरेको हो । निर्वाचनविरोधी गतिविधि एवं उच्छृंखल क्रियाकलापलाई मुख्य चुनौतीमा राखिएको छ ।

दोस्रो चुनौतीका रूपमा हिंसात्मक तथा आपराधिक गतिविधिलाई राखिएको छ । हतियार तथा विस्फोटक पदार्थको समेत प्रयोग गरी यस्ता गतिविधि हुन सक्ने भएकाले त्यसको नियन्त्रणलाई प्राथमिकतामा राख्न भनिएको छ । तेस्रोमा प्रोपोगान्डा तथा दुष्प्रचार र होक्स बम तथा होक्स कललाई राखिएको छ । अन्यमा निर्वाचनविरोधी समूहको गतिविधि, भौगोलिक विकटता, सुरक्षा निकायमा स्रोत–साधनको अभाव, बुथ कब्जा तथा मतपेटिका लुटपाटको जोखिमलगायतका विषय राखिएका छन् ।

जनमत पार्टी, नेपाल कम्युनिस्ट पार्टीजस्ता समूहभित्र केही व्यक्ति निर्वाचनविरोधी गतिविधिमा राखिएकाले त्यसलाई पनि मुख्य चुनौतीमा राखिएको छ ।

सुरक्षा संवेदनशीलताको आधारमा मतदानस्थललाई तीन भागमा वर्गीकरण गरेर सुरक्षा रणनीति बनाइएको छ । देशभर १० हजार सात सय ५६ मतदानस्थल छन् । त्यसमध्ये दुई हजार नौ सय ४६ लाई अति संवेदनशील, चार हजार चार सय २३ संवेदनशील र तीन हजार तीन सय ८७ सामान्य सूचीमा छन् । जनशक्ति अभावका कारण सबै प्रकारका मतदानस्थलमा जुनियर अफिसरको नेतृत्वमा तीन प्रहरी खटिने भएका छन् । मतदान केन्द्रको संख्याका आधारमा म्यादी प्रहरीको संख्या पनि थप हुने भएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।