कांग्रेससँग माओवादी–एकीकृत समाजवादी सशंकित

काठमाडौँ । सत्ता गठबन्धनले विभिन्न पालिकामा तालमेल गर्दै साझा उम्मेदवारी दिए पनि कांग्रेसको पूरै मत आफ्ना उम्मेदवारलाई आउनेमा सहयात्री दल माओवादी र एकीकृत समाजवादी ढुक्क देखिएका छैनन् । प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनपछि गठबन्धन टुट्ने दाबी गरिरहेकाले पनि सत्तारूढ दलहरू आपसमा सशंकित देखिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सोमबार कैलालीको कैलारी गाउँपालिकामा आयोजित चुनावी सभामा स्थानीय प्रसंग उठाएर कांग्रेसका तर्फबाट अपेक्षाकृत सहयोग नभएको संकेत गरेका छन् । ‘गठबन्धन अझै प्रस्ट भएको देखिनँ । यहाँ (कैलारी गाउँपालिका) का हाम्रो पार्टीका उम्मेदवारलाई जुनसुकै रूपमा भए पनि जिताउन अपिल गर्न चाहन्छु,’ दाहालले भनेका छन्, ‘यहाँ कांग्रेसको कसैले उम्मेदवारी दिएको छ, यो खारेज नहुने हो भने हामी एक्लै चुनाव लड्नुपर्छ । हाम्राविरुद्ध कुनै खालका धोका, बेइमानी र षड्यन्त्र स्वीकार्य छैन ।’ गठबन्धनबीच भागबन्डा हुँदा उक्त गाउँपालिका अध्यक्ष माओवादी र उपाध्यक्ष कांग्रेसको भागमा परेको थियो । सहमतिविपरीत कांग्रेसबाट अध्यक्षमा उम्मेदवारी परेपछि माओवादीले उपाध्यक्षमा पनि उम्मेदवारी दिएको छ ।
संविधान र लोकतन्त्रको रक्षा तथा मुलुकमा विकास र सुशासनका लागि पाँच दलीय गठबन्धन बनेको नेताहरूले दाबी गर्दै आएका छन् । तर स्थानीय निर्वाचनमा देशभर तालमेल गर्ने उनीहरूको प्रयास सफल भएन । तालमेल गरिएका कतिपय पालिकामा पनि माओवादी, एकीकृत समाजवादी र जसपाको भागमा परेको सिटमा कांग्रेसबाटै बागी उम्मेदवारी परेको छ । यसले सहयात्री दलका नेता असन्तुष्ट छन् । खास गरी कांग्रेसको संस्थापन पक्षले तालमेलको भावनाअनुसार आपसी सहयोगका लागि कोसिस गरे पनि शेखर कोइराला पक्षले असहयोग रहेको गठबन्धनका अन्य दलका शीर्ष नेताहरूको बुझाइ छ । ‘कांग्रेसमा संस्थापनको कुरा मानेर हिँड्ने र नमान्ने पनि हुन्छ । यो पुरानै चरित्र हो,’ माओवादी नेता गणेश साहले भने, ‘अहिले म मधेस प्रदेशमा छु । यहाँ शेखरजीहरूको विरोध त छैन तर असहयोग देखिन्छ । त्यसले केही ठाउँमा भोटको मात्रा कम होला तर समग्रमा कांग्रेसकै मत तल झार्दिन सक्छ ।’
कांग्रेसका स्थानीय नेता–कार्यकर्ताले तालमेलको मर्मविपरीत बागी उम्मेदवारी दिएर अन्य दलका उम्मेदवारलाई सहयोग गरिरहेको पनि गठबन्धन दलका नेताहरूको गुनासो छ । पाँच दलीय गठबन्धनको आइतबार पोखरामा आयोजित चुनावी सभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कांग्रेसको भूमिकामाथि प्रश्न उठाए । ओलीले प्रधानमन्त्री पद गुमाएको उदाहरण दिँदै उनले दम्भ राख्ने दल र नेताको भविष्य नहुने भएकाले कांग्रेसलाई इमानदारी देखाउन आग्रह गरेका थिए । ‘धेरै दम्भी हुँदा ओलीले प्रधानमन्त्री गुमाए । हामीले पनि दम्भ पाले त्यस्तै नियति भोग्नुपर्ने हुन्छ,’ नेपालको भनाइ थियो, ‘कहिलेकाहीं कांग्रेसमा दम्भ देखिन्छ । दम्भ पाले केपीकै हालत हुन्छ । ठूलो सानो नभनौं र सबैको अस्तित्व स्विकारौं ।’ सभामा माओवादी अध्यक्ष दाहालले ओलीको अभिव्यक्ति र कांग्रेसको असन्तुष्ट समूहतर्फ लक्ष्य गर्दै भनेका थिए, ‘गठबन्धन टुटाउने प्रयास र षड्यन्त्र चलिरहेको छ ।’ आजको कान्तिपुर दैनिकमा खबर छ ।
ताजा अपडेट
-
बैंकको ३४ करोड ठगी प्रेमिका लिएर भाग्न खोज्ने अधिकृतलाई आठ वर्ष कैद
-
पेट्रोल र डिजेलको मूल्य घट्यो
-
बुढानिलकण्ठका इन्जिनियर ८० हजार घुससहित रंगेहात पक्राउ
-
कोप २८ : सम्बोधन होला त नेपालजस्ता देशको माग ?
-
पार्टी पदाधिकारीमा महिलाको सङ्ख्याबारे महासमितिमा कुरा उठाउँछौं : नेत्री राणा
प्रतिक्रिया