सुक्खा मौसमसँगै चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या

सर्लाही । सुक्खा मौसम सुरु भएसँगै सर्लाहीको चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या भएको छ । जिल्लाको उत्तरी चुरे क्षेत्रका बस्तीमा सुक्खा मौसम सुरु भएसँगै विगतका वर्षमा झै यसवर्ष पनि खानेपानीको समस्या भएको हो ।
उत्तरी चुरे क्षेत्रमा खानेपानीका स्रोत सुक्न थालेका छन् । बस्तीमा खानेपानी अभाव भएको ईश्वरपुर नगरपालिका–१२ का रामबाबु थिङले बताए । ‘धारामा पानी आउन छाडेको धेरै भयो, कुवा सुक्न थालेपछि खानेपानीको समस्या भएको छ’, उनले भने ।
ईश्वरपुर नगरपालिका–१२ को घारी बथान, गुइडुङ, शिर फुलजोर, शिर कालीन्जोर, लालबन्दी नगरपालिका–१५ को धुसेनी, देउराली, तिनघरे, लालबन्दी नगरपालिका– १२, १३ र १४ का अधिकांश बस्ती तथा हरिवन नगरपालिका–१ को चुरे क्षेत्रका बस्तीमा खानेपानीको समस्या देखिएको छ ।
सुक्खा मौसम सुरु भएसँगै खानेपानीको समस्या देखिएको ईश्वरपुर नगरपालिका–१२ की जानुकी माया विकले बताइन् ।
चुरे क्षेत्रका बस्तीमा फागुनबाटै खानेपानीको समस्या हुने गर्छ । बढ्दो वन विनाश र उत्खनन्का कारण पछिल्ला वर्षमा खानेपानीका स्रोत सुक्न थालेका प्राविधिकले बताएका छन् । स्थानीय सरकारले यस्ता कार्य रोक्न कुनै पहल नगरेको स्थानीय तेज तामाङले बताए ।
लालबन्दी नगरपालिका–१४, नारायणखोलाका जितबहादुर राना निर्वाचनका बेला यसो गर्दिन्छु उसो गर्दिन्छु भन्नेहरु त्यसपछि फर्किएर नआएको गुनासो गरे। फागुनदेखि जेठसम्म चुरेक्षेत्रका बस्तीमा खानेपानीको जोहो गर्न निकै अप्ठ्यारो हुने गरेको छ ।
प्रतिक्रिया